गाउँपालिका अध्यक्षले किर्ते गरेर १२ को परीक्षा दिएको आरोप, एउटै नम्बरका दुई उत्तरपुस्तिका भेटिए – Nepal Press

गाउँपालिका अध्यक्षले किर्ते गरेर १२ को परीक्षा दिएको आरोप, एउटै नम्बरका दुई उत्तरपुस्तिका भेटिए

सिन्धुली । जिल्लाको मरिण गाउँपालिकाका अध्यक्ष प्रख्यात माेक्तानले नक्कली परीक्षार्थी राखेर कक्षा १२ को परीक्षा दिएको आरोप लागेको छ । हिजो सामाजिक विषयको परीक्षामा एउटै सिम्बाेल नम्बरका दुईवटा उत्तरपुस्तिका फेला परेपछि उनी विवादमा तानिएका हुन् ।

कक्षा १२ को परीक्षाको तेस्रो दिन मोक्तान माध्यमिक विद्यालय कपिलाकोटको परीक्षा हलमा उपस्थित थिए । उनले परीक्षा सकेर कापी बुझाए पनि । तर, एकछिनपछि बाहिरबाट लेखेर ल्याइएको अर्को कापी मिसाउन खोज्दा घटना सार्वजनिक भएको हो । शिक्षा समन्वय ईकाई सिन्धुलीले अध्यक्ष मोक्तानमाथि कारवाही गर्नुको साटो एउटा उत्तरपुस्तिका रद्द गरेर उनलाई संरक्षण गरेको पाइएको छ ।

सो विद्यालयमा गडबडी भएको सुचना पाएपछि प्रमुख जिल्ला अधिकारी सुनिता न्यौपाने, प्रहरी उपरिक्षक राजकुमार सिलवाल र शिक्षा समन्वय कार्यालय सिन्धुलीका प्रमुख निर्मल घिमिरे समेत अनुगमनका लागि आइपुगेका थिए । उनीहरु विद्यालयमै हुँदा एउटै सिम्बोल नम्बरका दुई उत्तरपुस्तिका समातिएका हुन् ।

यसअघिका दुई परीक्षामा गाउँपालिका अध्यक्षलाई लाइब्रेरीमा एक्लै राखेर परीक्षा दिन लगाइएको दावी समेत गरिएको छ । हिजो भने उनलाई अन्य परीक्षार्थीसँगै राखिएको थियो । सिन्धुलीबाट परीक्षा अनुगमनमा हिँडेको प्रजिअसहितको टोली मावि खयरसालमा खाना खाएर परीक्षा सकिने बेला कपिलाकोट केन्द्रमा आइपुगेको थियो । उनीहरु परीक्षा हलभित्र प्रवेश गरेकै समयमा सोही विद्यालयका एक शिक्षकले अध्यक्ष माेक्तानको सिम्बाेल नम्बर लेखिएको कापी काउन्ट गरेर प्याकिङ गर्न लागेका व्यक्तिलाई बुझाउन खोज्दा सो कापी समातिएको थियो ।

बाहिरबाट लेखेर ल्याइएको कापी र परीक्षा हलमा बितरण गरिएको कापी साट्ने क्रममा खेताला परीक्षार्थी (सोही विद्यालयका शिक्षक) ले गार्ड बसेका माझी थरका शिक्षकलाई बुझाएर टाप कसेका थिए । गार्डको हातमा एउटै सिम्बाेल नम्बरका २ वटा कापी फेला परेपछि केन्द्राध्यक्ष रहेकी प्रधानाध्यापक (माओवादी कार्यकर्ता) ले भुलवश बढी कापी बाडिएको भन्दै प्रजिअ न्यौपानसामु कुरा मिलाएकी थिइन् । त्यसपछि शिक्षा समन्वय प्रमुख घिमिरेकै निर्देशनमा एउटा कापीलाई रद्द गरी अध्यक्ष मोक्तान र नक्कली परीक्षार्थीलाई जोगाइएको अनुगमनमा खटिएका एक अधिकारीले बताए ।

‘केही कैफियत अवश्य भएको छ । हामीलाई कारबाही गर्नुपर्यो भनेर आए हेर्छौं । नत्र परिक्षामा भएको अपराध र त्यसलाई के कसो गर्ने भन्ने विषय शिक्षा प्रमुख र प्रमुख जिल्ला अधिकारीको भएकाले हामीले बोलिहाल्न मिल्दैन,’ ती सुरक्षा अधिकारीले भने ।

प्रधानाध्यापक एवम् केन्द्राध्यक्ष बिष्णुमाया योञ्जनले परीक्षाको अन्त्यमा कापी गन्दा एउटा कापी बढी पाइएपछि त्यसलाई रद्ध गरिएको बताइन् । अध्यक्ष माेक्तानले परीक्षामा खेताला भने नराखेको उनले दावी गरिन् ।

‘मोक्तान आफैंले परिक्षा दिनुभएको हो, आजको कापी रद्ध गर्ने क्रममा शिक्षा समन्वय प्रमुख घिमिरे पनि साथमै हुनुहुन्थ्यो,’ उनले भनिन्, ‘मबाट केही कमजोरी भएको छ, यसबाट उत्पन्न समस्याको जिम्मेवारी म आफैं लिन्छु ।’

योञ्जन राजनीतिक आस्थाका आधारमा सिनियरलाई उछिन्दै विद्यालयको प्रअ बनेकी थिइन् ।

पालिका अध्यक्षलाई कहाँ राखेर कसरी परीक्षा दिलाउने र पास गराउने भन्ने सम्मको योजनाबारे इकाई प्रमुख घिमिरे जानकार रहेको विद्यालय स्रोतले बताएको छ । तर घिमिरेले परीक्षा अनुगमन गर्न गएको भए पनि गडबडीबारे जानकारी नभएको बताए ।

प्रमुख जिल्ला अधिकारी सुनीता न्यौपानेले आफूहरु अनुगमनमा जाँदा एउटै नम्बरका दुईवटा कापी भेटिएको स्वीकार गरिन् ।

‘हामी अर्को विद्यालयमा गएर फर्किने क्रममा त्यो विद्यालयमा एउटा कापी बढी भयो भन्ने जानकारी आएपछि त्यहाँ गएका हौं । हामी जाँदा अध्यक्षले नै परीक्षा दिइरहनुभएको थियो । हामीले अर्को परीक्षार्थी राखेको भेटेनौं । तर दुईवटा कपि भेटिएको चाहीँ हो । त्यो कापीलाई रद्द गर्न केन्द्राध्यक्षलाई लेखेर सिलबन्दी गरेर प्रहरीलाई बुझाएर आएका हौं,’ उनले भनिन् ।

दुईवटा कापीमा भएका सिम्बल नम्बर गाउँपालिका अध्यक्षकै हो कि होइन भन्ने विषयमा आफूले बुझिनसकेको न्यौपानेले बताइन् । यस विषयमा आज बैठक बस्ने उनले जानकारी दिइन् । ‘हामीले रेड ह्यान्ड समाएको भन्न मिल्दैन । अनुसन्धान कसरी गर्ने भनेर आज तय गर्छौं,’ उनले भनिन् ।

मोक्तान भन्छन्– विरोधिहरुले षडयन्त्र गरेका हुन्

गाउँपालिका अध्यक्ष मोक्तानले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । उनले अहिलेसम्म तीनवटै परीक्षा आफूले नियमपूर्वक हलमा बसेर दिएको दावी गरे ।

मोक्तानको भनाइ जस्तोको तस्तै–

म विद्यार्थीकै बीचमा बसेर परीक्षा दिइरहेको छु । विरोधीहरुले अनेक दुष्प्रचार गरिरहेका छन् । जुन कापी भेट्टाइयो, त्यो भन्ने चाहीँ मेरो चुनावमा एमालेको प्रतिद्वन्द्वीको आफ्नै ज्वाईंको हातबाट भेटिएको भन्ने आएको छ । मलाई फसाउने षडयन्त्र गरिएको हो जस्तो लाग्छ ।
हिजो सामाजिक विषय त्यति ठूलो विषय पनि होइन । हामीले समाजमा गर्दै आएको कामको विषयमा त लेख्ने हो । कसरी समाजलाई विकास गर्न सकिन्छ भनेर लेख्ने त हो । आफैंले लेख्न सकिहाल्छु ।

मैले लेखेर बुझाएर पनि ४५ मिनेटपछि त्यो कुराहरु बाहिर आयो । परीक्षा रद्द भएको थाहा छैन । म परीक्षा दिएर आएपछि सुनेको कुरा हो । बढी भेटिएको एउटा कपि रद्द भयो भन्ने सुन्यो हो । भोलि पनि बिहान परीक्षा दिन जान्छु । रेगुलर पढाइ हो । योभन्दा अघिल्लो वर्ष ११ को परीक्षा पनि आफैं दिएको हुँ ।

चुनावमा मलाई विरोधिहरुले अनपढ, जंगली भनेर प्रचार गरे । त्यसैको इखले गर्दा पनि अलिकति पढौं भनेर लागेको हो । योपटक कतिवटा विषय पास हुन्छु, अर्कोपटक फेरि दिउँला भनेर सोचेको छु । म फेरि गाडी लिएर गएको छु । आउँदा पनि गाडी बोलाएर आउँछु । सबैले देखिरहेका छन् ।

लाइब्रेरीमा एक्लै राखेर परीक्षा दिन लगाएको भन्ने पनि पूरै झूटो हो । विद्यार्थीहरुलाई नै सोध्दा हुन्छ । उनीहरुले सीडीओ एसपीसाबहरुलाई पनि भनेका छन् । सीडीओसाबहरुले पनि मेरो ह्यान्डराइटिङ हेरेर तपाईंको अक्षर साह्रै राम्रो रहेछ, पास मार्क त ल्याउनुहुन्छ होला भन्नुभएको थियो । कोशिस गर्ने हो । तर, राजनीतिमा धेरै विरोधिहरु हुँदा रहेछन् । खोई के भन्नु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर