बालकृष्णलाई निलम्बन गर्न दबाब दिँदै देउवालाई गगनले भने- गलत कुरालाई बोकेर हिँड्न सकिँदैन (भिडिओ)
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री समेत रहेका बालकृष्ण खाणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने बताएका छन्।
प्रजातान्त्रिक विचार समाजको महाधिवेशनलाई सम्बोधन गर्दै कसैसँग पूर्वाग्रह राखेर नभनेको बताए। पार्टीको पदाधिकारी बैठकमा थापा निलम्बन गर्न माग गर्दा सभापति शेरबहादुर देउवाले नमानेको अवस्थामा उनले यस्तो बताएका हुन्।
उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीको एकजना नेता मुछिनुभएको छ। विधिको शासन भएपछि कानुनी प्रक्रिया सबैले पालना गर्नुपर्छ। अनुसन्धानबाट दोषी हुनुहुन्छ भने सजाय पाउनैपर्छ। यो राष्ट्रविरुद्धको द्रोहजस्तो अपराधमा अनुसन्धान गरेर जो जो मुछिनुहुन्छ सबैलाई कारबाही गर्नुपर्छ।’
कुनै पदमा बसेको मान्छे प्रहरी, अदालत निजामती कर्मचारी कहिँपनि छ भने अभियोग लागेपछि स्वतः निलम्बन हुने भएकाले पार्टीले पनि निलम्बन गर्नुपर्ने बताए।
‘प्रमाणित भयो भने कारबाही हुन्छ। त्यही रूपमा मैले सामान्य रूपमै भनिरहेको छ। कोहीप्रतिको पूर्वाग्रही भएर होइन। मलाई भएपनि अर्कोलाई भएपनि त्यही हो’ उनले पार्टी सभापति देउवालाई लक्षित गर्दै भने, ‘पार्टीको छलफलमा केही साथीहरूले लिनुभएको पोजिशन के छ भन्ने हाम्रो भित्र त परम्परा छैन। परम्परा छैन भने त्यो तोड्नपर्छ। गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्नु हुँदैन। पार्टीमा भएको व्यक्ति भ्रष्टाचार हुनसक्छ पार्टी भ्रष्टाचारी हुँदैन।’
पार्टीमा कसैलाई दाग लागे त्यसलाई निकालेर फ्याँकेर बाँकी रहेकालाई अगाडि बढाउनुपर्ने बताए। उनले भने, ‘यो बेलामा मेरो नजिकको र सम्बन्ध छ भनेर हुँदैन। मेरो हकमा पनि त्यही हो अर्काकोमा पनि त्यही हुनुपर्छ।’