रास्वपाकी ‘कन्ट्रोभर्सी गर्ल’
काठमाडौं । यतिबेला संसदमा सबैभन्दा सक्रिय र ‘भोकल’ कुन पार्टीका सांसदहरू छन् भन्ने प्रश्न गर्दा स्वतः उत्तर आउँछ, राष्ट्रिय स्वतन्त्र पार्टी । बैठकमा नियमित उपस्थित हुने तथा तयारीका साथ प्रस्तुत हुने कारणले गर्दा रास्वपा सांसदहरूले मिडियाको पनि ध्यानाकर्षण गरिरहेका हुन्छन् ।
वर्तमान संसदमा प्रभावकारी उपस्थिति जनाइरहेका रास्वपाका सांसदहरुमध्ये एक हुन्, सुमना श्रेष्ठ । उनी पनि हरेक विषयवस्तुमा तयारीका साथ संसद बैठकमा बोल्ने गर्छिन् । तर, राजनीतिक अपरिपक्वता र उग्र महिलावादी रुझानले गर्दा उनी बारम्बार ‘कन्ट्रोभर्सी’ मा परिरहेकी छन् । उनलाई रास्वपाकी ‘कन्ट्रोभर्सी गर्ल’ कै उपमा दिँदा पनि फरक नपर्ने भएको छ । कतिले चाहिँ उनलाई ‘एटेन्सन सिकर’ का रूपमा पनि चित्रण गर्न थालेका छन् ।
३७ वर्षीया सुमना रास्वपाकी समानुपातिक सांसद हुन् । पार्टी केन्द्रीय सदस्यसमेत रहेकी उनलाई आदिवासी जनजाति क्लस्टरबाट सांसद बनाइएको हो । उनीसँग बलियो शैक्षिक पृष्ठभूमि छ ।
सुमनाको आफ्नै वेबसाइटमा उल्लेख भएअनुसार अमेरिकाको मासाचुसट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमाईटी) स्लोन स्कूल अफ म्यानेजमेन्टबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर (एमबीए) गरेकी छिन् । त्यसभन्दा अघि उनले अमेरिकाकै ब्रिन मार कलेजबाट अर्थशास्त्रमा र ह्याभरफर्ड कलेजबाट गणितमा स्नातक गरेकी हुन् ।
२०७२ सालभन्दा अघि सुमना अमेरिकास्थित बोस्टन कन्सल्टिङ ग्रूप (BCG) मा परामर्शदाताका रूपमा कार्यरत थिइन् । त्यसअघि ट्रेड अनालिस्ट (वाणिज्य विश्लेषक) का रूपमा सिटीग्रूपमा समेत काम गरेकी थिइन् । २०७२ सालमा नेपालमा महाभूकम्प आएपछि नेपालमा विश्व खाद्य कार्यक्रम (WFP) सँग काम गर्न बोस्टन कन्सल्टिङ ग्रूप (BCG) ले उनलाई नेपाल पठाएको थियो । त्यसपछि उनी अमेरिका फर्किइनन् ।
रास्वपामा जोडिनुअघि सुमनासँग राजनीतिक अनुभव भने शून्य थियो । विभिन्न सामाजिक अभियानहरूमा सक्रिय रहेकी उनलाई रास्वपाले आफ्नो क्षेत्रको विज्ञता हेरेर सांसद बनाएको हो ।
संसदमा सुमनाले थुप्रै मुद्दाहरूमा बोलेकी छन् । गम्भीर विषयवस्तुको पनि उठान गरेकी छन् । तर, केही विषयमा हचुवा अभिव्यक्ति र प्रतिक्रियाले गर्दा उनका गम्भीर सम्बोधनहरू ओझेलमा परेका छन् । यहाँ तीनवटा प्रसंगको चर्चा गरिएको छ, जसलाई लिएर सुमनाले अत्यधिक प्रतिक्रिया र ट्रोलको सामना गर्नुपर्यो ।
१. महिलालाई चेली नभनौं
गत वर्ष ७ माघमा बसेको प्रतिनिधिसभा बैठकमा सुमनाले आफ्नो पार्टीबाट उपसभामुखको उम्मेदवार बनेकी इन्दिरा रानाको समर्थनमा सांसदमा बोलेकी थिइन् । उक्त सम्बोधनमा उनले महिलालाई प्रयोग गरिने ‘चेली’ शब्दलाई लिएर आपत्ति जनाइन्, जसले सामाजिक सञ्जालमा राम्रै बहस छेडिएको थियो ।
सुमनाले भनेकी थिइन्, ‘यो सदनमा धेरैपटक सुनियो चेली । महिलाहरूलाई, महिला नेतृहरूलाई चेली भनेपछि के पुरुषहरूलाई चेला भन्छौँ रु भन्या सुन्या त छैनौँ । त्यसकारण कृपया मेरो आह्वान छ, महिला नेतृलाई सम्बोधन गर्दा चेली नभनियोस्, यदि आत्मियता नै देखाउनु छ भने ३३ प्रतिशत न्यूनतम हो, ५० प्रतिशत सदस्य यो सदनमा पठाइयोस् ।’
महिलालाई चेली नभन्न आह्वान गर्दै गर्दा सुमनाले बलियो तर्क दिन सकिनन् । यहाँ उनको बौद्धिकता फितलो देखियो । महिलालाई प्रयोग गरिने ‘चेली’ शब्द शिष्यको अर्थमा होइन । बहिनी/छोरीको अर्थमा हो । त्यसैले ‘चेली’ को पुरुषवाची शब्द ‘चेला’ हुँदैन । उनको भनाइलाई महिलावादीहरूको एउटा समूहबाहेक अरुले ‘इन्टरटेन’ गरेनन् ।
२. सन्दीप लामिछानेबारेको टिप्पणी
क्रिकेट सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गरेपछि नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टीममा समावेश गर्यो । यसको विरोधमा सुमनाले संसदमा कडा टिप्पणी गरेकी थिइन् । तर, यो टिप्पणीका कारण उनले चर्को प्रतिक्रियाको सामना गर्नुपर्यो ।
प्रतिनिधिसभाको शून्य समयमा क्यानको निर्णयको विरोधमा बोल्दै सुमनाले भनेकी थिइन्, ‘एउटा बलात्कार आरोपितलाई राष्ट्रको प्रतिनिधि बनाउन हाम्रो नैतिकताले कसरी दियो ? आरोप लगाएको व्यक्तिले राष्ट्रलाई प्रतिनिधित्व गर्दा पीडितको मानसिक अवस्था कस्तो होला ?’
यो अभिव्यक्तिमा पनि सुमनाको अच्कल्टो बौद्धिकता छचल्कियो । सन्दीपलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्दै गर्दा विदेश भ्रमणमा रोक लगाएको थियो, तर राष्ट्रका लागि खेल्न रोकेको थिएन । अन्तर्राष्ट्रिय अभ्यास हेर्दा पनि कयौं खेलाडीहरू अदालतमा मुद्दा झेल्दै राष्ट्रिय टीमबाट खेलिरहेकै हुन्छन् । आरोप लागेकैले टीमबाट खेल्न दिनुहुँदैन भन्ने ट्वीटरकेन्द्रित केही महिलावादीको बोलीमा लोली मिलाउँदा सुमना चिप्लिइन् ।
त्यसो त संसदमा उनले सन्दीपको मुद्दामा आरोपितको नाम किन सार्वजनिक गरिएको भन्ने प्रश्न उठाउँदै ‘ब्यालेन्स’ मिलाउन खोजेकी थिइन् । तर, अघिल्लो अभिव्यक्तिले यसलाई ओझेलमा पारिदियो । क्रिकेट समर्थकहरूको निशानमा परिन् सुमना । अहिलेसम्म पनि उनले यो विषयमा स्पष्टीकरण दिइरहनु परेको छ ।
३. संसदमा टिसर्ट-पाइन्टको वकालत
सुमना फेरि एकपटक सामाजिक सञ्जालमा ट्रोल भइरहेकी छन् । केही दिनअघिदेखि उनले संसदमा जाँदा लगाएको पहिरनलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणीहरू भइरहेका थिए । जिन्स र टिसर्टमाथि कोट लगाएको तस्बिरहरू राख्दै उनलाई ‘मर्यादित’ पोशाक लगाउन सुझाव दिइएको थियो ।
हिजो संसदमा बोल्दै सुमनाले यसमाथि कडा प्रतिवाद गरिन् । टिसर्ट र जिन्स लगाउँदा आलोचना गरिनुलाई उनले ‘नयाँ पुस्तामाथिको रणनीतिक हमला’ संज्ञा दिँदै यसमा रास्वपाको विरोध रहेको बताइन् । आफूहरू सही बाटोमा रहेको तर्क गरिन् । यो अभिव्यक्तिपछि उनले झन् कडा प्रतिक्रियाको सामना गर्नुपरेको छ ।
यसअघि छिटपुटरूपमा मात्रै टिकाटिप्पणी भइरहेको थियो भने संसदमा गरेको प्रतिवादपछि आलोचना झांगिएको छ । पक्कै पनि पोशाक भनेको व्यक्तिगत छनोटको विषय हो । तर, संसदजस्तो गरिमामय संस्थामा सकेसम्म औपचारिक पोशाक नै लगाउनु उचित हुने धेरैको मत छ । सिनेमा हेर्न गएजस्तो जिन्स र टिसर्ट लगाएर संसद जानु शोभनिय पनि होइन । मर्यादित पोशाक लगाउँदा सांसदहरूकै मर्यादा बढ्ने हो भन्नेमा दुई मत हुन सक्दैन ।
सांसद सुमना अहिले सिक्ने क्रममा नै छिन् । उनी धेरै सम्भावना बोकेकी सांसद हुन् । कतिपय आलोचनालाई सकारात्मकरूपमा लिएर आफूलाई थप परिस्कृतरूपमा सांसदमा पेश गर्नु वाञ्छनीय हुनेछ ।
नेपाल प्रेसले बिषयवस्तु नपाएर यो बिषय र प्रसँगमा समय खर्चेको हो ? किन यति महत्व दिनु परेको हो ? सुमना र रास्वपालाइ ?