‘आत्मनिर्भर’ घोषणा भएको दुई वर्षमै दूधको आयात खुला गर्ने तयारी
बजारको माग ३५ लाख लिटर, आपूर्ति ३१ लाख लिटर
काठमाडौं । २०७७ चैतमा तत्कालीन सरकारले नेपाल दूधमा आत्मनिर्भर बनेको औपचारिक घोषणा गर्यो । स्वदेशी उत्पादन पर्याप्त भएको भन्दै ‘आत्मनिर्भर’ घोषणा गरिएको दुई वर्षमै फेरि आयात खोल्नुपर्ने अवस्था आएको छ ।
अहिले स्वदेशमा उत्पादित दूधले बजारको माग धान्न छोडेको व्यवसायीहरुले बताएका छन् । अहिले नेपाली बजारमा दैनिक ३५ लाख लिटर दूधको माग छ भने ३१ लाख लिटर मात्रै विक्रीका लागि बजारमा आउँछ ।
अभाव पूर्तिका लागि भारतबाट ३ महिनासम्म दैनिक १ लाख लिटरभन्दा बढी दूध आयात गर्ने तयारी गरिएको हो । तर, यति ल्याउँदा पनि माग धान्ने देखिन्न ।
दुग्ध व्यवसायीहरुको संगठन डेरी एसोसियसनले भारतबाट दूध आयात खुल्ला गर्नुपर्ने बताएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले पनि भारतबाट दैनिक १ लाख २० हजार लिटर दूध आयात गर्न सिफारिस गरेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई बोर्डले बुझाएको प्रतिवेदनमा मागअनुसार दूध आपूर्ति हुन नसकेकाले ३ महिनाका लागि दैनिक १ लाख लिटरभन्दा बढी दूधको आयात खोल्न सुझाव दिइएको हो ।
गत कात्तिकमा पनि दूधअभाव भएपछि यसैगरी दैनिक परिमाणात्मक बन्देजसहित आयात खोलिएको थियो ।
करिब एक महिनाअघि दूध उद्योगी र व्यवसायीसँग बोर्डले छलफल गरेको थियो । बोर्डका उपकार्यकारी निर्देशक बालक चौधरीले ३ महिनाका लागि दैनिक १ लाख लिटरभन्दा बढी दूधको आयात खोल्न सुझाव दिएको बताए ।
मन्त्रालयमा डेरी उद्योगले भारतबाट धुलो दूध, कच्चा दूध र बटर आयात गर्न माग गर्दै निवेदन दिएको थियो । मन्त्रालयले उद्योगीको मागबारे छलफल र अध्ययन गरेर सिफारिस प्रतिवेदन बनाउन बोर्डलाई भनेको थियो ।
बोर्डले तयार पारेको प्रतिवेदन कृषि तथा पशुपन्छी विकासमन्त्री मन्त्री वेदुराम भुसाललाई बुझाइसकेको छ । अब मन्त्रालयले यसबारे थप छलफल गरेर दूध आयात खुलाउने वा नखुलाउने निर्णय गर्नेछ ।
नेपाल डरी एसोसियसनका अध्यक्ष प्रल्हाद दाहालले नेपालमा दैनिक ३१ लिटर दूध विक्री हुँदै आएको तर हाल ३५ लाख लिटर दूधको माग रहेको बताए ।
उनले भने, ‘नेपालमा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुने गरेको छ । त्यसमध्ये बजारमा ३१ लाख लिटर दूध आउँछ । माग अनुसार आपूर्ति हुन सकेको छैन । कच्चापदार्थ भारतबाट आयात गरेर आफ्नो बजार जोगाउन पर्ने अवस्था आएकाले नै दूध आयात खोल्नका लागि भनेका हौं । अहिले भारतबाट कच्चा दुध ल्याएर विक्री गर्न सकियो भने भारतको ब्राण्ड आउन पाउँदैन ।’
भारतबाट ल्याउने दूधको कच्चापदार्थको मूल्य प्रतिलिटर ८० रुपैयाँ पर्छ । यसरी १ लाख २० हजार लिटर कच्चा दुध आयात गर्दा प्रतिदिन ९६ लाख रुपैयाँ विदेशिने छ ।
यो दलालरूको सरकार हो र प्रचण्ड तिनका नाईके हुन् । स्वदेशी उद्योग मार्ने यिनको कामै हो ।