भैरहवामै कांग्रेसीले लगाए ‘बालकृष्ण खाण मुर्दावाद’ को नारा, संकटमा खुशी मनाएको संस्थापन पक्षको आरोप
रुपन्देही । ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भन्ने उदाहरण अहिले कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई ठ्याक्कै मिल्न थालेको छ ।
कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री खाणले पार्टी बनाउन धेरै संघर्ष गरेको जिल्ला हो रुपन्देही । तर उनकै निर्वाचन क्षेत्रमा कांग्रेस नेताकार्यकर्ताले खुलेयाम उनको गलत कामको भण्डाफोर मात्र गरेनन् कारबाहीको माग गर्दै मुर्दावादको नारा लगाएर माथिको उदाहरणको प्रयोग गरेका छन् ।
नेपाल विद्यार्थी संघ, तरुण दलको केन्द्रीय नेतृत्व सम्हालेर पार्टी राजनीतिमा होमिएका खाण जसरी शक्तिमा आए त्यसरी नै पार्टीको एक समूहमा आलोचित बनिरहेको मंसिर ४ को निर्वाचनमा पार्टीभित्रैबाट भएको असहयोग तथा अहिले उनीविरुद्ध प्रस्तुत भएका धारणाहरुले पार्टी संस्थापन पक्षको बलियो खम्बा रहेका खाण अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका छन् ।
यो विषयमा संस्थापन पक्षधर र इतर समूहले अलग अलग धारणा राखेका छन् । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दामा संलग्न भएको आरोपमा पक्राउ परेपछि अब उनको राजनीतिक जीवन करिब समाप्त भएको भनेर उनका विरोधीहरु प्रचारमा उत्रिएका छन् । यस मुद्दामा सफाइ नै पाए पनि खाणको पहिले जस्तो प्रभाव नरहने उनीहरूको बुझाइ छ ।
सोमबार इतर समूहका प्रभावशाली नेताहरुले खाणकै निर्वाचन क्षेत्रमै कार्यक्रम गरेर उनको गलत कामको विरोध गरे । संस्थापन समूहले भने यस्तो संकटको बेला उल्टै खुसीयाली मनाएको आरोप लगाएको छ ।
सोमबार खाणको निर्वाचन क्षेत्र भैरहवामा गरेको कार्यक्रममा नेपाली कांग्रेसको संस्थापन इतरका नेताहरुले पार्टीको वर्तमान नेतृत्वको असक्षमताका कारण पार्टीले लय समात्न नसकेको आरोप लगाएका छन् ।
नेपाली कांगे्रस रुपान्तरण अभियानले आयोजना गरेको त्यो कार्यक्रममा सहभागीले खाणविरुद्ध मुर्दावादको नारासमेत लगाएको सहभागी नेताहरुले स्वीकार गरेका छन् । ‘सहभागीहरु खाणप्रति धेरै आक्रोशित देखिए, थेग्नै सकिएन, कारबाहीको माग गर्दै मुर्दावादको नारा लगाए खाणविरुद्ध- सहभागी एक नेताले भने- गलत गर्नेलाई अब कारबाही नगरी कसरी पार्टी बन्छ, यो पार्टी सबै कांग्रेसहरुको हो, कोही व्यक्तिको होइन’, उनले भने ।
तर जीवनभर कांग्रेस बनाउन हिँडेको मान्छेविरुद्ध आफ्नै निर्वाचन क्षेत्रमा आफैले संरक्षण गरेका नेता कार्यकर्ताले संकटमा परेको बेला सत्तोसराप गरेको पटक्कै नसुहाएको भन्दै खाण पक्षधरले सोमबारको कार्यक्रमको आलोचना गरेका छन् ।
भैरहवाको कार्यक्रममा केन्द्रीय सदस्य मधु आचार्य, डा.गोबिन्द पोखरेल, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, पूर्व केन्द्रीय सदस्य गुरु घिमिरे, युवा नेता भुपेन्द्रजंग शाही, लुम्बिनी प्रदेश महामन्त्री बिक्रम खनाल, पाल्पा सभापति बीरबहादुर राना, रुपन्देही उपसभापति थानेश्वर घिमिरे, कांग्रेस नेताहरु फकरुद्धिन खान, रमा अर्याल, पूर्वसांसद प्रमोदकुमार यादव, लुम्बिनी प्रदेश सदस्य विष्णु पोखरेललगायतका प्रभावशाली नेताहरुले खाण र संस्थापन पक्षको खुलेर विरोध गरेका थिए ।
यसरी विरोध गर्नेहरुमा खाण आफैले राजनीतिमा संरक्षण गरेकाहरु पनि सहभागी भएकाले उनको राजनीतिक भविश्वमाथि चुनौती थपिएको हो ।
उनीहरुले कांग्रेसलाई रुपान्तरण गर्दै बलियो कांग्रेस बनाउनतर्फ अब दवाव दिनुपर्ने, भ्रष्टाचारमा मुछिएका कुनै पनि नेतालाई उम्कन दिन नहुने र यो विषयमा कोही पनि उदार हुन जरुरी नभएको धारणा राखेकाले खाणकै किल्लामा उनकै नेताहरुबाट उनी माथि चुनौती थपिएको हो ।
रुपन्देहीको पार्टी सभापति पनि बालकृष्णकै सहोदर भाइ छन् तर सोमबारको भेलामा उपसभापति थानेश्वर घिमिरे सहभागी भए ।
पार्टीमा बलियो पकड जमाउँदै गएका खाणले पार्टी सभापति शेरबहादुर देउवाको उत्तराधिकारीको रूपमा अगाडि बढेका थिए । मंसिर ४ मा रुपन्देही- ३ बाट प्रतिनिधिसभा चुनाव हारे पनि रुपन्देही मात्र हैन लुम्बिनी प्रदेशकै कांग्रेस राजनीतिमा उनको निर्णय अनिवार्यजस्तै बनेको थियो ।
संस्थापन पक्षले खाणलाई परिबन्दमा पारेर फसाइएको तयारी तर्क गरेका छन् । तर इतर समूहमा रहेकाले गल्ती गरेकाले सजाय भोग्नुपर्छ भनेर खुला रुपमै बोलेका छन् । कांग्रेस रुपन्देहीका कोषाध्यक्ष हरिप्रसाद अर्यालले सबैले कर्म अनुसारको फल भोग्नुपर्ने र गलत गर्नेले सजाय पाउनुपर्ने बताउँदै अब युवा पुस्ताले राजनीति हाँक्ने र अमुक नेताको अनुपस्थितिले खासै फरक नपर्ने बताए ।
कांग्रेसका युवा नेता काजीमान श्रेष्ठले हाई-प्रोफाइल नेताहरूले बदमासी गर्दा पार्टीलाई ठूलो असर पुग्ने बताए । अहिलेको परिस्थितिले उनलाई आफ्नो राजनीतिक जीवन जोगाउन र पुरानो विरासत फर्काउन चुनौती हुने देखिएको छ ।
त्युसो त बालकृष्णलाई जिल्लामा सधैं साथ दिएका पूर्व जिल्ला सभापति तथा प्रदेश सांसद अब्दुल रज्जाक र पूर्वसांसद भरतकुमार शाहलाई असहयोग गरेको, कान्छी श्रीमती मन्जु खाणलाई समानुपातिक कोटामा सांसद बनाएको, सहोदर भाइलाई पार्टी रुपन्देहीको सभापति र तिलोत्तमाको मेयर बनाएकोलगायतका विषयमा अर्को पक्ष तीव्र असन्तुष्ट छ ।