हिम पहिरोमा बेपत्ता बझाङ र दार्चुलामा दुईजनाको शव फेला, एकको अवस्था अझै अज्ञात
कैलाली । हिम पहिरोमा बेपत्ता भएकामध्ये बझाङ र दार्चुलामा २ जनाको शव फेला परेको छ ।
बझाङको सुर्मा गाउँपालिका-१ देवडी घर भएकी ३३ वर्षीया झल्नादेवी बोहराको र दार्चुलामा बेपत्ता भएकी डोटी जोरायल गाउँपालिका-२ बुडरकी २८ वर्षीया ईश्वरी थापाको शव फेला परेको हो ।
यार्सागुम्बा संकलनको लागि पार्थिहिमाल गएको अवस्थामा वैशाख १९ गते हिम पहिरोमा परेर बेपत्ता भएकी बोहराको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए ।
दार्चुलामा फेला परेको शव मंगलबार देखी बेपत्ता महिलाको हो । त्यस दिन हिम पहिलोमा बेपत्ता भएका पाँच जना मध्ये चार जनाको शव फेला परि सकेको छ भने १५ वर्षीया क्षिमी सोमो थापाको अवस्था अझै पनि अज्ञात छ। उनको खोजी कार्य जारी रहेको दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन् ।
यसअघि दार्चुलाको दुहुँ गाउँपालिका–४ की ३८ वर्षीया कमला कुँवर, उनका १८ वर्षीय छोरा प्रवीण कुँवर र डोटीको जोरायल गाउँपालिका–२ बुडरकी ४५ वर्षीया नक्नी डोमा थापाको शव फेला परेको थियो । कमला र प्रणीण आमा छोरा हुन् ।