घोराही-तुलसीपुर चार लेन सडक निर्माणसम्बन्धी भारतीय कम्पनीसँगको सम्झौता खारेज – Nepal Press

घोराही-तुलसीपुर चार लेन सडक निर्माणसम्बन्धी भारतीय कम्पनीसँगको सम्झौता खारेज

रुपन्देही । निर्माण सुरु भएको ६ वर्षदेखि अलपत्र दाङको घोराही-तुलसीपुर चार लेन सडक निर्माणको सम्झौता खारेज भएको छ । निर्माणको ठेक्का पाएको भारतीय कम्पनीले लामो समयदेखि सडक अलपत्र पारेपछि सरकारले सम्झौता खारेज गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सम्झौता खारेज भएको र अब नयाँ ढंगले निर्माण प्रक्रिया अघि बढ्ने जनाएकी छन् ।

योसँगै अब सरकारले सडक मर्मत र निर्माण गर्ने बाटो खुलेको छ । जसअनुसार सडक डिभिजन कार्यालयले वर्षातअघि नै मर्मत सुधार गर्ने र नयाँ टेण्डर प्रक्रिया अघि बढाइने उनले बताइन् ।

मन्त्री शर्मा दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । यो सडक निर्माण गर्ने जिम्मा भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टले पाएको थियो ।

यसअघि निर्माण अलपत्र पारेको भन्दै घोराही-तुलसीपुर चार लेन ठेक्का रद्द प्रक्रिया अघि बढेको थियो । चार लेन परियोजना कार्यालय लमहीले तीन महिनाअघि सूचना प्रकाशित गरी ठेक्का रद्द गर्न १४ दिने सूचना जारी गरेर प्रक्रियामा लगेको थियो ।

ठेक्का रद्द गर्नु नपर्ने कारणसहित सम्बन्धित ठेकेदार कम्पनीलाई सम्पर्क गर्न सूचना जारी गरे पनि त्यसको उपयुक्त जवाफ नआएपछि खारेजीको प्रक्रियामा लगिएको हो । सो परियोजनाको प्रमुख रहेर केही दिनअघि बिदाई भएका इञ्जिनियर आशिष थापा मगरका अनुसार एक साताअघि ठेक्का सम्झौता रद्द भएको हो ।

‘म आफैं ठेक्का प्रक्रिया रद्द सूचना जारी गरेर हिंड्ने तयारीमा थिएँ, मेरो सरुवा भएर जानुअघि नै सबै प्रक्रिया सकिएको थियो, निर्णय गराएर सूचना प्रकाशन गर्न बाँकी थियो, त्यो पनि पूरा भएको छ’, उनले भने ।

चार लेन ठेक्काको पटक-पटक गरी चौथो पटक म्याद थप गरिएको थियो । त्यो अवधि वि.सं २०८० असारसम्म थियो । तर, त्यो अवधिमा ठेक्का लिएको कम्पनीले काम गर्नसक्ने सम्भावना नै नभएपछि ठेक्का तोडिएको बताइएको छ । चार लेनको ठेक्का भारतीय तथ्य इन्जिनियरिङ एन्ड इन्फ्राले लिए पनि उक्त कम्पनीले पेटी ठेकेदारमार्फत काम गर्दै आएको थियो ।

आयोजनाका निवर्तमान प्रमुख थापाका अनुसार अन्तिम समयसम्म आयोजनाको साढे ९ प्रतिशत काम सकिएको छ । जसको वित्तीय प्रगति ५ प्रतिशतमात्रै रहेको छ ।

उनको सरुवा भएसँगै अहिले यो आयोजना कपिलवस्तुको शिभपुर डिभिजन सडकका प्रमुखलाई हेर्ने जिम्मेवारी दिइएको छ । ठेक्का रद्द भएसँगै अब नयाँ ठेक्कामा लैजाने गरी प्रक्रिया सुरु गरिएको आयोजनाले जनाएको छ ।

यो बीचमा आठजना पेटी ठेकेदारलाई काम दिएको भए पनि निर्माण सुरु भएको पाँच वर्षसम्म ९ प्रतिशतभन्दा बढी काम भएन । यसले गर्दा यस क्षेत्रका जनप्रतिनिधिविरुद्ध पनि स्थानीयले आन्दोलन घोषणा गरेका थिए । सडक निर्माणका लागि विभिन्न संघसंस्था तथा राजनीतिक दलले समयमा काम गर्न दबाब दिँदै काम गर्न नसके ठेक्का तोड्नुपर्ने माग राख्दै आएका थिए । पटक-पटक जिल्ला प्रशासन कार्यालय दाङ र जिल्ला समन्वय समितिको पहलमा छलफल भइरहेका थिए ।

पटक-पटक ठेकेदार कम्पनीलाई तोकिएको अवधिमा काम सक्ने गरी लिखित कार्यतालिका र प्रतिबद्धता पेस गर्न परियोजना कार्यालयले सूचना जारी गरेको थियो । त्यसबीचमा ठेकेदार कम्पनीले लिखित र मौखिक प्रतिबद्धता जनाए पनि काम हुन नसकेपछि ठेक्का तोडिएको छ ।

चार लेन सडक अलपत्र हुँदा अहिले नागरिकले सास्ती खेप्नुपरेको छ । सडकमा आवतजावत गर्दा यात्रु, सडक वरपरका बासिन्दालगायतले निकै सास्ती खेप्नुपरेको थियो ।

घोराही-तुलसीपुर चार लेनको काम २०७५ माघदेखि सुरु भएको थियो । तीस महिनामा काम सक्ने गरी सम्झौता भएको थियो ।

विसं २०७८ जेठ ६ गतेभित्र काम सक्नुपर्ने भए पनि त्यसो हुन सकेन । यो समयमा ६ प्रतिशतभन्दा बढी प्रगति हुन सकेको थिएन । त्यसपछि २०७८ साउन २७ गतेसम्म काम सक्ने गरी पहिलो पटक र २०७८ पुस २८ गते सक्ने गरी दोस्रो पटक म्याद थप भएको थियो ।

तर, काम अघि बढ्न नसकेपछि तेस्रो पटक २०७९ वैशाख २९ गते सक्ने गरी म्याद थप भएको थियो । त्यो समयमा पनि ९ प्रतिशतभन्दा बढी काम हुन सकेन । खरिद ऐनको १२औं संशोधनले चौथो पटकका लागि २०८० असारसम्म स्वतः म्याद थप भए पनि त्यो समयसम्म गर्ने कामको पूर्वाधार तयार नभएपछि ठेक्का रद्द गरिएको छ ।

सुरुमा अष्टभैरव निर्माण सेवाका अनुप पाण्डेले ठेक्का पाए । त्यसपछि सुवास श्रेष्ठ, जनक डाँगीले पेटी ठेकेदारका रुपमा जिम्मा पाएका थिए । त्यसपछि पुनः अनुप पाण्डे आए । उनले पनि गर्न नसकेपछि एकेन्द्र खड्का, विजय पाठक र रोशन श्रेष्ठले पनि पेटी ठेक्का पाए । उनीहरूबाट पनि काम हुन नसकेपछि अहिले सुनिलजङ्ग रायमाझी आएका थिए । तोकिएको समयमा ठेक्काको ३० प्रतिशत काम नसकेकाले जरिवाना पनि गरिएको थियो ।

भारतीय एक्जिम बैंकको एक करोड २१ लाख ८२ हजार ३०३ अमेरिकी डलर (एक अर्ब २३ करोड) सहयोगमा चार लेन सडक निर्माण हुन लागेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *