प्रदेश र इटहरी उपमहानगरबीचको विवाद उत्कर्षमा : वन कार्यालयले लियाे ट्रीपर नियन्त्रणमा, छुटाउन वडाध्यक्ष बसे धर्नामा – Nepal Press

प्रदेश र इटहरी उपमहानगरबीचको विवाद उत्कर्षमा : वन कार्यालयले लियाे ट्रीपर नियन्त्रणमा, छुटाउन वडाध्यक्ष बसे धर्नामा

विराटनगर । खोलाजन्य प्राकृतिक श्रोत साधनको प्रयोगलाई लिएर कोशी प्रदेश सरकार र इटहरी उपमहानगरपालिकाबीच विवाद उत्कर्षमा पुगेको छ ।

प्रदेश सरकारले वन नियमावली ल्याउन ढिलाइ गर्दा राजश्व बाँडफाँड लगायतका विषयमा यी दुई तहको सरकारबीचमा विवाद झनै बढ्दै गएको हो । दुई साता यता जनप्रतिनिधिले नै खोलाबाट ढुङ्गा गिटी उत्खनन गर्न नरोकेपछि डिभिजन वन कार्यालय सुनसरीले इटहरी उपमहानगरपालिकाको ५ वटा टिपर नियन्त्रणमा लिएको छ ।

खोला ठेक्का नलगाई नगरप्रमुख र वडा अध्यक्ष लगायत स्थानियनै खोलामा बसेर दुई साता यता इटहरी ३ खोर्साने खापस्थित बुढी खोलाबाट ढुङ्गा गिटी उत्खनन गर्न थालेपछि कोशी प्रदेश सरकारले डिभिजन वन कार्यालय सुनसरीमार्फत रोक्न खोजेको थियो ।

डिभिजन वन कार्यालयले खोलाबाट आफूखुसी ढुङ्गा गिटी उत्खनन कार्य तत्काल रोक्न आग्रह गरे पनि इटहरी उपमहानगरले उत्खननको काम रोकेको छैन । काम नरोकेपछि शुक्रबार सुनसरी प्रहरीको सहयोगमा बन कार्यालयले ५ वटा टिपर र चालकलाई खोला छेउबाट नियन्त्रणमा लिएको छ ।

वन कार्यालयले इटहरी उपमहानगरपालिकाले मिक्स गिटी बोक्न प्रयोग गरेको को १ ख ६३७९, ६३३५, ७१३०, ६५९९ र प्र–१–०२–००१ क ४०१३ नम्बरको टिपर र चालक नियन्त्रणमा लिएको इटहरी उपमहानगर पालिकाका कार्यवाहक मेयर दिवस पोख्रेलले बताए ।

अबैधरुपमा भइरहेको खोला उत्खनन कार्य तत्काल रोक्न पटक पटक आग्रह गर्दा पनि अटेरी गरेपछि बाध्य भएर शुक्रवारबाट टिपर नियन्त्रणमा लिनुपरेको डिभिजन बन कार्यालय सुनसरीका डिभिजन बन अधिकृत धर्मनाथ शाहले बताए ।

वन कार्यालयले ट्रीपर नियन्त्रणमा लिएपछि उपमहानगरपालिकाका २० वटै वडाका वडाअध्य्क्षहरु बन कार्यालय घेराउका लागि पुगेका थिए ।

वन कार्यालय पुगेका वडाअध्यक्षहरुलाई जिल्ला बनले अनुसन्धान भई रहेको भन्दै फर्काइ दिएको छ । घटनाको विषयमा अनुसन्धान गर्न बन अधिकृत ओम अधिकारीको संयोजकत्वमा अनुसन्धान समिति बनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर