खाणले कागज चपाएका थिए कि च्यातेका ? दुई समाचारले प्रहरीका दुई युनिटमा खल्बली – Nepal Press

खाणले कागज चपाएका थिए कि च्यातेका ? दुई समाचारले प्रहरीका दुई युनिटमा खल्बली

काठमाडौं । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ गर्न जाने क्रममा पूर्वगृहमन्त्री बालकृष्ण खाणले एउटा ‘गोप्य कागज’ प्रहरीको हातबाट खोसेर चपाइदिएको समाचार हिजो नयाँ पत्रिका पत्रिकाले प्रकाशित गरेको थियो । यो समाचारका कारण शरणार्थी प्रकरणको अनुसन्धानमा संलग्न प्रहरीका दुईवटा युनिट तरंगित बनेका छन् ।

काठमाडौं प्रहरी परिसरका अधिकारी यो समाचारप्रति आक्रोशित देखिन्छन् । जुन इन्स्पेक्टरको हातबाट खाणले कागज खोसे भनिएको छ, उनी परिसरका हुन् । परिसरले समाचारका विषयमा कुनै आधिकारिक प्रतिक्रिया जनाएको छैन । तर, अनौपचारिक कुराकानीमा परिसरका अधिकृतहरु समाचारको सत्य नभएको बताउँछन् । हुँदै नभएको घटना समाचार बनाइएको दाबी उनीहरुको छ ।

यता काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भने आफूलाई जोडेर एक अनलाइनले लेखेको अर्को समाचारको खण्डन गरेको छ । कार्यालयले नयाँ पत्रिकाको समाचार वास्ता नगरी ‘रिपब्लिका दैनिक डटकम’ नामक अनलाइनले लेखेको ‘बालकृष्ण खाणले कागज चपाएर निलेको कथाको के हो वास्तविकता ?’ शीर्षकको समाचारमा प्रतिक्रिया जनाएको हो । उक्त समाचारमा ‘काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुखले राष्ट्रिय दैनिकमा झूटो समाचार लेखाएको’ दाबी गरिएको छ ।

यस विषयमा विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मुद्दाको निष्पक्ष अनुसन्धानलाई प्रभाव पार्ने मनासायले झूटो, आधारहीन सूचना सम्प्रेषण गरिएको बताएको छ ।

रिपब्लिका दैनिकको समाचारमा खाणले आफ्नै हातमा रहेको कागज चपाएको नभएर चार टुक्रा पारेर भूईमा फालेको र मुचुल्का गर्दा त्यसलाई उठाएर प्रहरी कार्यालयमा ल्याइएको पनि उल्लेख छ । कार्यालयको विज्ञप्तिमा यो विषयमा केही उल्लेख छैन ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख श्याम ज्ञवालीले अनुसन्धानमा सबैले प्रहरीलाई सहयोग गर्नुपर्ने बताए ।

‘अहिले अनुसन्धान भइरहेको छ । त्यसलाई प्रभावित पार्ने गरी काम हुनु राम्रो होइन’, एआईजी ज्ञवालीले भने ।

दुई समाचारलाई लिएर परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक अर्काप्रति शंका गर्ने स्थिति देखिएको छ । नयाँ पत्रिकालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले सूचना दिएको आशंका परिसरका अधिकारीहरुलाई छ । यस्तै त्यसको प्रतिवादमा रिपब्लिका दैनिकडटकममा परिसरले समाचार लेखाएको आशंका अपराध अनुसन्धानका अधिकारीहरुमा छ ।

त्यसो त यी दुई कार्यालयबीच कार्यसम्पादनमा सधैं प्रतिस्पर्धा र संघर्ष हुने गरेको छ । कसले पहिला अभियुक्त पत्ता लगाउने र पक्राउ गर्ने भन्नेमा होड प्रायः देखिन्छ । स्रोतका अनुसार अहिले काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रमुख मनोज केसी र काठमाडौं प्रहरी परिसरका प्रमुख दानबहादुर कार्की जुँगाको लडाइँमा छन् ।

उनीहरु एउटै भर्ना ब्याचका प्रहरी अधिकृत हुन् । आफ्नो भर्ना ब्याचबाट नेपाली प्रहरीको नेतृत्व गर्ने होडमा उनीहरु आकांक्षी पनि देखिन्छन् । २०५४ सालमा उनीहरु प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका हुन् । गत असारमा आफ्नो ब्याचबाट एसएसपीमा बढु्वा हुँदा कार्की पहिलो नम्बर र केसी दोस्रो नम्बरमा थिए ।

स्रोतका अनुसार भुटानी शरणार्थी प्रकरणमा यी दुई प्रहरी अधिकृत केही समयअघि आईजीपी बसन्तबहादुर कुँवरसहितको बैठकमै आरोप–प्रत्यारोपमा उत्रिएका थिए । त्यसअघि कपनमा दिनदहाडै पसलमा भएको हत्याको अनुसन्धानमा पनि यी दुई युनिट प्रतिस्पर्धामा उत्रिएका थिए ।

पछि काठमाडौं उपत्यका कार्यालय हुँदै प्रहरी प्रधान कार्यालयसम्मले अनुसन्धानमा हस्तक्षेप गर्नुपरेको थियो ।

भुटानी शरणार्थी प्रकरणमा काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले अनुसन्धान सुरु गरी मान्छे पक्राउ गरेको हो । तर, सो कार्यालय आफैंले अनुसन्धान गरेर मुद्दा नचलाउने भएकाले त्यसका लागि काठमाडौं प्रहरी परिसरलाई बुझाउनुपर्छ ।

अहिले त्यही तरिकाले काठमाडौं प्रहरी परिसरले अनुसन्धान गरिरहेको हो । अनुसन्धानका क्रममा खुलेका अन्य मान्छे पक्राउमा भने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पनि सहयोग गरिरहेको छ ।

‘जसले काम गरे पनि यो प्रकरण प्रहरीले आफ्नो इमेज सुधार गर्ने र जनविश्वास जित्ने अवसर हो’, प्रहरी प्रधान कार्यालयका एक अधिकृत भन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर