झुण्डिएको अवस्थामा भेटिएकी युवतीको हत्या गरिएको दाबी, सासू-ससुरा र श्रीमान्‌विरुद्ध जाहेरी – Nepal Press

झुण्डिएको अवस्थामा भेटिएकी युवतीको हत्या गरिएको दाबी, सासू-ससुरा र श्रीमान्‌विरुद्ध जाहेरी

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका-९ स्थित एक घरमा झुण्डिएको अवस्थामा भेटिएकी युवतीको दाइजोको निहुँमा हत्या गरिएको माइती पक्षले दाबी गरेका छन् ।

आइतबार बेलुका २२ वर्षीया आरती साहको शव झुण्डिएको अवस्थामा भेटिएको थियो । तत्काल काब्या अस्पताल अस्पताल लगिएकोमा उनको मृत्यु भइसकेको जनाएपछि शव पोष्टर्माटका लागि प्रादेशिक अस्पताल पुर्‍याइएको थयियो । आरतीको शवको अहिले पनि अस्पतालमै छ ।

माइत पक्षले आरतीको आत्महत्या नभएर हत्या गरिएको दाबी गरेका छन् । दुई वर्षअघि सामाजिक परम्परा अनुसार आरतीको विवाह मिथिला विहारी नगरपालिका-३ का मोतीबाबु साहसँग भएको थियो ।

दाइजोको निहुँमा छोरीको हत्या गरेको दाबीसहित नगराइन नगरपालिका-८ का विनोदप्रसाद साहले श्रीमान् मोतीबाबु, देवर रवि, ससुरा मोहन र सासू रेणुविरुद्ध धनुषा प्रहरीमा किटानी जाहेरी दिएका छन् । प्रहरीले उजुरी दर्ता गरेको छैन ।

उनले उजुरीमा छोरी आरतीको विवाहमा २५ लाख रूपैयाँ खर्च गरेको दाबी गर्दै भनेका छन्, ‘थप दाइजोका लागि पटक-पटक यातना दिँदै आएको थियो ।’

आरतीको शरीरको विभिन्न भागमा निलडाम देखेपछि घटनास्थल पुगेको र त्यहाँ पुग्दा कुटपिट गरी ज्यान मारेको स्थानीयबाट खुल्न आएको उजुरीमा दाबी गरिएको छ ।

यता, धनुषाका प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले आरतीको शव झुण्डिएको अवस्थामा फेला परेको र अहिले थप अनुसन्धान भइरहेको बताए । उनका अनुसार माइत पक्षले दाइजोको निहुँमा हत्या भएको भनेर जाहेरी पनि दिएको छ ।

‘पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै यथार्थ खुल्नेछ’, गौतमले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *