भ्रष्टाचारविरुद्ध तनहुँको अनसन चौतारीमा एक्ला प्रवीण – Nepal Press

भ्रष्टाचारविरुद्ध तनहुँको अनसन चौतारीमा एक्ला प्रवीण

पोखरा । तिम्रो गुहारमा कसैले मद्दत गर्दैन भने
तिमी एक्लै हिँड है !
एक्लै हिँड ! एक्लै हिँड ! एक्लै हिँड है !
हो, तिमी एक्लै हिँड ! एक्लै हिँड ! एक्लै हिँड है !

तिम्रो गुहारमा कसैले मद्दत गर्दैन भने
तिमी एक्लै हिँड ! एक्लै हिँड ! एक्लै हिँड है !

दमौलीका प्रवीण पौडेलले यो गीत नसुनेका पनि हुन सक्छन् । भारतीय राष्ट्रिय गानका रचयिता रवीन्द्रनाथ टेगोरले उ जमानामै लेखेको गीत थियो यो । त्यही गीत सुने पनि नसुने पनि प्रवीणले अपनाएको बाटो भने टेगोरले भने जस्तै हो ।

दमौली बजारमा एउटा चौतारी छ- अनसन चौतारी । आन्दोलन र अनसनकै कारण चौतारीको नाम रह्यो । प्रवीण केही दिनदेखि त्यही चौतारीमा पलेंटी कसेर बसिरहेका भेटिन्छन् । उनी दिनभरि एक्लै त्यही चौतारीमा हुन्छन् ।

हुन त उनले एक्लै अनसन बस्न चाहेका होइनन् । अरुको पनि साथ मागेका थिए, गुहारेका पनि हुन् । तर, गुहार कसैले सुनेनन् र, टेगोरले भने झैं एक्लै एक्लै आफूले चाहेको बाटोमा हिँडिरहेका छन् । उनको बाटो भ्रष्टाचारविरुद्धको बाटो हो ।

देशैभर भ्रष्टाचारविरुद्ध प्रदर्शन भइरहेको बेला आफूले पनि तनहुँमा साथ पाउने अपेक्षा राखेको प्रवीण बताउँछन् । तर, आफूलाई साथ दिन कोही नआएको उनको दुःखेसो छ । उनी अनसन चौतारीमा भ्रष्टाचारविरुद्ध एक्लै भए पनि अडिग भएर बसेका छन् ।

‘भ्रष्टाचार देख्दादेख्दै पनि हामी नागरिक चुपचाप बस्नु, दबाब नदिनु भनेको अझै भ्रष्टाचार गर्नु भन्ने म्यासेज नजाओस् भनेर मैले सबैलाई आउन आह्वान गरें । तर, राजनीतिक कारण हो या के कारण उहाँहरु आउनुभएन’, पौडेलले भने, ‘म एक्लै भए पनि भ्रष्टाचारको विरोध गर्नुपर्छ भनेर उभिएँ ।’

उनी आइतबार, सोमबार र मंगलबार भ्रष्टाचारविरुद्ध खडा भए । आइतबार एक्लै परेका उनलाई सोमबार भने केही साथ मिलेकोे थियो । फाट्टफुट्ट मानिसहरु आउँदै उनका अभियानमा ऐक्यबद्धता जनाइरहेका छन् । उनी दिउँसो २ देखि ३ बजेसम्म अनसन चौतारीमा ब्यानर टाँसेर बस्छन् ।

भ्रष्टाचारीलाई कडा कारबाही हुनुपर्ने उनले माग राखेका छन् । २०४६ सालपछि सार्वजनिक पदमा बस्ने सबैको सम्पत्ति छानबिन हुनुपर्ने उनको माग छ । भ्रष्टाचारका विषयमा सबै नागरिकलाई सचेत बनाउन अभियान सञ्चालन गरेको पौडेल सुनाउँछन् ।

‘भ्रष्टाचारविरुद्ध सबै नागरिकलाई सचेत हुन, भ्रष्टाचार भन्ने कुरा हामीबाट फाल्ने हो भन्ने सन्देश दिन मैले यो अभियान चलाएको हुँ’, उनी भन्छन् ।

‘कहिले खुल्छ भ्रष्टाचारका फाइल ?’, ‘कहिलेसम्म भ्रष्टाचार र भ्रष्टाचारीलाई छुट ?’, ‘भ्रष्टाचार संरक्षकलाई कहिलेसम्म पाल्ने ?’ जस्ता प्लेकार्डसहित उनी विरोध अभियानमा छन् । पौडेल मंसिर ४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवारसमेत बनेका थिए । हाम्रो नेपाली पार्टीबाट उम्मेदवार बनेका पौडेलले २८४ मत पाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *