मिलेमतोमा इन्टरनेटको मूल्य बढाउने कार्य तत्काल रोकिनु पर्छ : प्रदीप पौडेल (भिडिओ)
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले इन्टरनेटको मूल्य बढाउने अनुचित कार्य तत्काल रोकिनुपर्ने बताएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा पौडेलले इन्टरनेटको मूल्य बढाउनुभन्दा गुणस्तर वृद्धि गरिनुपर्नेमा जोड दिए । सरकारले सम्पूर्ण क्षेत्रहरूलाई प्रविधिसँग जोड्ने अभियान सुरु गरेको अहिलेको अवस्थामा इन्टरनेट सेवा प्रदायकहरूले मूल्य बढाउनु उचित नहुने उनको भनाई थियो ।
‘इन्टरनेटको उपलब्ध सेवामा गुणस्तरीयता, गति, क्षमता, निरन्तरता केही पनि छैन । सेवा अवरुद्ध हुँदा अवधि बराबरको सेवा प्रदान गर्ने वा अवरुद्ध अवधिको शुल्क नलाग्ने शर्तसमेत पालना गरिएको छैन । इन्टरनेट सेवा प्रदायकहरूले रातारात मिलेर मूल्य बढाउन लागिरहेका छन् भन्ने सुन्नमा आएको छ । तसर्थ इन्टरनेट कम्पनीहरूले मिलेमतोमा बढाउने अनुचित मूल्यलाई तत्काल रोक्न र उनीहरूलाई स्वस्थ प्रतिस्पर्धाबाट गुणस्तरीय सेवा उपलब्ध गराउने वातावरण निर्माण गर्न म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु । बजारलाई प्रतिस्पर्धाबाट विमुख गराउन पाइँदैन ’, उनले भने ।
हालैमात्र इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले ‘व्याण्डविथ खपत, कर्मचारी व्यवस्थापन, इन्टरनेट उपकरणहरूमा भएको मूल्यवृद्धिलगायतका कारण देखाउँदै आफूखुशी इन्टरनेटको मूल्य बढाउने सहमति गरेको समाचार प्रकाशन भएका थिए ।
सञ्चारमाध्यमहरूले उक्त समाचार सार्वजनिक गरेसँगै नेपाल दूरसंचार प्राधिकरणले सेवा प्रदायकहरूलाई इन्टरनेटको मुल्य बढाउन कुनै पनि निर्देशन नदिइएको प्रष्टीकरण दिएको थियो । नेपालमा हाल गैरकानूनी रूपमा प्रसारित भइरहेका ओटीटी प्ल्याटफर्महरूको नियमनका लागि नियामक निकायहरूले ठोष कदम अगाडि नसार्दा अवैधानिक भिडिओ कन्टेन्टका निमित्त अत्याधिक व्याण्डविथ खपत भइरहेको अवस्था छ भने सोही कारण अर्बौं रूपैयाँ विदेशिन पुगेको छ ।
यस विषयमा नेपाल प्रेसले धारावाहिक रूपमा सामाग्री प्रकाशित गर्दै आएको छ । जुन यी लिंकबाट हेर्न सकिन्छ ।
भाग १- देशको ढुकुटी रित्याउने खेल ! नेटफ्लिक्सहरूले लग्दैछन् बर्सेनि सात अर्ब
भाग २- फेसबुकमार्फत ओटीटीको विचौलिया धन्दा, ‘पोर्न’ को समेत व्यापार (प्रमाणसहित)
भाग ३- एक्सक्लुसिभः एनसेलद्वारा बिनालाइसेन्स भिडिओ सामग्रीको व्यापार, करोडौंको कर छली
भाग ४- ओटीटीलाई राष्ट्रबैंकको लिस्नु, डलर कार्डबाट ९ महिनामै विदेशियो एक अर्ब
भाग ५- ओटीटी नियमन गर्न प्रसारण नियमावली संशोधनको तयारी, तर एनसेललाई कारबाही गर्न आलटाल
भाग ६- राष्ट्रिय प्रसारण नियमावली गुपचुप संसोधनः कर छल्नेलाई झन् प्रोत्साहन