रघुजी पन्तको घोचपेचपछि प्रधानमन्त्रीले भने- मेरो तौल घटिराख्या छ (भिडिओ)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सांसदहरुबीचको सवालजवाफका क्रममा केही घोचपेच पनि चलेको छ । एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीलाई ‘ह्यान्डसम र खाइलाग्दो देखिएको’ भन्दै कटाक्ष गरेका थिए ।
पन्तले भने, ‘पाँच महिनापछि प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउने सुदिन आएको छ । प्रधानमन्त्रीज्यूलाई हेर्न विशेष समयमा बोल्नुपर्यो, आकस्मिक समयमा पनि बोल्नुपर्यो । प्रधानमन्त्रीसँग छलफल गर्न पाइयोस् भनेर पटक पटक आग्रह गरियो । जिरो आवरमा प्रधानमन्त्री कहाँ हुनुहुन्छ भनेर खोज्नुपर्ने, सूचना जारी गर्नुपर्ने अवस्था पनि आयो ।’
त्यसपछि उनले थपे, ‘आज धेरै दिनपछि दखेर हो कि मेरो आँखालाई भ्रम परेको त होइन होला । प्रधानमन्त्रीज्यू बडो ह्यान्डसम ह्यान्डसम देखिनुभएको छ । झन् दौरा सुरुवाल लगाएर होला निकै खाइलाग्दो देखिनुभएको छ । कामना छ भोलिका दिनमा जनता पनि प्रधानमन्त्री जस्तै छिट्टै खाइलाग्दा होऊन् ।’
त्यसपछि पन्तले आफ्नो प्रश्न राखे, जुन भारतसँगको सम्बन्धका विषयमा थियो । जवाफ दिने क्रममा प्रधानमन्त्रीले आफूलाई ह्यान्डसम भनेकोमा धन्यवाद दिए ।
‘माननीय सदस्यले मेरो अलि धेरै नै प्रशंसा भनौं कि व्यंग्य भनौं, म धेरै खाइलाग्दो त देखिएको छैन । मेरो तौल घटिरहेको छ । देख्दा तपाईंले राम्रो देख्नुभएको छ । त्यसका लागि तपाईंको आँखालाई पनि धन्यवाद’, प्रधानमन्त्रीले भने ।