भ्रष्टाचारविरुद्ध संकल्प प्रस्ताव दर्ता गर्न नदिएकोमा कैलाली कांग्रेस उपसभापतिको आपत्ति
सभापति भन्छन्- उहाँलाई विधान थाहा छैन
कैलाली । नेपाली कांग्रेस कैलाली जिल्ला उप-सभापति भीम बडूवालले भ्रष्टाचारविरुद्ध संकल्प प्रस्ताव दर्ता गर्न नदिएको भन्दै आपत्ति जनाएका छन् ।
कैलालीमा सुरु भएको प्रथम जिल्ला सम्मेलनको उद्घाटन सत्रमा आफूलाई मन्तव्य राख्न नदिएको र बन्द सत्रमा पनि आफ्ना एजेन्डा दर्ता नगरेको उप-सभापति बडूवालको आरोप छ । जिल्ला सभापति नारायणदत्त भट्टले भ्रष्टाचारविरुद्ध सङ्कल्प प्रस्ताव दर्ता गर्न नदिएको उनले आरोप लगाए ।
‘सभापति ज्यूले एकलौटी रुपमा कार्यक्रमलाई लैजानु भयो । मलाई उद्घाटन सत्रमा धारणा राख्न पनि दिनु भएन’, उनले भने, ‘बन्द सत्रमा मेरो प्रस्तावलाई दर्ता नै नगर्न भूमिका खेल्नु भयो ।’
प्रथम जिल्ला सम्मेलनमा उनले ‘भ्रष्टाचार गर्ने छैन र भ्रष्टाचार गर्नेलाई बचाउने पनि छैन र जिल्ला कार्यसमितिले जिल्ला समिति सदस्यको सम्पत्ति विवरण जिल्ला कार्यसमितिमा बुझाउने छ र त्यसलाई सार्वजनिक गर्ने छ भन्ने’ दुई प्रस्ताव लिएर गएका थिए । तर, आफ्नो प्रस्तावलाई स्थान नदिएपछि उनी कार्यक्रम स्थलबाट बाहिरिए ।
‘आज सम्मका भ्रष्टाचार काण्डको निष्पक्ष छानबिन हुनु पर्ने र निर्दोष फस्नु भएन, दोषी उम्कनु भएन’कार्यक्रमबाट बाहिरिँदै गर्दा उनले भने, कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टीमा पनि सभापतिले अप्रजातान्त्रिक तरिका देखाउनु भयो । भ्रष्टाचार जस्तो बिषयमा गम्भीर बन्नु भएन ।’
भ्रष्टाचारमा राजनीतिक दलहरूकै संलग्नता रहेको र देश विकासमा भ्रष्टाचार नै बाधक रहेको भन्दै प्रथम कैलाली जिल्ला सम्मेलनमा उप-सभापति बडूवाल भ्रष्टाचारविरुद्ध सङ्कल्प प्रस्ताव दर्ता गर्ने तयारीमा थिए । तर, सभापति भट्टले अवरोध गरेको उनको आरोप छ ।
यता कांग्रेस सभापति भट्टले उपसभापति बडूवाललाई विधान जानकारी नभएको टिप्पणी गरे । उनले वैशाख २९ गते कार्य सम्पादन बैठक मार्फत एजेन्डा तय भएको जानकारी दिए । उनले उक्त दिन उपसभापति पनि रहेको र आज विरोध गर्नुको औचित्य नरहेको बताए ।
‘उहाँलाई विधानै थाहा रहेन छ । खै कसरी उपसभापति बन्नु भयो’, उनले भने, ‘विधान पल्टाएर हेर्नुहोला कार्यसम्पादन बैठकमा उहाँ हुनुहुन्छ अनि त्यो दिन सर्वसम्मत निर्णय पारित गर्ने अहिले विरोध गर्ने हुन्छ ?’