देशभरका एमाले जनप्रतिनिधि पार्टी अनुशिक्षणका लागि काठमाडौंमा (तस्बिरहरू)
काठमाडौं । नेकपा एमालेले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिका लागि आजदेखि दुईदिने अनुशिक्षण कार्यक्रम सुरु भएको छ ।पार्टीको केन्द्रीय स्कुल विभाग र स्थानीय विकास विभागको संयुक्त आयोजनामा तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहल, च्यासलमा आयोजित दोस्रो अनुशिक्षण कार्यक्रम सुरु भएको हो ।
यसअघि गत वर्ष स्थानीय तहको निर्वाचन सम्पन्न हुनेवितिकै एमालेबाट निर्वाचित जनप्रतिनिधीहरुलाई प्रशिक्षण दिइएको थियो । स्थानीय तहमा बजेट निर्माण गर्ने समय आएको सन्दर्भमा पार्टीका अध्यक्ष केपी शर्मा ओली, पार्टीका नेताहरू र विभिन्न विषयविज्ञबाट प्रशिक्षण दिइने छ ।
स्थानीय तहको जनप्रतिनिधि र पार्टी कमिटीका बीचमा समन्वय नभएको गुनासो बढेपछि पार्टीले अनुशिक्षण राखेको हो ।
कार्यक्रममा पार्टीबाट स्थानीय तहमा निर्वाचित पालिका प्रमुख र उपप्रमुख गरी करिब चार सयको सहभागी छन् । जनप्रतिनिधिलाई स्थानीय तहको अन्तरसम्बन्ध, समन्वय र साझेदारी तथा पार्टीको भूमिका विषय, स्थानीय तहमा रोजगारी, श्रम र उत्पादनशीलता स्थानीय तह सञ्चालनसम्बन्धी निर्देशिका तथा अन्य कार्ययोजनाका विषयमा प्रशिक्षण दिइनेछ ।