‘एक घर एक स्काउट’ को अवधारणाले जवाफदेही युवाहरू उत्पादन गर्न सकिन्छ : मन्त्री लिम्बू (भिडिओ)
काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले युवाहरूलाई राष्ट्र विकासको मूलधारमा जोड्ने माध्यमको रूपमा स्काउटलाई उपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल स्काउटका संरक्षक समेत रहेका मन्त्री लिम्बुले ‘एक घर: एक स्काउट’को अवधारणा अनुसार अघि बढ्दा देश र जनताप्रति जबाफदेही युवाहरू उत्पादन गर्न सकिने समेत स्पष्ट पारे ।
नेपाल स्काउटले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले स्काउटलाई तल्लो तहसम्म लैजान सक्ने हो भने युवाहरूलाई अनुशासित र राष्ट्रपति जिम्मेवार बनाउन सहज हुने स्मरण गराए ।
मन्त्री लिम्बुले नेपाल स्काउटको प्रगतिका लागि आफूले त्यससँग सम्बन्धित कानूनहरुलाई समयानुकूल हुने गरी परिमार्जन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
मन्त्री लिम्बुले मुलुकलाई समृद्ध बनाउन नेपाल स्काउटले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने विश्वास समेत व्यक्त गरे ।
नेपाल स्काउट अन्तर्राष्ट्रिय संस्था पनि भएकाले विभिन्न अन्तर्राष्ट्रिय निकायहरूसँग छलफल गरेर मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनका लागि पहल गर्न सकिने उनको भनाई थियो ।
मन्त्री लिम्बुले मुलुकको समृद्धि र विकासका लागि संकल्प लिएर अघि बढ्न पनि नेपाल स्काउटलाई आग्रह गरे ।
कार्यक्रममा मन्त्री लिम्बुलाई नेपाल स्काउटको संरक्षकको रूपमा दीक्षित गरिएको थियो ।
तस्बिरहरु : गाैरव पाैडेल