गगनको स्टाटसले तरंगित कांग्रेस, विश्वप्रकाशको ‘स्ट्यान्ड’ के ? – Nepal Press

गगनको स्टाटसले तरंगित कांग्रेस, विश्वप्रकाशको ‘स्ट्यान्ड’ के ?

शर्मा भन्छन्- पार्टीलाई गति दिन नसकेपछि गगन र ममाथि प्रश्न उठ्यो

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद चर्किएको छ । आइतबार साँझ महामन्त्री गगन थापाले पार्टी नेतृत्वप्रति आक्रोश पोख्दै स्टाटस लेखेपछि पार्टीभित्र गुम्सिएको असन्तुष्टि छताछुल्ल पोखिएको हो ।

सभापति शेरबहादुर देउवाको कार्यशैलीबाट पार्टी अगाडि बढ्न नसक्ने निष्कर्षसहित महामन्त्री थापाले आफ्नै तयारी थालेका छन् । उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्माको पनि बलियो साथ छ । कांग्रेस इतर पक्षको नेतृत्व गरिरहेका डा. शेखर कोइरालासँग पनि गगन सन्तुष्ट छैनन् ।

पार्टीको १४ औं महाधिवेशन भएको साढे १ वर्षसम्म पार्टीको भ्रातृ संगठनले पूर्णता नपाउनु, गत मंसिरमा भएको निर्वाचनको अझै समिक्षा नगर्नु, वैशाख १० को उपनिर्वाचनमा धक्का खानु लगायत कारणले पार्टी नेतृत्वप्रति ठूलो पंक्ति रुष्ट छ । देउवाले पार्टीको केन्द्रीय समितिलाई रोकेर आफ्नै निर्णयलाई नै लादिरहेका छन् ।

आफ्नो स्टाटसमा गगनले अब अति भएको भन्दै मौन नबस्ने संकेत गरेका छन् । उनले भनेका छन्, ‘एउटा सीमा छ । त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडेँ, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो !’

अझै देउवाले कार्यशैली फेर्ने संकेत नदेखाएपछि महामन्त्री थापाले पार्टीभित्र तल्लो तहसम्म समानान्तर गतिविधि अगाडि बढाउने तयारी गरेको स्रोतको दाबी छ । उनले यस्तो तयारी गरिरहँदा धेरैको मनमा प्रश्न छ, अर्का महामन्त्री विश्वप्रकाश शर्माको भूमिका के हुन्छ ?

महामन्त्री शर्मा पनि आफूहरुले सोचेजस्तो गरेर पार्टी निर्माण गर्न नसकेको स्वीकार गर्छन् ।

शर्माले नेपाल प्रेससँग भने, ‘अहिले पार्टीभित्रको विवाद चर्किएको पनि होइन, मिलेको पनि छैन । संगठनलाई रुपान्तरण गरेर जानुपर्छ भन्ने कुरामा छलफल भइरहेको छ । त्यो हामीले सोचेजस्तो स्पिडमा बढेको छैन ।’

सोहीअनुरुप महामन्त्री थापाले प्रकट गरेको उनको बुझाइ छ ।

‘पार्टीमा गुनासो देखिएको कुरा सत्य हो । पार्टी रुपान्तरणलाई सोचेजस्तो गरेर अगाडि बढाउन नसकेको कुरामा मलाई पनि गुनासो होला, गगनलाई पनि होला,’ उनले थपे ।

हरेक राजनीतिक दलमा समस्या आउनु र समाधान हुने प्रक्रियालाई स्वभाविक रुपमा लिनुपर्ने उनको भनाइ छ ।
इतर समूहकै नेता धनराज गुरुङ महामन्त्री थापाले पार्टीमा अनिष्ट हुनेगरी कदम चाल्ने विश्वास आफूलाई नभएको बताउँछन् ।

महामन्त्री थापाले पार्टीमा समानान्तर गतिविधि थाल्ने वा पार्टी विभाजनतिर जाने संकेत गरेको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘यो प्रश्न महामन्त्रीज्यूलाई नै सोध्नुहोला । उहाँ पार्टीमा टप फाइभभित्रै हुनुहुन्छ । त्यसो भएकाले उहाँले बोलेको बिषयमा मैले टिप्पणी गर्नु उचित हुँदैन ।’

उनले पार्टीमा समानान्तर कमिटी र विभाजन हुन्छ जस्तो नलागेको प्रष्ट्याए । उनले थपे, ‘गगन थापाजी शालिन व्यक्तित्वको रुपमा देख्छु । शालिन व्यक्तिबाट अनिष्ट हुने गरेर उहाँले पाइला चाल्नुहुन्छ भन्ने मलाई विश्वास नै छैन । त्यसकारणले उहाँ जिम्मेवार हुनुहुन्छ ।’

कांग्रेसका अर्का नेता गुरुराज घिमिरे महामन्त्री थापाले पार्टीलाई सोचेअनुसार चलाउन नपाएपछिको तीतो पोखेको बताउँछन् ।

उनले भने, ‘गगनजी महामन्त्री भइसकेपछि अहिलेसम्मको तीतो भोगाइ जस्तो लाग्छ । त्यसको अन्तर्यमा के छ ? अहिल्यै भन्न सक्दिनँ । मैले बुझ्दा चाहीँ पार्टी, विधि, पद्धति र सल्लाहमा चलेन । सबै कुरालाई मैले नजरअन्दार गरेँ, अब चाहीँ त्यसको पराकाष्ठा भयो भन्ने उहाँको बुझाइ हो भन्ने बुझिन्छ ।’

महामन्त्रीलाई महामन्त्रीको रुपमा काम गर्न नदिएको पीडा झल्किएको उनी बताउँछन् ।

घिमिरेले भने, ‘अहिले नै उहाँले अर्को कदम चाल्नुहुन्छ जस्तो मलाई लाग्दैन । अहिलेसम्म पार्टी सभापतिको मुख हेरेर बसेँ, अब त्यसरी बस्न सक्दिनँ भनेर अगाडि बढ्न खोज्नुभएको छ ।’

पार्टीभित्रै समानान्तर गतिविधि थाल्ने तयारी गरेको चर्चा छ नि भन्ने प्रश्नमा उनले भने, ‘उहाँले सामाजिक सञ्चालनमा लेखेपछि मेरो कुराकानी भएको छैन । त्यसबारे अहिलेसम्म जानकारी छैन ।’

तर, उनले सभापति देउवाबाट अब पार्टी नचल्ने दाबी गरे । महाधिवेशनमै अर्को पुस्तामा पार्टीको नेतृत्व हस्तान्तरण गर्न आफूहरुले प्रयास गरेको भए पनि नसकेको घिमिरेले स्मरण गरे।

सभापति देउवा निकटका केन्द्रीय सदीय मिनबहादुर विश्वकर्मा पनि पार्टीले गति लिन नसकेको स्वीकार गर्छन् ।
उनले भने, ‘पार्टीभित्र असन्तुष्टि देखिएको छ । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ । पार्टीको अहिले पदाधिकारी बाहेक अन्य कमिटीको बैठक बस्न सकेको छैन । बैठकमा राखेको सवालहरुमा चित्त नबुझेपछि असन्तुष्टि देखाएको पनि देखिन्छ ।’

उनले महामन्त्री थापाले सामाजिक सञ्जालमा असन्तुष्टि पोखे पनि पार्टीविरुद्ध कदम नचाल्ने दाबी गरे ।

उनले भने, ‘महामन्त्रीजस्तो गरिमामय पदमा रहेको व्यक्तिको बिषयमा अनुमानको भरमा बोल्ने कुरा भएन । अहिलेसम्म महामन्त्री भएका नेताहरुले पार्टी नेतृत्वलाई जिम्मेवारपूर्ण रुपमा नै सम्हाल्नुभएको छ । यो सल्लाह दिने पद होइन । कार्यकारी पदमा आफैं हुनुहुन्छ । उहाँले सामाजिक सञ्जालमा भन्दा पनि बैठकको आह्वान गरेर कुरा राख्दा उत्तम हुन्थ्यो।’
समानान्तर गतिविधिको तयारीमा हुनुहुन्छ भन्ने चर्चा छ भन्ने प्रश्नमा उनले भने, ‘उहाँले आगोको झिल्काजस्तो असन्तुष्टि व्यक्त गरेपछि अरुले ध्यूउ थप्ने काम त गरिहाल्छन् । तर, उहाँले जिम्मेवार र परिपक्व हुनुहुन्छ । कांग्रेसको भविष्य बोकेको नेता भएकाले आवेगमा त्यस्तो निर्णय गर्नुहुन्छ भन्ने लाग्दैन ।’

त्यसो त बिहिबार बसेको पार्टीको पदाधिकारी बैठकमा पनि महामन्त्रीद्वय थापा र शर्मा, सहमहामन्त्री जीवन परियारलगायत नेताहरुले सभापति देउवाको कार्यशैलीप्रति आलोचना गरेका थिए ।

पार्टीबाट सरकारमा मन्त्री पठाउँदा समावेशी नभएको, पार्टीको भातृ संगठन भ्रद्रगोल हुँदा समेत चासो नदेखाएको, पार्टीलाई रुपान्तरण गरेर अगाडि बढाउन नचाहेकोलगायत आरोप लगाएका थिए । पार्टीबाट मन्त्री पठाउने बिषयमा डा. शेखरसँग पनि महामन्त्री थापा सन्तुष्ट छैनन् । उनले युवा सांसद प्रदीप पौडेल वा सहमहामन्त्री परियारलाई सरकारमा पठाउन चाहेका थिए ।

यता, देउवाले चाँडै केन्द्रीय समितिको बैठक राख्ने र त्योभन्दा अगाडि पार्टी संगठनलाई पूर्णता दिएर अघि बढ्ने आश्वासन दिएको बताइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *