३२ जनालाई मुद्दा चलाउन रायसहित अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा (भिडिओ)
काठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले भर्खरै काठमाडौं जिल्ला प्रहरी कार्यालयबाट प्रतिवेदन प्राप्त भएको र अध्ययन सुरू भएको जानकारी दिएको छ ।
प्रहरीबाट अनुसन्धान सकेर मुद्दाको फाइल प्राप्त भएको जिल्ला सरकारी वकील कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्यूतमणि नेउपानेले बताए ।
अनुसन्धानमा देखिएको आधार प्रमाणलगायतका विषयको विश्लेषण गर्ने र जेठ १० गतेअघि नै अदालतमा जाने उनले जानकारी दिए । संगठित अपराध, ठगी र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन सक्ने अवस्था रहेको र अन्य विषयमा अध्ययन गरी निर्णय गरिने पनि उनले बताए ।
यस प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाण, टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डेलगायत १६ जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो । बाँकी १६ जना फरार छन् ।
प्रहरीले ३२ जनालाई प्रतिवादी बनाएर अभियोग पत्र दायर गर्न राय दिएको छ । त्यसमा १६ जना पक्राउ परिसकेका छन् भने १६ जना फरार छन् ।
सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदन अध्ययन गरेर अभियोग पत्र तयार गर्नेछ ।
सरकारी वकिल कार्यालयले क-कसलाई के के मुद्दा लगाउने भन्ने अन्तिम निर्णय गर्ने छ । यसमा प्रहरीले पक्राउ गरेकाहरूलाई प्रमाण नपुगेको भन्दै मुद्दा नचलाउन निर्णय गर्न सक्ने अधिकार पनि सरकारी वकिलसँग रहन्छ ।