सार्वजनिक खरिद ऐन संशोधन नगरेसम्म विकास निर्माण अस्तव्यस्त हुन्छ : मन्त्री ज्वाला (भिडिओ)
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐन संशोधन नगरेसम्म विकास निर्माण अस्तव्यस्त भइरहने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले सार्वजनिक खरिद ऐनलाई विकासमैत्री बनाउन संशोधन गर्नुपर्ने बताए ।
उनले सडकको वर्गीकरण गर्न जरुरी रहेको र त्यसका लागि प्रतिवेदन पेस गर्न समिति बनाएको जानकारी दिए ।
मन्त्री ज्वालाले प्रतिवेदन आइसकेपछि मन्त्रिपरिषदमा लगेर कार्यान्वयन गरिने जानकारी दिए । उनले संसदीय समिति र सरकारका बीचमा टसल र प्रतिस्पर्धा हुने अवस्था आउन नहुने भन्दै आपसमा मिलेर काम गर्नुपर्ने बताए ।
मन्त्री ज्वालाले समितिले आफ्नो मन्त्रालयमा दिने निर्देशनहरुलाई लागू गर्ने प्रतिबद्धता व्यक्त गरे ।