फरार बलात्कार आरोपी युवक ६ दिनपछि प्रकाउ
सुर्खेत । कालिकोटको पलाता गाउँपालिका–६ सैनका ३१ वर्षीया बलात्कार आरोपी शंका बुढा प्रकाउ परेका छन् । उनी फरार भएको ६ दिनपछि प्रकाउ परेका हुन् ।
वैशाख २५ गते बुढालाई प्रहरीले प्रकाउ गर्न जाँदा स्थानीय र उनका आफन्तले प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए ।
बुढालाई पक्राउ गरी कालिकोट सदरमुकाम ल्याउँदै गर्दा प्रहरीलाई नै कुटपिट गरी हतकडीसहित फरार भएका हुन् ।
बुढालाई वडा नम्बर ७ को दुर्सी खोलाबाट भाग्दै गर्दा आइतबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका निमित्त प्रमुख प्रहरी निरीक्षक शुवराज बमले जानकारी दिएका छन् ।
बुढाले गत असोज ३१ गते गाउँकै एक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । पीडित परिवारले गत कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको थियो । त्यसयता उनी फरार हुँदै आएका थिए । ।
बुढाले पीडित महिलाका आफन्तलाई मारेर मात्र जेल जाने भन्दै धम्की दिदै आएका थिए । बुढालाई पक्राउ गर्न जाँदा प्रहरी र पीडित परिवारमाथि आक्रमण गर्ने उनका ७ जना आफन्तलाई प्रहरीले पक्राउ गरेको थियो ।
उनका आफन्त २८ वर्षीय मैना बम बुढा, सोही ठाउँका ४२ वर्षीया जानकी बुढा, ६० वर्षीया जैपुरा बुढा, ५९ वर्षीया कलशा बम, ६१ वर्षीया जनकला बुढा र ३५ वर्षीय जल बुढा र १५ वर्षीय एक बालकलाई प्रहरीले पक्राउ गरी ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा लगाइएको छ ।