संसदका २८ बैठक : प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीसहित १२ सांसद आधामा पनि भएनन् उपस्थित – Nepal Press

संसदका २८ बैठक : प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीसहित १२ सांसद आधामा पनि भएनन् उपस्थित

काठमाडौं । प्रतिनिधिसभाको पहिलो अधिवेशनमा सभामुखसहित ११ जना सांसद एक दिन पनि गयल भएनन् । २०७९ सालमा चलेको संसदको पहिलो अधिवेशनमा सभामुख देवराज घिमिरेसहित ११ जना सांसदमात्रै शतप्रतिशत संसद बैठकमा उपस्थित भएका हुन् ।

प्रतिनिधिसभा गठनपछि गत पुस २६ गते संसदको पहिलो अधिवेशन सुरू भएको थियो । वैशाख १५ गते सम्पन्न पहिलो अधिवेशनअन्तर्गत २८ दिन बैठक भएको थियो । पाँच महिनाको अवधिमा भएको २८ वटा बैठकमा नेपाली कांग्रेसका सांसदहरु कान्तिका सेजुवाल, दिलेन्द्रप्रसाद बडु, रामहरि खतिवडा, संगीता मण्डल गरेर ४ जना गयल भएनन् ।

त्यस्तै सभामुख घिमिरेसहित नेकपा एमालेका सांसदहरु रघुजी पन्त र रुक्मणी राना बराइली सबै बैठकमा उपस्थित भए । नेकपा माओवादी केन्द्रका हितराज पाण्डे र ज्ञानु बस्नेतमात्रै नियमित हाजिर भए ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका वीना लामा र जनमत पार्टीका विनिताकुमारी सिंह पनि बैठकमा नियमित उपस्थित भएका छन् ।

तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित १२ जना सांसद २८ वटा बैठकको आधामा पनि उपस्थित भएनन् । प्रधानमन्त्री प्रचण्डसँगै कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओली पनि आधा बैठकमै उपस्थित भएनन् । देउवा २८ बैठकमध्ये १२ वटामा मात्रै उपस्थित भएको संसद सचिवालयले जनाएको छ । ओली भने १४ वटा बैठकमात्रै उपस्थित भएका छन् ।

अन्य सांसदहरु किशोरसिंह राठौर, अच्युतप्रसाद मैनाली, आरजु राणा, भुटानी शरणार्थी काण्डमा मुछिएपछि फरार एमाले सचिव टोपबहादुर रायमाफी, डिल्लीराज पन्त, धनबहादुर बुढा, वीनाकुमारी थनैत, महेश बस्नेत र लीलानाथ श्रेष्ठ आधाभन्दा कम बैठकमा उपस्थित भएका छन् ।

तैपनि यी १२ जना नै सांसदले पाँच महिनाको तलब बुझेका छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने अन्य शीर्ष नेताहरुको तुलनामा धेरै बैठकमा उपस्थित भएका छन् । पहिलो अधिवेशनका २८ मध्ये नेपाल २३ वटा बैठकमा उपस्थित भएका छन् ।

बैठकमै नपुग्ने सांसद पनि छन्

कांग्रेसकी सांसद मनोरमा शेरचन एक दिन पनि बैठकमा उपस्थित भएकी छैनन् । उनी निर्वाचित भएदेखि नै गम्भीर बिरामी परेकी थिइन् । उनी अहिले पनि उपचारमा रहेको संसद सचिवालयले जनाएको छ ।

मनाङबाट निर्वाचित काग्रेसका सांसद टेकबहादुर गुरुङ निर्वाचित भए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध अदालतमा हालेको मुद्दा विचाराधीन भएकाले सपथ नै लिन पाएका छैनन् । उनलाई संसद सचिवालयले निलम्बनसमेत गरिसकेको छ । भ्रष्टाचार मुद्दाको किनारा नलागेसम्म स्वतः निलम्बनमा रहने व्यवस्थाअनुसार प्रतिनिधिसभा सदस्यको सपथ नलिँदै पुस ८ गते उनी निलम्बनमा परेका हुन् ।

यस्तै महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित एमाले सांसद लक्ष्मी महतो कोइरी भने पुसमा बसेको दोस्रो बैठकमा सहभागी भएका थिए । फरार सूचीमा रहेका सांसद पनि बैठकमा सहभागी भएको भन्दै विरोध भएपछि देखि उनी संसदमा छिरेका छैनन् । कोइरीलाई पनि संघीय संसद सचिवालयले निलम्बन गरिसकेको छ ।

यस्तै नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन पहिलो र दोस्रो बैठकमा मात्रै उपस्थित भएका छन् । उनी बिरामी भएर चीनमा उपचार गराइरहेका छन् । कांग्रेस डा.चन्द्रकान्त भण्डारी १० वटा बैठकमा मात्रै सहभागी भएका छन् । ग्यास विस्फोटमा परेर घाइते भएपछि उनलाई उपचार गर्न भारत लगिएको थियो ।

प्रधानमन्त्री प्रचण्ड २८ मध्ये १० वटामा मात्रै उपस्थित

प्रधानमन्त्री प्रचण्ड पहिलो अधिवेशनको फागुन र बैशाखमा बसेको एउटा पनि बैठकमा सहभागी भएनन् । संसद सचिवालयका अनुसार फागुनमा बसेका चार र बैशाखमा बसेका ६ वटा बैठकमध्ये प्रचण्ड कुनै पनि बैठकमा उपस्थित भएनन् ।

सचिवालय सचिवालयका अनुसार २८ मध्ये १० वटा बैठकमा मात्रै प्रधानमन्त्री प्रचण्ड उपस्थित भएका छन् । जसमा सबैभन्दा बढी माघ महिनामा ६, पुस र चैतमा दुई-दुई वटा बैठकमा मात्रै उनी उपस्थित भएका छन् ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको २३ सदस्यीय मन्त्रिपरिषदमा ३ जनाबाहेक २० मन्त्री प्रतिनिधिसभाकै सांसद हुन् । प्रधानमन्त्री प्रचण्डपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, खानेपानीमन्त्री महिन्द्र राय यादव र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती सबैभन्दा कम १५-१५ वटा बैठकमा मात्रै उपस्थित भएका छन् । शिक्षामन्त्री राई बैशाखमा भएका ६ बैठकमध्ये कुनैमा पनि उपस्थित भएनन् । यादव र किराँती फागुनमा बसेका ४ बैठकमध्ये कुनैमा पनि उपस्थित भएनन् ।

यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी २८ मध्ये १६ वटा बैठकमा मात्रै सहभागी भए । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल १७ वटा बैठकमा उपस्थित हुँदा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत र स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत २४ वटा बैठकमा हाजिर भएका छन् ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कृषि तथा पशुपन्छी विकासमन्त्री डा.वेदुराम भुसाल र भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईमात्रै राष्ट्रियसभाबाट मन्त्रिपरिषदमा प्रतिनिधित्व गर्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर