तयारीका साथ आएका प्रधानमन्त्री – पदम गिरीको प्रश्नमा झस्किए, शिशिर खनालको प्रश्न टारे (भिडिओ)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले संसदमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिइरहेका छन् । निर्धारितभन्दा दुई घण्टा ढिला गरी प्रश्नोत्तर सुरु भएको हो ।
प्रधानमन्त्रीले आफू सांसदहरूको प्रश्नको जवाफ दिन जोशका साथ आएको तर, दुई घण्टा ढिलाइ हुँदा अलिकति खिन्नता भएको बताए । साथै, पहिलो प्रश्नोत्तरका लाग प्रतिनिधिसभाको नियम नै निलम्बन गर्नुपरेकोमा उनले दुख व्यक्त गरे ।
सांसदहरूले लिखितरुपमा पहिल्यै प्रश्न दर्ता गरेकाले प्रधानमन्त्रीले लिखित जवाफ नै लिएर आएका थिए । तर, दोस्रो प्रश्नकर्ता एमाले सचेतक पदम गिरीले प्रश्न गरिरहँदा उनी अलिकति झस्किए ।
गिरीले आफूले एउटा प्रश्न तयारी गर्दा देशका विभिन्न कुनाबाट गरिब किसानले फोन गरेको र आफ्ना सयौँ गाईहरू लम्किस्किन भन्ने बिमारीले मर्न थालेको गुनासो प्रधानमन्त्रीलाई सुनाइदिन आग्रह गरेको बताए ।
त्यसपछि उनले आफूले दर्ता गरेको प्रश्न राखे, जुन प्रदेशहरूको अनुदान ५० प्रतिशत कटौतीका विषयमा थियो ।
जवाफ दिने क्रममा प्रधानमन्त्रीले गिरीको प्रश्नबाट सुरुमा आफू झस्किएको बताए ।
‘रातभरि गाईको निबन्ध तयारी गरेर आएको, तर परीक्षामा नदीको प्रश्न आएकोजस्तो हुन्छ कि जस्तो डर लागेको थियो । तर, अन्त्यमा माननीयज्यूले दर्ता गरेकै प्रश्न सोध्नुभयो,’ प्रचण्डले भने । तर, उनले ५० प्रतिशत अनुदान कटौतीको विषयमा स्पष्ट जवाफ दिएनन् ।
प्रधानमन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले गरेको एउटा प्रश्न पनि छले । खनालले पनि दर्ता गरेको प्रश्नमा थपेर अर्को प्रश्न सोधेका थिए ।
खनालले दर्ता गरेको प्रश्न थियो लाल आयोग प्रतिवेदन सार्वजनिक नगरिएको विषयमा । त्यसमा अर्को प्रश्न थप्दै उनले उपचुनावमा प्रधानमन्त्रीले हेलिकोप्टर दुरुपयोग गरेको विषयमा सोधेका थिए ।
‘पछिल्लो उपनिर्वाचनमा तपाईँ लगायत पूर्वप्रधानन्त्रीहरु हेलिकोप्टर चढेर हाम्रा उम्मेदवार हराउन जानुभयो । मन्त्री बनाउने आश्वासन बाँड्नुभयो । त्यो आचारसंहिता विपरीत थियो कि थिएन भन्ने नैतिकताको प्रश्न म सोध्न चाहन्न । तर तपाईँहरू चढेको होलिकोप्टरको खर्च जनताको रगत पसिनाले उठाएको करले तिर्छ कि हजुरको गोजीबाट तिरिन्छ ?
प्रधानमन्त्रीले लाल आयोगको प्रतिवेदन सार्वजनिक नहुनुको कारणबारे लामो उत्तर थिए । तर, हेलिकोप्टरको प्रश्नमा कुनै प्रश्न नदिई मौन रहे ।