टोपबहादुर देखाएर बालकृष्णलाई असल ठहर्याउँदै कांग्रेस, अहिले निलम्बन गर्नु नपर्नेमा एक मत !
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकले पार्टीका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई कारबाहीबारे कुनै निर्णय लिएन । उनको विषयमा ‘सिरियस छलफल नै नभएको’ सहमहामन्त्री जीवन परिवारले पत्रकारहरुलाई बताए ।
परियारका अनुसार बैठकका मुख्य विषयवस्तु अरु नै थिए । छलफलका दौरान यसो खाणको प्रसंग पनि निस्केको थियो । खाणलाई निलम्बनको निर्णय लिनु आवश्यक नरहेकोमा सबै नेताहरु सहमत रहेको उनले दाबी गरे ।
‘हिजोको बैठकमा पनि उहाँको विषयमा गहिरो छलफल भएको होइन । टोपबहादुरलाई एमालेले निलम्बन गरेको कुरामा अलिकति प्रसंग निस्केको थियो । तर, सञ्चारमाध्यमहरुमा भ्रामक समाचार आए’, उनले भने ।
केही सञ्चारमाध्यमले कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अनुसन्धान नसकिँदासम्म खाणलाई निलम्बन गर्नुपर्ने माग राखेको तर सभापति शेरबहादुर देउवाले अस्वीकार गरेको समाचार प्रकाशित गरेका थिए । तर, परियारले पार्टीमा कुनै किसिमको मतभेद नरहेको बताए ।
आजको बैठकमा पनि खाणलाई कारबाहीको विषय कसैले नउठाएको उनको भनाइ थियो ।
खाणमाथि कारबाहीको कुरा आउनासाथ अहिले कांग्रेस नेताहरु एमाले सचिव टोपबहादुर रायमाझीलाई जोड्ने गर्छन् । परियाले पनि त्यसै गरे । उनको तर्क थियो, ‘टोपबहादुर अझै पनि फरार छन् । तर, खाणले पक्राउ परेर अनुसन्धानलाई सहयोग गरिरहेका छन् ।’
परियारले यो पनि थपे, ‘उहाँ अस्तितिर बुटबलमा हुनुहुन्थ्यो । चाहेको भए त्यतैबाट अन्यत्र जान सक्नुहुन्थ्यो । तर, जानुभएन । उहाँ निवासबाटै पक्राउ पर्नुभएको छ । प्रहरी अनुसन्धानमा सघाइरहनु भएको छ ।’
तर, कांग्रेस नेताहरुले भने जस्तो खाणले प्रहरी अनुसन्धानलाई सहज रुपमा सघाइरहेको पनि देखिन्न । उनलाई निवासबाटै पक्राउ गर्न प्रहरीलाई सकस परेको थियो । प्रहरी पुगेपछि खाण ढोकामा चुकुल लगाएर बसेका थिए । प्रहरी ढोका फोरेरै भित्र पसेका थिए । त्यसपछि पनि खाणले प्रहरीसँग जान निकै आनाकानी गरेका हुन् । तर, केही लागेन ।
हिरासतमा पनि खाणले प्रहरीलाई विभिन्न किसिमका दबाब दिइरहेका छन् । उनी अन्य थुनुवाहरुसँग बस्न नमानेपछि डीएसपीकै कार्यकक्षमा राख्नु परेको छ । अदालत लैजाँदा अन्य थुनुवालाई जस्तो उनको हातमा हत्कडी लागेको थिएन ।
त्यसो त खाणलाई पक्राउ गर्ने क्रममा प्रहरीले फरक रणनीति अवलम्बन गरेको थियो । यसअघि टोपबहादुरलाई अदालतबाटै पक्राउ पुर्जी जारी गराएकाले मिडियामा छ्याप्छ्याप्ती समाचार आयो र रायमाझीसँग फरार हुन प्रशस्त समय थियो । खाणको हकमा भने जरुरी पक्राउ पुर्जी लिएर एकैचोटि सादा पोशाकका प्रहरी उनको निवासमा पुगेका थिए । सम्भवतः उनले पक्राउ पर्दैछु भन्ने भेउ नै पाएनन् ।
उता एमालेले पनि टोपबहादुरलाई कारबाही गर्न निकै आनाकानी गरेको थियो । टोपबहादुर फरार भएपछि पनि एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुले घुमाउरो रुपमा उनको बचाउको प्रयास गरेका थिए । तर, पार्टीभित्र र बाहिरबाट चर्को दबाबपछि एमालेले टोपबहादुरलाई सचिवबाट निलम्बन गरेको छ ।