आफ्नै पार्टीले समर्थन गरेको सरकारविरुद्ध कांग्रेस सांसद पुलमुनि आमरण अनशनमा (भिडिओ) – Nepal Press

आफ्नै पार्टीले समर्थन गरेको सरकारविरुद्ध कांग्रेस सांसद पुलमुनि आमरण अनशनमा (भिडिओ)

रुपन्देही । पूर्व सिँचाइ मन्त्री तथा बर्दिया क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतम सरकारविरुद्ध आमरण अनशनमा बसेका छन् ।

सांसद गौतम कांग्रेस केन्द्रीय सदस्य हुन् । २०७४ सालको संसदीय चुनावमा वामदेव गौतमलाई हराएर उनी चर्चामा आएका थिए ।

जिल्ला प्रशासन कार्यालय बर्दियामार्फत बर्दियाको विकासका लागि १५ बुँदे मागसहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएर उनी बबई नदीको जब्दीघाटमा भासिएको पुलमुनि नदी तटमा अनशन बसेका हुन्।

शनिवार साँझदेखि अनशनमा बसेका गौतमले जब्दीघाटमा भत्किएको पुल हटाएर तुरुन्त नयाँ पुल निर्माण गर्नुपर्ने माग राखेका छन् ।

बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दिघाटको पुल २०७४ सालमा भत्किएपनि सो ठाउँमा नयाँ पुल निर्माणका लागि सरकारले कुनै चासो नदेखाएको गौतमको भनाइ छ।

त्यसैगरी गुलरियामा तटबन्धको बाँकी काम नियमित गर्नुपर्ने, राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजना तीन वर्षमा पूरा गर्न बजेट सुनिश्चित गर्नुपर्ने, भुरीगाउँ तेलपानी सुर्खेत सडक यसै आर्थिक वर्षदेखि निर्माण सुरु गर्नुपर्ने लगायतका माग राख्दै उनी अनशनमा बसेका हुन्।

यी समस्याबारे सदनबाट जति माग राखे पनि पूरा नभएपछि अनशन बस्न बाध्य भएको गौतमले बताए।

‘म नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुँ, मेरै पार्टीको सरकार छ, यहाँको विकासका विषयमा धेरैपटक पार्लियामेन्टमा कुरा उठाएपनि समाधान भएन, बाध्य भएर यो अनशन थालेको हुँ, समस्या समाधान नभएसम्म आन्दोलन जारी रहन्छ’ उनले भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर