नक्कली भुटानी शरणार्थी प्रकरण : लाखौं बुझाउन तयार ‘पीडित’ लाई पनि कारबाही हुन सक्छ ? – Nepal Press

नक्कली भुटानी शरणार्थी प्रकरण : लाखौं बुझाउन तयार ‘पीडित’ लाई पनि कारबाही हुन सक्छ ?

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने नाममा भएको ठगी प्रकरणमा हाई प्रोफाइलहरु पक्राउ पर्न थालेपछि एमाले सांसद सूर्य थापाले पीडित भनिएकालाई पनि कानूनी कारबाहीको दायरामा ल्याइनुपर्ने बताएका थिए ।

लाखौँ रूपैयाँ बुझाएर अमेरिका जाने ध्याउन्नमा आफूलाई शरणार्थी बनाउन तयार हुनेहरूमाथि पनि अनुसन्धान हुनुपर्ने उनको आशय थियो । त्यसयता अरुले पनि यो विषय उठाइरहेका छन् । अमेरिका पठाइदिने नाममा आफूहरूसँग २० देखि ५० लाख रूपैयाँसम्म उठाएर ठगी गरिएको भन्दै एक वर्षअघि नै ८१ जनाले प्रहरीमा उजुरी दिएका थिए ।

त्यसमा हालसालै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रारम्भिक अनुसन्धान गरेर विचौलियाका रूपमा देखिएका सानु भण्डारी, केशव दुलाललाई पक्राउ गरेको थियो । यो मुद्दा हाल संगठित अपराधमा लगेर काठमाडौं प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे पक्राउ परिसकेका छन् । पूर्वमन्त्रीसमेत रहेका टोपबहादुर रायमाझीको खोजी भइरहेको छ भने उनका छोरा सन्दीपलाई प्रहरीले पक्राउ गरेको छ ।

यो प्रकरणमा पक्राउ परेका अभियुक्तले बयानको क्रममा पूर्वगृहमन्त्री बालकृष्ण खाणको पनि संलग्नता देखाएका छन् । त्यस्तै शेरबहादुर देउवापत्नी आरजु राणा देउवा र बालकृष्ण खाणकी पत्नी मञ्जुलाई पनि पैसा दिएको भनी बिचौलियाले फोनमा गरेको कुराकानीको अडिओ प्रहरीकोमा पुगेको छ । जुन अडिओ प्रहरीले अनुसन्धान भइरहेको बताएको छ ।

प्रहरीसँग अझै बढीमा १५ दिनको समय छ जसभित्र अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमार्फत अदालतमा अभियोग पत्र दर्ता भइसक्नु पर्नेछ । पक्राउ नपरेकाहरू फरार प्रतिवादीका रूपमा अभियोग पत्रमा पेश हुनेछन् । काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार यो प्रकरणमा हालसम्म एक सय ६० जनाभन्दा बढी पीडित देखिएका छन् ।

त्यसमध्ये अमेरिका जान तयार हुने जम्मा गर्ने लोकल एजेन्टहरू पनि पीडितका रूपमा रहेका छन् । त्यसो त विचौलियाका रूपमा देखिएका सानु भन्डारीले आफूहरूलाई पनि ठगिएको भन्दै केही महिनाअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए । यतिबेला गैरकानूनीरूपमा भुटानी शरणार्थी बनेर अमेरिका जान खोज्नेहरूलाई प्रहरीले पीडितका रूपमा अघि सारेर हाई प्रोफाइलमाथि अनुसन्धान गरिरहेको छ ।

एकातर्फ ठगी भएको स्पष्ट देखिएको छ भने अर्कातर्फ पीडित भनिएकाहरू पनि गैरकानूनी कामका लागि तयार भएको देखिन्छ । उनीहरूले भुटानी शरणार्थी बन्न झूटा विवरण बुझाएको स्पष्ट देखिन्छ । पीडित भनिएकाहरू यदि अहिले अमेरिका पुगिसकेका हुन्थे भने यसरी जाहेरी पर्दैनथ्यो । उनीहरू गैरकानूनी तरिकाले अमेरिका प्रवेशलाई आफू सफल भएको मान्ने थिए । त्यो अवस्थामा अमेरिका जाने र उनीहरूलाई लैजाने दुवैमाथि कानूनी कारबाही हुन सक्थ्यो ।

नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल यो प्रकरणमा पीडित भनिएकाहरूबाट पनि गैरकानूनी काम भएको बताउँछन् ।

‘तर यहाँ पीडितहरू ठगिएका छन् त्यो पनि सरकारी तहबाट । त्यसैले कानूनीरूपमा जाहेरवालाहरू पीडित देखिएका हुन्’, पूर्वडीआईजी मल्ल भन्छन् ।

मानव तस्करीमा पनि पीडितहरूलाई गैरकानूनी तरिकाले जान लागेको कुरा थाहा हुने तर अप्ठेरो वा ठाउँमा नपुगेपछि उनीहरूलाई कानूनले पीडितका रूपमा हेर्ने गरेको मल्लको भनाई छ ।

महान्यायधिवक्ता कार्यालयका अधिकारी यो विषय जवाफ दिन गाह्रो हुने तर अनुसन्धानका क्रममा पीडितहरू पनि कानूनी कारबाहीको दायरामा आउन सकिने बताउँछन् ।

‘कोही व्यक्तिले मलाई हिरोइन दिन्छु भनेर गहुँको पिठो दियो भनेर उजुरी गर्न आउँछ भने त जाहेरवाला पनि कारबाहीको दायरामा आउँछ’, महान्यायधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मी भन्छन् ।

भुटानी शरणार्थी बनेरै अमेरिका जान तयार भएको हो कि उसलाई अन्य प्रलोभन देखाएर अमेरिका लैजान खोजिएको हो भन्ने आधारमा पीडितहरूमाथि कानूनी कारबाहीको प्रक्रिया थाल्न सकिने/नसकिने निर्भर हुने उनी बताउँछन् ।

‘कागजातहरूबाट उनीहरू भुटानी शरणार्थी बन्न तयार भएर अमेरिका जान खोजेको भन्ने देखिन्छ भने त पीडितहरू पनि कानूनी कारबाहीको दायरामा आउन सक्छन्’, उनी भन्छन् ।

त्यसो भए ठगी मुद्दामा पीडितमाथि छुट्टै मुद्दा दर्ता गरेर अनुसन्धान गर्न सकिन्छ त ? भन्ने प्रश्नमा रेग्मीले कानूनले नरोकेको बताए । ठगीसम्बन्धी मुद्दामा पीडितमाथस नै अनुसन्धान हुँदा उनीहरू उजुरी गर्न आउने सम्भावना नै कम हुने अनुसन्धान अधिकारीहरू बताउँछन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोज केसी पीडितको पक्षमा राज्य बोल्नुपर्ने भएकाले पीडकलाई कारबाही गर्ने हिसाबले अनुसन्धान हुने गरेको बताउँछन् ।


प्रतिक्रिया

2 thoughts on “नक्कली भुटानी शरणार्थी प्रकरण : लाखौं बुझाउन तयार ‘पीडित’ लाई पनि कारबाही हुन सक्छ ?

  1. लाखौं बुझाउन तयार ‘पीडित’ लाई पनि कारबाही गर

  2. बल्ल अलि राम्रो संकेत सहितको समाचार प्रकाशित भयो । सरकारले होइन सरकारी पदधारण गरेका केही ब्यक्तिहरूले कानून विपरित काम गरेकाहुन । र, कानून विपरितको काम हो भन्ने जानेकाहरूले नै सत्ता र राजनीतिक पहुँच बनाएर नक्कली भुटानी शरणार्थी बन्ने खेलमा लागेको हुनाले तिनिहरू यो वा त्यो बहाना बनाएर पीडित सावित हुने पाउनु हुँदैन । तिनिहरूको सम्पत्ती पनि छानविन गरिनु पर्दछ । र, कानून विपरितको काममा सत्ता र शक्तिको प्रयोग गरेर अमेरिका जाने प्रपञ्चमा लागेको हुनाले कार्वाही गरिनु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *