बजेटमा कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : अध्यक्ष यादव (भिडिओ) – Nepal Press

बजेटमा कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : अध्यक्ष यादव (भिडिओ)

'निजीकरण गरेर रुग्ण बनेका उद्योग पुनः सञ्चालन गर्न सकिन्छ’

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी वर्षको बजेटमा सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन् ।

मंगलबार सरकारले प्रश्तुत गरेका आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले यस्तो सुझाव दिएका हुन् । उनले आर्थिक अवस्था सुधार गर्न सबैभन्दा पहिला कृषिमा लगानी बढाउनुपर्ने बताए ।

उनले उत्पादनमुलक उद्योगहरुलाई सबलीकरण गर्ने, रुग्ण उद्योगलाई पुनः सञ्चालन गरेर मात्रै अहिलेको आर्थिक संकटको सामना गर्न सकिने बताए । उनले पर्यटन क्षेत्रको प्रवर्द्धन गर्नसकेपनि केही मात्रामा आर्थिक समस्या समाधान गर्न सकिने बताए ।

‘प्राथमिकता हामी कहाँ दिन्छौँ, सबैभन्दा बढी प्राथमिकतमा अहिले जुन आर्थिक संकट जुन आइरहेको जस्तो देखिन्छ, जुन मुलुकमा आर्थिक वृद्धिदर घटेर गएको छ । त्यसलाई परिपूर्ति गर्न सबैभन्दा सजिलो र छिटो भनेको कृृषि उत्पादनमा वृद्धि नै हो’, उनले भने, ‘कृषिमा आज लगानी गर्नुभयो भने तीन,चार महिनापछि नै नतिजा आउँछ । त्यसपछि उत्पादनमुलक उद्योगहरुलाई सबलीकरण गर्ने, जुन उद्योगले उत्पादन गरिरहेको छ, त्यसको सबलीकरण गर्नुपर्छ । जुन विभिन्न कालखण्डमा अत्याधिक मुनाफामा रहेका उद्योग, कलकारखाना निजीकरण र उदारीकरणका नाममा कौडीका मूल्यमा बेचियो, वा प्राइभेटाइज गरिनु आज ती सबै रुग्ण अवस्थामा रहेका छन् ।’

ति उद्योगहरु पुनः सञ्चालन गर्ने वीरगञ्ज चिनी काराखाना, कृषि औजार कारखाना, चुरोट कारखाना लगायत कारखाना पुनः सञ्चालन गर्न सकिने यादवको भनाइ छ ।

‘त्यो सञ्चालनको नीति निर्माण गरेर अघि बढ्ने हो भने, त्यसले उत्पादन वृद्धि गर्न सकिन्छ’, उनले भने, ‘विशेष गरी पर्यटन क्षेत्रको प्रवद्र्धन गर्नुपर्छ । त्यसपछि विनियोजित विधेयकमा समावेश बुँदाहरुलाई मार्गचित्र स्पष्ट हुन्छ ।’

उनले हरित क्रान्ति कार्यक्रम लागू गर्नसके कृषि उत्पादनमा वृद्धि गर्न सकिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर