एमालेको नामबाट ‘कम्युनिष्ट’ शब्द हटाउन सुवास देवकोटाको सुझाव
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य सुवास देवकोटाले पार्टीको नामबाट ‘कम्युनिष्ट’ शब्द हटाउन सुझाव दिएका छन् ।
हालैको केन्द्रीय कमिटी बैठकमा उनले एमालेको सिद्धान्त र संगठनको अन्तरवस्तु जनताको बहुदलीय जनवाद र आन्दोलनको विरासत पनि यही हो भनेका छन् ।
‘हामीले लिने भविष्यको बाटो पनि यसैमा निहित छ । त्यसैले हाम्रो नाम यसैलाई झल्काउने हुनुपर्छ । नकि, एकदलीय, अति केन्द्रिकृत, बन्द समाज निर्माण गर्ने संयन्त्र भनेर चिनिने कम्युनिष्ट पार्टी’, देवकोटाले आफ्नो सुझावमा लेखेका छन् ।
सिद्धान्तअनुसार संगठन हुनुपर्ने विषय सातौं महाधिवेशनमा उठेको र आठौं महाधिवेशनले सम्पूर्ण संगठन संयन्त्रलाई बहुपदीयमा लगेकोमा संगठनको लोकतान्त्रीकरणको काम समयानुकूल बन्न बाँकी रहेको नेता देवकोटाले औंल्याएका छन् ।
उनले सहभागिताविनाको निर्णय प्रक्रियाले पार्टी सदस्यहरूले निर्णयमा अपनत्व नलिने व्यवहारमा देखिन थालेको टिप्पणीसमेत गरेका छन् ।
‘एमालेले लोकतान्त्रिक सिद्धान्त, त्यस अनुसारको संगठन प्रणाली अंगीकार गरेको तीन दशक बढइ भइसक्दा पनि एकदलीय र अधिनायकवादी प्रणाली / व्यवस्था अंगिकार गरेका संसारभरका सबैको दोष अझै बोक्नुपरिरहेको छ । त्यही कारण अन्तराष्ट्रिय समुदायको कर्के व्यवहार बेहोरिरहनुपरेको छ’, देवकोटाले भनेका छन्, ‘यता देशभित्र नीति / कार्यक्रम, सरकारमा हुँदा गरेका काम, नेताहरूको व्यक्तित्व र शैली, कार्यकर्ताहरुको जिवनशैली / व्यवहार मनपराउनेहरू पनि एकदलीय अधिनायकवाद ल्याउलान्, बहुलता समाप्त पार्लान् भन्ने आशंकाले हाम्रो आन्दोलनमा जोडिन हिचकिचाइरहेका छन् ।’
उनले थपेका छन्, ‘जननेता मदन भण्डारीले व्याख्या गर्नुभएको रूप र सारलाई राम्रोसँग आत्मासात् गर्ने हो भने हामीले मानेको सिद्धान्त, हामी हिँडेको बाटो, हामीले गरेका काम र हामी संगठित भएको ढाँचा सार हो भने नाम रूप हो । सारलाई बोक्न नसक्ने रूप किन बोकिरहने ?’
कस्ताकस्ता खुश्चेब भुषडीलाई केन्द्रीय सदस्य बनाउछ हो एमालेले। थुक्क गति!