हाफपाइन्ट लगाएर मन्दिर गएकी युवतीमाथि कंगनाको टिप्पणी- यस्ता मुर्ख र जोकरका लागि कडा नियम बनाउनुपर्छ
काठमाडौं । हिमाचल प्रदेशको कंगडास्थित बैजनाथ मन्दिरमा छोटो लुगा लगाएर गएका युवतीलाई लिएर बलिउड अभिनेत्री कंगना रनौतले आफ्नो टिप्पणी व्यक्त गरेकी छन् ।
आलोचनासहित उनले भ्याटिकनमा घटेको आफ्नो एक घटना पनि ट्वीटरमार्फत शेयर गरेकी छन् । मन्दिरमा छोटो लुगा लगाएर पुगेका उक्त युवतीलाई कंगनाले ‘जोकर’को संज्ञासमेत दिँदै उनले एक ट्वीटर प्रयोगकर्ताले सार्वजनिक गरेको पोष्टमा उक्त प्रतिक्रिया दिएकी हुन् ।
उक्त तस्बिर सार्वजनिक गर्ने ट्वीटर प्रयोगकर्ताले एक पोष्ट लेखेका छन् जहाँ उनले ती महिलाहरुको विरोध गरेका छन् ।
उनले तस्बिरसँगै हिन्दीमा लेखेका छन्, ‘यो हिमाचलको प्रसिद्ध शिव मन्दिर बैजनाथको दृश्य हो । पब वा नाइटक्लब गए झैँ उनीहरु बैजनाथ मन्दिर पुगेका छन् । यस्ता मानिसहरूलाई मन्दिरमा प्रवेश गर्न दिनु हुँदैन । म यसको घोर विरोध गर्दछु । यस्तो दृष्य देखेर पनि यदि मेरै सोचलाई सानो वा नराम्रो भन्नुहुन्छ भने त्यो मलाई स्वीकार्य छ ।’
तस्बिरमा एक युवतीले हाफ पाइन्ट र स्लिभलेस छोटो टिर्सट लगाएर मन्दिर परिसरमा उभिएकी छन् । भने अक्री युवतीले पेन्ट लगाएर माथि सल बेरेकी छन् । यस्तो ड्रेस लगाएर मन्दिर गएको तस्बिर देखेपछि कंगनाले शो तस्विर सार्वजनिक गर्ने प्रयोगकर्ताको भनाईमा सहमत जनाउँदै रियाक्ट गरेकी हुन् । कंगनाले हाफ पाइन्ट लगाएर पुगेकी उक्त युवतीलाई ‘नाइट ड्रेस’ लगाएर मन्दिर पुगेको प्रतिक्रिया दिएकी छन् ।
‘यी सबै गोराहरुले बनाएका र प्रचार गरेका पश्चिमी लुगाहरू हुन् । म एक पटक हाफ पाइन्ट र टी-शर्ट लगाएर भ्याटिकन गएकी थिए । मेरो कपडाले गर्दा मलाई त्यहाँको परिसरमा समेत छिर्न अनुमति दिइएन’, उनले लेखेकी छन्, छिर्न नदिएपछि म होटेलमा फर्केर कपडा परिवर्तन गर्नुपरेको थियो । क्याजुअल ड्रेसको नाममा नाइट ड्रेस लगाएर पुगेका यस्ता जोकरहरु अरु केही होइनन्, अल्छी हुन् । मलाई लाग्दैन कि यिनीहरू अरू केहीबारे सोच्न सक्षम छन् । यस्ता मूर्खहरूका लागि कडा नियम बन्नुपर्छ ।’