छात्राको आत्महत्यापछि पक्राउ परेका डीआई धरौटीमा छुटे – Nepal Press

छात्राको आत्महत्यापछि पक्राउ परेका डीआई धरौटीमा छुटे

काठमाडौं । आत्महत्या दुरुत्साहन मुद्धामा पक्राउ परेका त्रिपुरेश्वरस्थित विश्व निकेतनका अनुशासन परामर्श विभाग (डीआई) प्रमुख नवराज लोहनीलाई ललितपुर जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश हरिकृष्ण श्रेष्ठको एकल इजलासले मंगलबार उक्त आदेश गरेको हो । त्यसअघि उक्त स्कुलको कक्षा ११ मा अध्ययनरत १७ वर्षीया समीक्षा चौधरी गत मंसिर २१ गते ललितपुरको सानेपास्थित डेरा कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

मृतकका आफन्तले लोहनीविरुद्ध आत्महत्या दुरुत्साहनको किटानी जाहेरी दिएका थिए । मृतक चौधरीको साथबाट प्रहरीले सु्साइड नोट पनि फेला परेको थियो । अनुसन्धान प्रतिवेदनमा उक्त सुसाइड नोटमा ‘म ठिक छु, मलाई थाहा छ, आईएम राईट, कसैलाई एक्सप्लेन गर्नु छैन, मलाई के–के भन्या होटल गएको रे, म कोहीसँग कहीँ गएको छैन’, लेखिएको थियो ।

मृतकका आफन्तले दिएको जाहेरीमा गत प्रतिनिधि सभा निर्वाचनको समयमा घर गएर फर्किएपछि लोहनीले सदीक्षालाई बोलाएर ‘स्कुल बंक गरी होटलमा कुन केटासँग बस्न गएकी, कहाँको होटलमा बस्न गएकी’ जस्ता लान्छना लगाएको र अभिभावक बोलाएर ल्याए मात्र स्कुलमा रहन दिने बताएको उल्लेख छ ।

मृतककी आमाका अनुसार स्कुल जाँदा आफ्नै सामुन्ने डीआई लोहनीले त्यस्ता कुराकानी गरेका थिए । झोला खोसेर अब छोरीले त्यहाँ पढ्न नपाउने समेत भनेर फर्काएको दाबी जाहेरवालाको थियो । यता आरोपी लोहनीले लगातार १४ दिन गयल भएपछि सदीक्षालाई बोलाएर सोधिएको र अभिभावकलाई लिएर आउने भनिएको दावी गरेका थिए ।

उनले छात्रालाई कुनैपनि दुर्व्यवहार नगरेको र सुसाइड नोटमा लेखिएजस्तो केही नभएको बताएका थिए । आफूले सबै छात्रालाई छोरीसरह व्यवहार गर्ने गरेको र लामो समय गयल हुँदा पढाई बिग्रने भएकाले सम्झाएको बयान दिएका थिए । सदिक्षा होटल म्यानेजमेन्ट पढिरहेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर