हंशराजको मुद्दा छिनोफानो नहुँदै कोशी खेलकुद विकास बोर्डको सदस्य सचिव बन्न एमाले नेताको दौडधुप
को-को छन् लाइनमा ?
विराटनगर । खेलकुद विकास बोर्ड कोशीको सदस्य सचिब बन्न एमालेका नेता-कार्यकर्ताको दौडधुप सुरू भएको छ ।
कोशी प्रदेश सरकारले बिहीबार खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई बर्खास्त गरेको थियो । उच्च अदालतले तत्काल निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेशसहित भोलिलाई छलफलका लागि बोलाएको छ ।
न्यायाधीश कमलकृष्ण अधिकारीको इजलासले प्रदेश सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । वाग्लेमाथिको मुद्दा विचाराधीन रहेकै अवस्थामा एमाले नेताले सदस्य सचिवको लबिङ थालेका हुन् ।
वैशाख १४ गतेदेखि १६ गतेसम्म झापाको दमकमा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने क्रममा ब्यानरमा आयोजकको रूपमा कोशी प्रदेशको नाम उल्लेख नभएको भन्दै मन्त्रालयले वैशाख १७ गते पहिलो र २९ गते दोस्रो पटक उनीसँग स्पष्टीकरण मागेको थियो ।
दुवै स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको जनाउँदै सामाजिक विकास मन्त्री बुद्धीकुमार राजभण्डारीको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले वाग्लेलाई पदमुक्त गरेको थियो ।
अदालतको फैसला नआएपनि सदस्य सचिव बन्न भद्रपुर नगरपालिकाका पूर्वमेयर जीवन श्रेष्ठ, एमाले मोरङका उपसचिव सन्तोष बान्तवाले दौडधुप थालेका हुन् । यस्तै भद्रपुरका पूर्व मेयर, एमाले सोलुखुम्बुका एमाले नेता डीबी रणपहेँली, खोटाङका प्रभातविक्रम कट्वालसमेत सदस्य सचिवको लबिङमा छन् । कट्वाल युवा संघका नेता तथा एमाले ईश्वर पोखरेल मन्त्री हुँदा सचिवालयमा बसेका थिए । उदयपुरका शम्भु पौडेल पनि सदस्य सचिवका आकांक्षी देखिएका छन् । उनी यसअघि प्रदेश खेलकुद विकास बोर्डको सदस्य थिए ।