चुडामणी शर्माको मुद्दा १२ दिनदेखि हेर्दाहेर्दैमा : बहस सकियो, अध्ययन सकिएन
काठमाडौं । आन्तरिक राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक चुणामणि शर्माको मुद्दामा यति बेला विशेष अदालतले अन्तिम सुनुवाइ गरिरहेको छ । तीन जना न्यायाधीशको इजलासले १२ दिनदेखि यो मुद्दा हेर्दाहेर्दैमा राखेको छ ।
श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले यो मुद्दाको सुनुवाइ गरिरहेको हाे । शर्मासँग सम्बन्धित तीनवटा मुद्दा लगाउमा राखेर हेरिएको छ ।
२०७४ साउन १ गते र २०७८ असार ९ गते दर्ता भएको राजस्व चुहावटसम्बन्धी शर्मा, लुम्वध्वज महत र उमेशप्रसाद ढकाल सम्मिलित मुद्दा तथा शर्मा र उनकी श्रीमतीसँग सम्बन्धित २०७४ माघ १५ गते दर्ता भएको गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दाको सुनुवाइ भइरहेको हो ।
बैशाख २४ गतेबाट यो मुद्दा लगातार हेर्दाहेर्दैमा रहेको छ । इजलासले बैशाख २५, २७, २८, ३१ गते तथा जेठ १, २, ३, ४, ७, ८, ९ गते बहस सुनेको छ ।
यसबीचमा इजलासले शुक्रबार परेका दिनलाई भने हेर्दाहेर्दैमा राखेको थिएन । यस्तै एक पटक एक दिनको ‘ग्याप’ राखेर हेर्दाहेर्दैमा राखिएको थियो । बैशाख ५ गते साक्षी बुझ्ने आदेश गरेर इजलासले बैशाख २४ गतेदेखि अन्तिम सुनुवाइ सुरु गरेको थियो ।
स्रोतका अनुसार दुवै पक्षको बहस भने गत साता नै सकिएको थियो । इजलासले पछिल्ला केही दिनयता अध्ययन गरिरहेको बुझिएको छ ।
कर फर्छ्योट आयोगमार्फत अस्वाभाविक रुपमा कर मिनाहा गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगका तत्कालीन तीन पदाधिकारीविरुद्ध १० अर्ब २ करोड बिगो दावी गर्दै २०७४ साउन १ गते मुद्द दायर गरेको थियो ।
त्यसपछि शर्मा र उनकी श्रीमतीविरुद्ध ४ करोड २९ लाख ५४ हजार १२४ रुपैयाँ अकुत सम्पत्ति आर्जनको मुद्दा दायर भएको थियो । मंगलबार पनि यो मुद्दा बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको छ ।