स्वतन्त्र भारतका दोस्रो प्रधानमन्त्री शास्त्री: स्वाभाविक मृत्यु कि हत्या ?
काठमाडौं । भारतमा हत्या गरिएका प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्रीहरुको सूचीमा गान्धी परिवारका दुई अनुहारको नाम आउँछ । प्रधानमन्त्री भएकै अवस्थामा मारिने भारतको सरकार प्रमुखमा इन्दिरा गान्धीलाई पहिलो मानिन्छ । सन् १९८४ अक्टोबर ३१ मा इन्दिराको हत्या भएको थियो ।
यस्तै भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीको पनि हत्या भएको थियो । सन् १९९१ मे २१ मा राजीवको हत्या भएको थियो । यी दुई घटनालाई भारतका प्रधानमन्त्रीको हत्यामा भएका विशाल दुर्घटना मानिन्छ । तर, दोस्रो प्रधानमन्त्रीको मृत्युले पनि भारतमा धेरै तरंग ल्याएको थियो ।
स्वतन्त्र भारतका दोस्रो प्रधानमन्त्री थिए लालबहादुर शास्त्री । उनको मृत्यु प्रधानमन्त्री भएकै समयमा भएको थियो । यो मृत्युलाई भारतमा धेरैले शंकाको रुपमा हेरेका छन् । नेपालका नेता मदन भण्डारीको मृत्युमा जसरी रहस्य भएको भनेर व्याख्या गरिन्छ, ठीक त्यस्तै खालको व्याख्या शास्त्रीको मृत्युमा पनि भारतमा लामो समयदेखि हुँदै आएको छ ।
सन् १९६६ मा भएको शास्त्रीको मृत्युलाई धेरैले हत्याको संज्ञा दिँदै आएका छन् । अरु त अरु शास्त्रीको परिवारका सदस्यहरुले समेत उनको मृत्युको रहस्य पत्ता लाउन आग्रह गर्दै आएका छन् । यसको पछिल्लो उदाहरण हो, सन् २०२२ जुलाई १९ मा शास्त्रीका नाति विभाकर शास्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्ना हजुरबाको मृत्युको यथार्थ बाहिर ल्याउन आग्रह गरेका थिए ।
उनको आग्रहलाई भारतीय मिडियाहरुले प्राथमिकताका साथ प्रकाशन गरेका थिए । परिवारका सदस्यहरुको आग्रह नहुँदा पनि शास्त्रीको मृत्युको बारेमा व्यापक चर्चा हुने गरेको छ ।
अरु त अरु शास्त्रीको परिवारका सदस्यहरुले समेत उनको मृत्युको रहस्य पत्ता लाउन आग्रह गर्दै आएका छन् । यसको पछिल्लो उदाहरण हो, सन् २०२२ जुलाई १९ मा शास्त्रीका नाति विभाकर शास्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्ना हजुरबाको मृत्युको यथार्थ बाहिर ल्याउन आग्रह गरेका थिए ।
पाकिस्तानसँग युद्धविराम गरेपछि सोभियत संघमा भएको थियो मृत्यु
सन् १९६५ मा भारत र पाकिस्तानको भीषण युद्ध भयो । भारतसँगका अन्य युद्धमा जस्तै पाकिस्तानले धेरै क्षति व्यहो¥यो । युद्ध अन्त्यको शान्ति सम्झौता तत्कालीन सोभियत संघको एक देश उज्वेकिस्तानमा भयो । उज्वेकिस्तानको तासकेन्तमा भएको सम्झौतालाई तासकेन्त घोषणा पनि भनिन्छ । भारतीय प्रधानमन्त्री शास्त्री र उनका पाकिस्तानी समकक्षी मोहम्मद अयुब खानले युद्ध अन्त्यको सम्झौता गरेका थिए । सन् १९६६ जनवरी ४ देखि १० सम्म भएका म्याराथन मिटिङपछि सम्झौता भएको थियो ।
सम्झौताको समन्वय तत्कालीन सोभियत संघका प्रधानमन्त्री एलेक्सी कोसिजिनले गरेका थिए । सम्झौता सकिएको रात शास्त्री आफ्नो बिच्छ्यौनामा पुगे । त्यसको केही घण्टापछि नै हृदयाघात भएर उनको मृत्यु भएको भनियो ।
तर, धेरैले उनको मृत्यु भनिए जसरी हृदयाघातले भएको मान्न तयार छैनन् । त्यो अविश्वास अहिलेसम्म भारतमा जस्ताको जस्तै छ । भारतीय मिडिया र सार्वजनिक वृत्तमा मृत्युको रहस्य भन्दै धेरै बहसहरु चलेका छन् ।
यी कारणले मृत्यु रहस्यमय मानिन्छ
शास्त्रीको मृत्युलाई धेरैले रहस्यमय भएको भन्ने प्रमुख कारण उनको पोस्टमार्टम रिपोर्ट तयार नगर्नु हो । मृत्यु भएका शास्त्रीलाई भारतमा ल्याइएको थियो । उनको शरीरमा निलडाम देखिएको थियो । खानेकुरामा विष हालेको कारण त्यस्तो भएको धेरैले तर्क गर्दै आएका छन् । पोस्टमार्टम नगर्नु र लास नीलो देखिएकोमात्रै होइन, उक्त घटनाका साक्षी भनिएकाहरुको रहस्यमय मृत्युले पनि घटनालाई थप गम्भीर बनाएको छ ।
सन् १९७७ मा भारतीय संसदमा मृत्युको रहस्यबारेमा सुनुवाइ हुन लागेको थियो । सुनुवाइमा आवश्यक शास्त्रीका दुई निकट व्यक्तिहरु थिए, निजी चिकित्सक डाक्टर आरएन चुग र निजी सहयोगी रामनाथ । तर, दुवैको सोही वर्ष रहस्यमय दुर्घटनामा मृत्यु भयो । चिकित्सक सुनुवाइमा जाने क्रममा अस्वाभाविक रुपमा आएको ट्रकबाट किचिएर मारिएका थिए । कारलाई ट्रकले हानेपछि बुझ्न गएका चिकित्सकलाई सोही ट्रकका चालकले किचेर मारेका थिए ।
मृत्युमा केजीबी र सीआईएमाथि शंका
शास्त्रीलाई पाकिस्तानले मार्ने सम्भावना र सामर्थ्य थिएन भन्ने भारतीय तर्क छ । किनभने पाकिस्तानसँग सम्झौता भएपछि शास्त्रीलाई मार्ने कुनै कारण थिएन । बाँकी शंका तत्कालीन सोभियत संघको गुप्तचर संस्था केजीबी र अमेरिकी गुप्तचर संस्था सीआईएमाथि गरिँदै आएको छ ।
शीतयुद्धमा अमेरिकी पक्षधरता नलिएको भनेर सीआईएले शास्त्रीको हत्या गरेको हुनसक्ने कतिपयको आरोप छ । सन् १९६० को दशकमा क्युबाका राष्ट्रपति फिडेल क्यास्ट्रोलाई पटकपटक सीआईएले हत्या प्रयास गरेको, विभिन्न विरोधी खेमाका शीर्ष नेताहरुको हत्या गरेको भन्दै त्यो तर्क गरिन्छ । कतिपयले भारतीय सत्ताको स्वार्थमा सोभियत संघको केजीबीले नै हत्या गरेको पनि भन्ने गर्छन् ।
भारतीय प्रधानमन्त्री शास्त्री र उनका पाकिस्तानी समकक्षी मोहम्मद अयुब खानले युद्ध अन्त्यको सम्झौता गरेका थिए । सन् १९६६ जनवरी ४ देखि १० सम्म भएका म्याराथन मिटिङपछि सम्झौता भएको थियो ।
शास्त्रीको मृत्युमा विभिन्न खोजमूलक सामग्रीहरु बनेका छन् । त्यसमा सबैभन्दा महत्वपूर्ण एक चलचित्र छ । विवेक अग्निहोत्रीको ‘द तास्केन्त फाइल्स’ नामको चलचित्र र अनुज धरको ‘योर प्राइम मिनिस्टर इज डेड’ नामको पुस्तक प्रमुख सामग्री हुन् । तास्केन्त फाइल्सले तत्कालीन सोभियत संघको गुप्चतर निकाय केजीबीले भारतीय दलको सहयोगमा शास्त्रीको हत्या गरेको भनेको छ । पुस्तकले मृत्यु प्राकृतिक नभएको भारतीयदेखि रुसी दस्तावेजहरुसम्म लिएर तर्क गरेको छ । भारत सरकारसँग सूचनाको हक प्रयोग गरेर मृत्युको तथ्य माग्दा नदिएको भन्दै थप रहस्य भएको लेखकको तर्क छ ।
सबैभन्दा रोचक त केही समय अगाडि आएको पुस्तकमा छ । ग्रेगोरी डगलसले लेखेको पुस्तक ‘कन्भरसेसन विथ दि क्रो’ले त शास्त्रीको हत्या सीआईएले गरेको किटान गरिएको छ । शास्त्रीको मृत्युकालमा सीआईएको दोस्रो ओहोदामा रहेका रोबर्ट क्रोसँग कुराकानी गरेर तयार पारिएको पुस्तकमा क्रो आफैंले शास्त्रीको हत्या गरेको बताएका छन् । क्रोले त शास्त्री मात्रै होइन, अमेरिकी इच्छाविपरीत आणविक हतियार बनाउन नेतृत्व गर्ने भारतीय वैज्ञानिक डाक्टर होमि भावाको समेत सीआईएले नै हत्या गरेको बताएका छन् । शास्त्रीको हत्या भएको १३ दिनमा डाक्टर भावाको मृत्यु भएको थियो । फ्रान्स र इटालीको सिमानामा रहेको माउन्ट ब्लाँमा हवाई दुर्घटनामा भावाको मृत्यु भएको थियो ।
शीतयुद्ध कालमा अमेरिकाले भारतलाई आणविक शक्तिको रुपमा देख्न चाहेको थिएन । त्यही समयमा भारतलाई आणविक शक्ति बनाउन लागिपर्ने आणविक विज्ञ भावा र भावालाई राजनीतिक नेतृत्व दिने शास्त्रीको रहस्यमय मृत्यु भएको थियो । यो कुरामा भारतमा शंका थियो नै । पुस्तक नै आएपछि थप बल पुगेको छ । यो पुस्तकका बारेमा भारतका मिडियामा व्यापक कभरेजसमेत भएको थियो ।