मिटरब्याज आन्दोलनका अगुवा पीडितहरूबाटै कुटिए, अभियन्ताले उचालेको आरोप (भिडिओ) – Nepal Press

मिटरब्याज आन्दोलनका अगुवा पीडितहरूबाटै कुटिए, अभियन्ताले उचालेको आरोप (भिडिओ)

काठमाडौं । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका संस्थापक अध्यक्ष रामसुरत गुप्ता पीडितहरुबाटै कुटिएका छन् । हिजो उनलाई जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन जाने क्रममा पीडितहरुले हातपात गरेका हुन् ।

गत बैशाख १४ गते मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन पीडितहरुलाई आह्वान गरेको थियो । बैशाख १७ गतेदेखि ३१ गतेसम्म जिप्रकामा सहायता कक्षा स्थापना गरिएपछि पीडितहरुले धमाधम निवेदन दिन थाले । यसले काठमाडौंमा आन्दोलनरत पीडितहरुमा विभाजन आयो ।

चैत २० गतेदेखि काठमाडौंमै धर्नामा बसिरहेका पीडितहरुमध्ये केही निवेदन दिन जिल्ला फर्किए भने अरु यतै रहे । संघर्ष समितिका संस्थापक अध्यक्ष रामसुरत गुप्तालगायत पीडितहरु जिल्ला फर्किएका थिए । उनैको नेतृत्वमा २०७७ साल भदौबाट नवलपरासीका सुस्ता र प्रतापपुरबाट आन्दोलन उठेको थियो ।

गुप्तामाथि जिल्ला प्रशासन कार्यालय परासीमा निवेदन दिन जाँदा हिजो हमला भएको हो । पीडितहरु नै उनीमाथि जाइलागेका थिए । सीडीओ कार्यालयअघि नै हातपातको शिकार भएका गुप्ता आफूलाई नियोजित आक्रमण गरिएको बताउँछन् । गुप्ताको दाबीअनुसार उक्त हमला मिटरब्याज पीडितहरुको नेतृत्व गरिरहेका निर्ग नवीन र मनोज खतिवडाको निर्देशनमा भएको हो ।

उनले भने, ‘अस्ति २० गते काठमाडौं आन्दोलनमा गएको थिएँ । तर, अहिले छोरीको विवाह छ । त्यसैले गाउँ आउनुपर्ने भयो । साथै जिल्ला प्रशासनमा निवेदन पनि दिनुपर्ने थियो । त्यसैले गाउँ आएँ । तर, निवेदन दिन जाँदा म र अन्य दुईजना पीडितमाथि निर्ग नवीन र मनोज खतिवडाको निर्देशनमा अरु पीडितहरुले हमला गरे । सीडीयो कार्यालयअघि नै ममाथि हातपात गरे ।’

मिटरब्याज पीडितहरुको आन्दोलनमा जे खेला भयो, त्यसरी हुँदैन भन्ने मत राख्दा आफूमाथि नियोजित रुपमा हमला भएको उनको भनाइ छ । गुप्ताको दाबीअनुसार अहिले पीडितहरुलाई लिएर निर्ग र मनोजले पार्टी खोल्नतिर लागेका छन् । त्यसमा आफूले समर्थन नगरेको उनले बताए ।

गुप्ताले भने, ‘यी दुईजनाले हामीलाई फुटबल बनाइदिएका छन् । यो सबै उनीहरुको खेला हो । मिटरब्याज पीडितलाई लिएर पार्टी खोल्न खोजेका छन् । त्यो पार्टीमा हाम्रो समर्थन छैन । उनीहरु त पीडितको समस्या हल गर्नतिर लाग्नुपर्ने थियो । तर, उनीहरुले समस्यामाथि झनै समस्या थपिदिएका छन् ।’

आफू ६४ वर्षको बुढो मान्छे भएकाले आफूले सुदखोरबाट मात्रै न्याय खोजेको गुप्ता बताउँछन् । तर, राजनीति गर्ने सोच नभएकाले आफूले पार्टी खोल्ने कुरामा विरोध गरेको उनको भनाइ छ ।

मिटर ब्याज पीडित संघर्ष समितिका केन्द्रीय प्रवक्ता निर्ग नवीनले भने गुप्ताको आरोप अस्वीकार गरे । आफूहरुले पार्टी खोल्ने कुरा कहिल्यै नगरेको उनको दाबी छ ।

निर्गले भने, ‘हामीले पार्टी खोल्ने कुरा कहिल्यै गरेका छैनौं । मिटरब्याजले पार्टी चल्दैन । पार्टी बन्नु समग्रताको कुरा हो । सामाजिक इस्युमाथि काम गरिरहेका छौं ।’

गुप्तामाथि भएको हमलामा आफूहरुको कुनै संलग्नता नभएको उनले बताए । हिजो उक्त घटना हुँदै गर्दा आफूहरु गृह मन्त्रालयमा छलफलमा रहेको र साँझमा मात्रै थाहा पाएको उनले दाबी गरे ।

‘गुप्ताले केही मान्छेसँग केस मिलाइदिन्छु भनेर पैसा खाइदिएकाले आक्रमण गरिएको हो’, उनले भने ।

गुप्तासहित बाबुराम हरिजन र गौतम सहानीमाथि पनि हातपात भएको थियो । आफूले केस मिलाइदिन्छु भनेर पैसा लिएको आरोप गुप्ताले अस्वीकार गरेका छन् ।

अभियन्ताले फुटबल जसरी खेलाइरहेका छन् : गुप्ता

अस्ति २० गते हामी काठमाडौं पुगेका थियौं । तर, त्यहाँ जे खेला भयो, त्यो देखेपछि मैले यसरी हुँदैन भनें । सरकारले हाम्रो कुरा सुन्दैछ । सबै कुरामाथि न्याय दिन सरकार लागेको छ भनेर मैले भनें । तर, त्यहाँ उनीहरुले मलाई हेपे । पीडितहरुलाई उचालेर निर्ग र मनोजले आयोगको नै विरोध गर्न लगाए । नारा लगाउन लगाए । मैले सरकारले काम गरिरहेको वेला त्यसो नगरौं, आन्दोलनमात्रै गरिरहँदा वर्षौं लाग्छ भनेको थिएँ । तर, मलाई नै खराब देखाउनतिर लागे उनीहरु ।

यो आन्दोलन सुरुमा मैले नै चलाएको हो । अनि मलाई नै यस्तो गर्ने त होइन नि ! अघिल्लोपटक डेढ महिना आन्दोलन गर्दा म अध्यक्ष थिएँ । तर, मलाई अध्यक्षबाट हटाइयो । निर्गले अर्कै मान्छेलाई बनाए र आफू चाहिँ केन्द्रीय प्रवक्ता बने । अनि यहाँबाट मान्छे उचालेर काठमाडौं लाने, दमन गराउने र प्रहरीको कुटाइ खुवाउने गरेका छन् उनीहरुले ।

यदि मैले गल्ती गरेको भए, मैले के गरेको छु, त्यो देखाउन प¥यो नि ! निर्गकै मान्छेहरुले मलाई आक्रमण गरे । काठमाडौंबाटै उनीहरुले मान्छे पठाएर न त यस्तो घटना भयो । पीडित उनीहरु होइनन् । पीडितहरु हामी हौं । निर्ग र मनोजको त जग्गा फसेको छैन । उनीहरुले मिटरब्याजको आन्दोलन देखाएर पैसा कमाउन यो सब गरेका हुन् । पीडितको मुद्दामा मलाई जति जानकारी छ, उनीहरुलाई थाहा छ ? छैन । मीठो मीठो कुरा गर्नेमात्रै छ ।

मलाई राम्रो लागेको छैन । सरकारले काम गर्दैछ, हामीले किन त्यस्तो गर्ने ? जब सरकारले काम गर्दैछ, हामीले किन विरोध गर्ने ? काम गरेन भने पो गर्ने त ! यिनीहरुले आफ्नो स्वार्थको लागि पीडितहरुलाई खेलाएका छन् । अहिले पीडितहरुको काम जिल्लामा छ, काठमाडौं बसेर के गर्ने ? जब सरकारले काम गरिरहेको छ । तर, उनीहरुले पीडितलाई काठमाडौंमै रोकेर राखेका छन् । सरकारले अहिले काम गरिरहेको छ, उसलाई सहयोग गर्नुप¥यो नि ! सरकारले फाइल अहिले चलाइदिएन भने कति साल लाग्छ ?

२०७७ साल भदौबाट यो आन्दोलन सुस्ताबाट उठाएको मैले नै हो । तर, अहिले यिनीहरुले मलाई नै बाहिर निकाले । मलाई आक्रमण पनि गराए । यिनीहरु त पीडित होइनन् । यिनीहरुलाई पीडितको मतलब छ ? दुईचार जना मान्छे मर्‍यो भने पैसा कमाउने सोच छ यिनीहरुको ।

निर्ग, मनोजहरुलाई पीडितको केही मतलब छैन । रुबि खानको आन्दोलनमा पनि यिनीहरु पसेका थिए । एमसीसीको आन्दोलनमा पनि पसेका थिए । अहिले यसमा धेरै पैसा छ, पैसा आउने बाटो देखेरै मिटरब्याजमा लागेका छन् । अहिले मैले पीडित सोचेर केही पनि गरेको छैन । सबै सोचेर मुद्दा हालिदिएँ भने के हुन्छ ? मैले अहिलेसम्म मुद्दा हालेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर