जब खाणले सरकारी वकिललाई भने- प्रधानमन्त्रीको पनि नाम आयो, नोट गर्नुस् है ! – Nepal Press

जब खाणले सरकारी वकिललाई भने- प्रधानमन्त्रीको पनि नाम आयो, नोट गर्नुस् है !

‘मान्छे विदेश नै गएका छैनन्, कसरी ठगेको हुन्छ ?’

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले आफू निर्दोष रहेको दाबी गरेका छन् । म्याद थपका लागि आज अदालत लगिनुअघि जिल्ला सरकारी वकिलको कार्यालयमा उनले आफूमाथि लागेका आरोपहरु अस्वीकार गरे ।

खाणले आफूलाई विनाकारण प्रहरीले समातेको गुनासो गरेका थिए । प्रहरी स्रोतका अनुसार ‘कोही पनि मान्छे अमेरिका नगएकाले ठगी भएको भन्न नमिल्ने’ उनको तर्क थियो ।

प्रहरीले भने खाणको संलग्नताको प्रमाण भेटिएको भन्दै हचुवामा पक्राउ नगरिएको बताए ।

‘पूर्वमन्त्री जस्तो मान्छेलाई यत्तिकै समात्ने कुरा आउँदैन’, प्रहरीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘प्रमाणविना हल्लाका भरमा हामी काम गर्दैनौं ।’

खाणले प्रहरीलाई प्रश्न गरे, ‘मैले मान्छे ठगेको भनिरहेका छन् । जब कोही पनि विदेश नै गएका छैनन् भने कसरी ठगेको हुन्छ ?’

खाणले यसरी अड्डी लिएपछि प्रहरीले हिजो पक्राउ गरेका दुई बिचौलिया (रामशरण केसी र गोविन्द चौधरी) लाई उनको अगाडि उभ्याएको थियो । उनीहरुलाई ‘तिमीहरुले पैसा कसलाई दिएका हौ ?’ भनेर प्रहरीले सोधेका थिए ।

दुवैले जवाफ दिए, ‘हामीले जसलाई पैसा दिएका थियौं, उनीहरुले मन्त्रीलाई, गृहमन्त्रीलाई, प्रधानमन्त्रीलाई बुझाउनुपर्छ भनेका थिए ।’

बिचौलियाको यस्तो जवाफपछि खाणले हौसिएर भने, ‘सुन्नुभयो ! गृहमन्त्रीमात्र होइन, प्रधानमन्त्री पनि भन्दै हुनुहुन्छ उहाँहरु । नोट गर्नुस् है, यो पनि ।’


प्रतिक्रिया

2 thoughts on “जब खाणले सरकारी वकिललाई भने- प्रधानमन्त्रीको पनि नाम आयो, नोट गर्नुस् है !

  1. बालकृष्ण खाँण वास्तवमा विद्वान रहेछन् । किन भने मान्छे पहिले भने अनुसार अमेरिका पुगेर शरणार्थी सिविरमा बसेको भए पो ठगी भन्न मिल्थ्यो त । जव उनीहरू अमेरिका जानै पाएनन् तर तिनीहरूले पैसा मात्र तिरेकाछन् र त्यो पैँसा खानेले खाइसके भने कसरी ठगी भन्न मिल्छ ? तर्क गजव छैन त ?

  2. खाँड जी, मानिस अमेरिका पुगेका भए त कसरी यो केस बाहिर आउथ्याे र ? भुटानी सरणार्थी बनेर अमेरीका जाने नाममा घरबारी सकेर, ऋणपन गरेर लाखौ खर्च गर्दा नि अमेरिका नपुगिएपछी बल्ल त केज बाहिर आयो । अहिले त शरणार्थीको मात्र आयो हेर्दै जाँउ अरु के के आउँछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर