रेशमलाई आममाफी नदिन पूर्वप्रहरी कर्मचारी परिषदकाे माग
काठमाडौं । पूर्वप्रहरी कर्मचारी परिषद नेपालले टीकापुर घटनामा सर्वोच्च अदालतबाट दोषी ठहर भएर सजाय भुक्तान गरिरहेका रेशम चौधरीलाई आममाफी नगर्न वा नगराउन सरकारलाई आग्रह गरेको छ ।
परिषदले राष्ट्रपति, प्रधानमन्त्री, गृमहमन्त्री तथा राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख आयुक्तलाई पत्र लेख्दै यसले बहालवाला प्रहरी कर्मचारीको मनोबल कमजोर पार्ने र अपराधीको मनोबल बढ्ने भन्दै आममाफी नगर्न परिषदले आग्रह गरेको हो ।
‘प्रहरीको नृशंस हत्या गरी मानवअधिकारको समेत घोर उल्लंघन गरेका अपराधीहरुलाई राजनैतिक स्वार्थका आधारमा माफी दिनु आफैंमा अक्षम्य अपराध हो’, परिषदले भनेको छ ।
आफूहरुले जनताको लोकतान्त्रिक सरकार विधिको शासन स्थापित गर्न सहयोगी बनाउन आफूहरु जस्तोसुकै सहयोग गर्न तयार रहेको परिषदको भनाइ छ । ‘मानवअधिकार उल्लंघनलाई प्रश्रय दिने, स्थापित कानूनी मूल्यमान्यता भत्काउने विधिको शासनको उपहास गर्ने क्रियाकलाप मान्य हुन सक्दैन भन्ने मत राख्न हामी बाध्य छौं’, परिषदको पत्रमा उल्लेख छ ।