मदन भण्डारीको ‘हत्या’ बारे समयक्रममा सत्यतथ्य खोजी हुनेछः केपी ओली – Nepal Press

मदन भण्डारीको ‘हत्या’ बारे समयक्रममा सत्यतथ्य खोजी हुनेछः केपी ओली

‘उमेश गिरीले एक अन्तर्वार्तामा हत्याका लागि आफूलाई जिम्मा दिन खोजिएको बताएका छन्’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका भूतपूर्व महासचिव मदन भण्डारीको ‘हत्या’ बारे समयक्रममा खोजी हुने बताएका छन् । उनले सत्यतथ्य बाहिर आउने विश्वास व्यक्त गरे ।

मदन स्मृति दिवसका अवसरमा आज बल्खुस्थित एमालेको पुरानो पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ओलीले सम्बोधन गर्दै थिए । त्यसक्रममा ओलीले आफ्ना सपनाहरू पूरा गर्न नपाउँदै मदन र आश्रितको हत्या गरिएको बताए ।

‘नयाँ नेपाल, समृद्ध र सुखी नेपाल बनाउने मदन भण्डारीको सपना अधुरै छ, त्यसलाई उहाँका उत्तराधिकारी हामीले पूरा गर्नुपर्ने छ,’ उनले भने ।

ओलीले थपे, ‘कहाँ र कसरी उहाँहरुको हत्या भएको थियो, त्यस सन्दर्भमा उमेश गिरीले एउटा अन्तर्वार्ता दिनुभएको थियो केही अगाडि । त्यसमा उहाँले मदन भण्डारीको हत्या गर्ने काम मलाई जिम्मा दिन खोजिएको थियो तर, मैले जिम्मा लिन मानिनँ भनेर खुलस्त पार्नुभएको छ । फलानाले बोलाएर मलाई यसो भनेका थिए भनेर नामै तोक्नुभएको छ । यो सबैको समयक्रममा खोजी हुनेछ । सत्यतथ्य बाहिर आउनेछन् ।’

ओलीले नाम लिएका उमेश गिरी नेपाली कांग्रेसका पुराना नेता हुन् । उनी पहिले कोइराला परिवारका विश्वासपात्र थिए, पछि आलोचक बने । केही समयअघि गिरीले एक अन्तर्वार्तामा बाह्य शक्तिको इशारामा गिरिजाप्रसाद कोइरालाले मदन भण्डारीको हत्याको योजना बनाएको दाबी गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर