नेपाली मूर्तिहरु कसरी विदेश पुगे ? ठ्याक्क भन्न सकिँदैन : महावाणिज्य दूत ऋषि ढकाल (भिडिओ)
काठमाडौं । केही समय अगाडि नेपालका सञ्चारमाध्यमहरुमा आएको एउटा समाचारले राम्रै चर्चा बटुल्यो । समाचार थियो, ५० वर्षअघि चोरी भएका १२ सय वर्ष पुराना मूर्ति अमेरिकाबाट नेपाल फर्काइए । हाल उक्त मूर्तिहरु पुरातत्व विभागको जिम्मा लगाइएको छ ।
चोरीको माध्यमबाट अमेरिका पुर्याइएका ती मूर्तिहरुलाई नेपाल फिर्ता गराउन क्यालिफोर्नियास्थित नेपाली महावाणिज्य दूत ऋषि ढकालले महत्वपूर्ण भूमिका निर्वाह गरे । विगत दुई दशकदेखि अमेरिकामा रहेर महावाणिज्यदूतको रुपमा क्रियाशील ढकाल एक सफल व्यापारीसमेत हुन् । उनै सफल व्यवसायी तथा क्यालिफोर्नियास्थित नेपाली महावाणिज्यदूत ऋषि ढकालसँग अमेरिकाका विभिन्न स्थानहरुमा नेपालका पुरातन कलाकृति भेटिने तथा फिर्ता हुने ट्रेण्ड, नेपाली व्यवसायीका निम्ति अमेरिकामा व्यापार व्यवसायको अवसर तथा चुनौतीलगायतका विषयवस्तुमा रहेर गरिएको कुराकानीः
– विशेष गरेर २०-३० को दशकमा नेपालबाट चोरी भएका विभिन्न कलाकृतिहरु पछिल्लो समय नेपाल फिर्ता हुने सुखद ट्रेण्ड सुरु भएको छ । यसै क्रममा तपाईंको अग्रसरतामा हलिउड निर्माताको घरमा रहेका नेपालका दुई पुराना मूर्ति नेपाल फिर्ता भएको छ । यसरी नेपालबाट चोरी तथा अन्य कुनै माध्यमबाट विदेश पुगेका मूर्तिहरुलाई नेपाल फर्काउन कसरी सम्भव हुँदोरहेछ ?
पछिल्लो समय एम्बेसीले यस विषयमा धेरै पहल गर्दै आएको छ । पहिला पनि यस किसिमका पहल भएका थिए । यद्यपि हालको समयमा विभिन्न आर्ट एजेन्सीहरुको सहयोगमा अमेरिकाका विभिन्न म्युजियम तथा अन्य ठाउँमा एम्बेसीले ‘रिच आउट’ गर्ने र त्यहाँ भएका कलाकृति नेपालका हुन् कि हैनन् भनेर अध्ययन गर्ने गरिएको छ । सोपश्चात ती कलाकृतिहरु नेपालकै हुन् भन्ने ठहर भएमा सप्रमाण यी कृतिहरु हाम्रा हुन्, हामीलाई फिर्ता देऊ भनेर पहल सुरु हुन्छ ।
यसका लागि विभिन्न आर्ट एजेन्सी र राजदूतावासको सहकार्य हुन्छ । हालै मेरो सक्रियतामा फिर्ता भएका नेपालका मूर्तिहरुको सन्दर्भमा ‘लस्ट आट्र्स अफ नेपाल’ भन्ने संस्था वा अभियन्ताहरुको समूहले हलिउड निर्माता माइकल फिलिप्सकोमा यी मूर्तिहरु रहेको भन्ने सार्वजनिक गरेसँगै एक जना प्रोफ्रेसरले फिलिप्सलाई क्यान्ट्याक्ट गर्नुभयो र फिलिप्सले पनि नेपालको सम्पत्ति फिर्ता गर्न म तयार छु भनेपछि त्यसलाई नेपाल फिर्ता गर्न दूतावासमार्फत मैले सहजीकरण गरेको हुँ ।
– नेपालका मूर्तिहरु यसरी विदेशी नागरिककै घरघरमा कसरी पुग्दा रहेछन् ?
मूर्ति ठ्याक्क यसरी विदेश पुग्यो भनेर त भन्न सकिँदैन । तर, सामान्य रुपमा अवैध बाटो हुँदै विदेशी भूमिमा पुग्ने र त्यहाँबाट विभिन्न अक्सनको माध्यमबाट कुनै संग्रहालय वा व्यक्तिको घरमा पुग्ने गरेको अनुमान गर्न सकिन्छ ।
अन्तर्राष्ट्रिय कानूनअनुसार कुनै पनि कलाकृति हाम्रो सम्पत्ति हो भन्ने प्रमाणित गर्न सके सो सम्पत्तिलाई नेपाल फिर्ता ल्याउन कूटनैतिक पहल गर्न सकिन्छ । अन्तर्राष्ट्रिय कानूनअनुसार नै कुनै पनि देशको पुरातात्विक महत्वको सामान हो भन्ने प्रमाणित भएको खण्डमा सो सामान फिर्ता गरिनुपर्छ भन्ने प्रावधान छ ।
– मूर्तिहरु यति पुरानो हो भन्ने वैधानिकता प्रदान गर्ने तरिका चाहिँ के हुँदोरहेछ ?
विदेशमा रहेका ट्रेडर्सहरुले कुन पद्धति प्रयोग गर्छन्, त्यो यकिनका साथ भन्न सकिँदैन । नेपालको सन्दर्भमा भने पुरातत्व विभागले यो काम गर्छ ।
– हालको समयमा नेपाल फिर्ता हुने तयारीमा रहेका अन्य कुनै कलाकृतिहरु छन् ?
माइकल फिलिप्समार्फत नेपाल आएका मूर्ति गत एक वर्षको सातौं मूर्ति हो । त्योभन्दा अगाडि डलास म्युजियमबाट लक्ष्मीनारायणको मूर्ति नेपाल फिर्ता पठाइएको थियो । डेनभरबाट उमामहेश्वरको मूर्ति पनि फिर्ता भएको छ । अरु प्राइभेट कलेक्टरमार्फत पनि नेपालका मूर्तिहरु फिर्ता भएका छन् । वर्तमान अवस्थामा चाहिँ ‘स्ट्याण्डिङ बुद्ध’ र नृत्यदेवीको मूर्ति पनि नेपाल फिर्ता हुने क्रममा छ ।
– विदेशका विभिन्न ठाउँमा भेटिने हाम्रा कलाकृतिहरु सहृदय मानिसले फिर्ता गर्न चाहेमात्र फिर्ता हुने हो कि अन्य कुनै प्रावधान पनि छ ?
अन्तर्राष्ट्रिय कानूनअनुसार कुनै पनि कलाकृति हाम्रो सम्पत्ति हो भन्ने प्रमाणित गर्न सके सो सम्पत्तिलाई नेपाल फिर्ता ल्याउन कूटनैतिक पहल गर्न सकिन्छ । अन्तर्राष्ट्रिय कानूनअनुसार नै कुनै पनि देशको पुरातात्विक महत्वको सामान हो भन्ने प्रमाणित भएको खण्डमा सो सामान फिर्ता गरिनुपर्छ भन्ने प्रावधान छ । महत्वपूर्ण कुरा के हो भने हाम्रो सम्पत्ति यो व्यक्ति वा यो संस्थासँग छ है भन्ने सप्रमाण थाहा चाहिँ हुनु पर्यो ।
– अहिले नेपाल र अमेरिकाको व्यापारिक अवस्था के छ ?
जुनसुकै ‘प्रोडक्ट’को लागि अमेरिका आफैंमा एक ठूलो बजार हो । नेपालको हकमा नेपालको गार्मेन्टले कुनै समय अमेरिकामा ठूलो भूमिका खेल्थ्यो । तर, पछि जब मल्टी फाइबर एग्रिमेन्ट टर्मिनेट भयो तब डब्लूटीओमा गयो । त्यसपछि हाम्रो कोटा सकियो र हाम्रा व्यापारीहरु उठे । हाम्रा प्रोडक्ट महँगो भयो । जसका कारण साउथ एसिया आधारित खरिदकर्ताहरुले हाम्रा सामान किन्न छोडे । त्यो समयदेखि नेपाल र अमेरिकाको व्यवसाय ध्वस्त नै भयो भन्नुपर्छ । तर, त्यसो भनिरहँदा म सन् २००६ बाट तयारी पोसाक र लजिस्टिक (ढुवानी) व्यवसायमा संलग्न छु । भन्नुको अर्थ हाम्रो लागि अवसरका सम्पूर्ण ढोकाहरु बन्द भए भन्ने अवस्था होइन ।
म अमेरिका गएपछि गार्मेन्ट व्यवसायमा अलिक बढी केन्द्रित छु । सन् २००६ बाट २०१४ सम्म आइपुग्दा नेपालबाट आयात हुने गार्मेन्टहरुमा हामी एक नम्बर हुन पनि सफल भयौं र सीआईपी अवार्ड पनि लिन सफल भयौं । त्यो एकदम ठूलो नम्बर चाहिँ होइन ।
निर्यात बढाउन सम्भव छ । हामी अन्य धेरै सामान निर्यात गर्न सक्छौं । हामीसँग हाम्रै कच्चापदार्थ छन् । त्यसका लागि निजी क्षेत्र र सरकारी पक्षले सहाकार्य गर्नुपर्छ । नेपालमा बनेका वस्तुको छुट्टै नेपाली ट्रेडमार्क हुनुपर्यो ।
– अमेरिकाले हामीलाई दिएको सुविधालाई सदुपयोग गर्न सकेनौं भनेर बुझ्नुपर्यो हैन ?
हो । हामीले अमेरिकाले दिएको सुविधा सदुपयोग गर्न सकेनौं नै भन्नुपर्छ र यसका पछाडि धेरै कारणहरु छन् । हामीसँग कच्चापदार्थ थिएन । ढुवानी अत्यधिक महँगो छ ।
– अमेरिकासँग पहिलाको जस्तो व्यापारिक सम्बन्ध कायम राख्न अब सम्भव छैन र ?
निर्यात बढाउन सम्भव छ । हामी अन्य धेरै सामान निर्यात गर्न सक्छौं । हामीसँग हाम्रै कच्चापदार्थ छन् । त्यसका लागि निजी क्षेत्र र सरकारी पक्षले सहाकार्य गर्नुपर्छ । नेपालमा बनेका वस्तुको छुट्टै नेपाली ट्रेडमार्क हुनुपर्यो । जस्तै पहिला नेपाली पश्मिना भन्ने थियो । नेपाली कार्पेट भन्ने थियो । कतिपय अवस्थामा हामीले हाम्रा ट्रेडमार्कलाई गुमाउँदै गयौं ।
– तपाईंहरु अमेरिकामा रहेर नेपाली समुदायका लागि गर्दै आएका अन्य कामहरु के के छन् ?
हामी हाम्रो क्षेत्रमा रहनुभएका नेपाली समुदायका सदस्यहरुले भोग्नुपर्ने कागजी प्रक्रियाका झन्झटलाई न्यूनीकरण गर्न पहल गरिरहेका छौं । समयसमयमा हामीले कन्सोलर क्याम्पहरुको आयोजना गर्छौं । व्यापारिक हिसाबले मेला आयोजना गर्ने, सहभागिता जनाउने, नयाँ व्यापारी साथीहरुलाई सहजीकरण गर्नेलगायतका कामहरु गरिरहेका छौं । हामी हाम्रो नेपाली पहिचानलाई कायम राख्न लागिपरेका छौं ।
ए क्लास टुरिस्टहरुको लागि नेपालमा खर्च गराउने पर्याप्त अवसर वा भनौं माध्यम छैनन् । हामीकहाँ थोरै पैसामा धेरै थोक गरेर फर्किन सक्ने वातावारण छ । यस अर्थमा नेपालमा अझै केही खर्च गर्ने वातावरण बनाउन पहल गर्नुपर्छ ।
– अहिले अमेरिकामा अध्ययन गर्न आउने विद्यार्थीहरुको संख्या बढ्दै गएको छ । उनीहरुले विशेष कस्तो खालको समस्या भोग्दा रहेछन् ?
विद्यार्थीको विषयमा भन्नुपर्दा यो अलिक प्राविधिक विषय छ । जति सजिलो गरी हामी नेपालबाट अमेरिका जान्छौं, त्यति सजिलो किसिमको जीवनयापन अमेरिकामा छैन । अहिले अमेरिकाका धेरै राज्यहरुमा नेपाली विद्यार्थी छन् । उनीहरुमध्ये धेरैले अध्ययनको क्षेत्रमा राम्रो गरिरहेका छन् । तर, यसो भनिरहँदा धेरै विद्यार्थीहरुमा व्यवहारिक ज्ञानको भने कमी भएको देख्न सकिन्छ । नेपालमा काम गर्ने बानी नै नभएका विद्यार्थी अमेरिका पुगेर काम गर्ने, आफैं पकाउने, खानेलगायतका व्यवहारिक कुरामा समस्या भोगेको देखिन्छ । यसकारण म नेपाली अभिभावकहरुलाई आफ्ना सन्तानहरुलाई व्यवहारिक कुराहरु पनि सिकाउनु भन्न चाहन्छु ।
– अमेरिकीहरुले नेपालको विषयमा के कस्तो चासो र धारणा राख्छन् ? अमेरिकी पर्यटकलाई अझै उल्लेखनीय मात्रामा नेपाल भित्र्याउन के गर्नुपर्ला ?
नेपालमा अमेरिकाबाट आउने पर्यटक अहिले उल्लेखनीय मात्रामा रहेको छ । हामी नेपालीहरु अमेरिकामा एकदम अतिथि सत्कारमा ध्यान दिने भनेर चिनिन्छौं । हिमशिखर, बुद्ध भूमि, तपो भूमि, नदीनाला इत्यादिमा हामी अगाडि छौं । तर, यस सँगसँगै हामीले पर्यटकलाई पर्याप्त मात्रामा खर्च गर्ने वातावरण दिन अझै सकिरहेका छैनौं । ए क्लास टुरिस्टहरुको लागि नेपालमा खर्च गराउने पर्याप्त अवसर वा भनौं माध्यम छैनन् । हामीकहाँ थोरै पैसामा धेरै थोक गरेर फर्किन सक्ने वातावारण छ । यस अर्थमा नेपालमा अझै केही खर्च गर्ने वातावरण बनाउन पहल गर्नुपर्छ ।