डीएसपीकाे कक्षमा पूर्वगृहमन्त्री थुनुवा, ‘तपाईँहरूकै मान्छे हुँ’ भन्दै प्रहरीको मन जित्ने प्रयास
काठमाडौं । सेवाग्राहीको भिडभाड देखिरहने टेकुस्थित काठमाडौं प्रहरी परिसरको रुम नम्बर ३ मा बिहीबार दिनभर बाहिरबाट चुकुल लगाइएको थियो । बाहिर सादा पोसाकका प्रहरी तैनाथ थिए ।
सँधै त्यहाँभित्र देखिने डीएसपी भने यताउता गरिरहेका थिए । बाहिरबाट बन्द गरिएको त्यस कोठालाई त्यत्तिकै प्रहरीले सुरक्षा दिइरहेको थिएन । त्यहाँ थिए हाईप्रोफाइल एक थुनुवा ।
विगत दुई दिनदेखि प्रहरीले दुईजना डीएसपी बस्ने उक्त कार्यकक्षलाई त्यस कोठाभित्र राखिरहेको छ । पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई करिब ५० मिटर दूरीमा रहेको १५० जनासम्म थुनुवा राख्न सकिने हिरासत कक्षमा नराखेर डीएसपीको कार्यकक्षमा राखिएको हो ।
‘उहाँले अन्त कतै बस्न र जान मान्नु भएन’, काठमाडौं प्रहरी परिसरका एक अधिकारी भन्छन् । बुधबार साँझ अदालतबाट म्याद थपेर ल्याएपछि प्रहरीले उनलाई दरबारमार्गस्थित वृत्तमा राख्ने तयारी गरेको थियो । तर खाणले आफू टेकुबाहेक अन्त नजाने बताएपछि डीएसपीकै कार्यकक्षमा एउटा खाट राखेर उनलाई बस्ने व्यवस्था मिलाएको छ ।
बुधबार प्रहरीकै मेसको खाना खाएका खाणले बिहीबार बिहान भने रोटी खाने इच्छा व्यक्त गरेका थिए । तर आफन्तले नै खाना ल्याई दिएको बुझिएको छ । बुधबार उनका मेयर भाई कपडा लिएर आएका थिए । एक प्रदेश मन्त्री पनि भेट्न पुगेका थिए । त्यसबाहेक हाईप्रोफाइल व्यक्तिहरु उनीसँग भेट गर्न गएका छैनन् ।
‘उहाँ शान्त रुपमा बसिरहनु भएको छ । उहाँमा तनाव देखिँदैन’, परिसरका एक अधिकारी भन्छन् । परिसरका तल्लो दर्जाका अधिकारीहरुले उनको रेखदेख गरिरहेका छन् ।
खाणले आफूलाई ‘प्रहरीकै मान्छे’ भनेर बताउने गरेका छन् ।
‘आफुले भनेकाे कुरा प्रहरीले इन्कार गर्दा जित्न नसकेपछि नमस्कार गरेर चुप्प लाग्नुहुन्छ ’, परिसरका एक अधिकारी भन्छन् ।
बुधबार बिहान मैजुबहालस्थित घरमा खाणलाई पक्राउ गर्न जाँदा पनि प्रहरीलाई उनले ‘म तपाईहरुकै मान्छे त हुँ नि’ भनेर उनीहरुलाई केही समय ‘होल्ड’ गर्न खोजेका थिए । पछि उनले बढुवा नभएको रिस फेरेको हाे कि पनि भन्न भ्याए ।
‘प्रहरीको सरुवा बढुवामा प्रहरी कर्मचारीहरु आफूबाट असन्तुष्ट छन् भन्ने पनि उहाँलाई रहेछ’, एक अधिकारी भन्छन् ।
प्रहरी नियन्त्रणमा राखिँदा पनि उनले आफुलाई एक्लै छाडिदिन आग्रह गर्ने गरेका छन् ।
‘वरिपरि प्रहरी नबसिदिए हुन्थ्यो भनेजस्तो गर्नुहुन्छ । तर हाम्रो काम त सुरक्षासँगसँगै रेखदेख पनि गर्ने हो’, परिसर स्रोत भन्छ । प्रहरीले खाणको नाम पोल्ने तत्कालिन सचिव टेकनारायण पान्डेलाई भने सिंहदरबार वृत्तमा राखेको छ ।
देश को दुर्घन्धित कसिङ्रर प्रमाणित भैईसकेको अबस्था मा पनि फेरि किन यो नाटक मन्चन भयेको होला, बुझ्न सकियेन!!
जय् मात्रीभुमी!!