मिस नेपाल: प्रसिद्धिले थामिन् आमाको बिँडो
रुबी राणा भन्छिन्- छोरीलाई स्टेजमा हेर्दा आफूले भाग लिएको भन्दा बढी नर्भस भएँ
काठमाडौं । रुबी राणाको नाममा कसैले तोड्न नसक्ने एउटा रेकर्ड छ, उनी पहिलो ‘मिस नेपाल’ हुन् । हिजो मिस नेपालको नयाँ संस्करणको फाइनलमा उनै रुबी दर्शक दिर्घामा थिइन् ।
आफू भाग लिँदै गर्दाको जस्तै बेचैनी भाव थियो अनुहारमा । नहोस् पनि किन । त्यहाँ उनकी छोरी भिड्दै थिइन् उपाधिका लागि । आमाको पदचिन्ह पछ्याउँदै प्रतियोगितामा भाग लिएकी प्रसिद्धि शाह मिस नेपाल इन्टरनेसनल बन्न सफल भइन् । यस अर्थमा आमाको बिँडो थामेकी छिन् प्रसिद्धिले ।
मिस नेपालमा ‘पहिलो’ भएकी श्रीच्छा प्रधान त सञ्चारमाध्यममा छाउने नै भइन्, प्रसिद्धिको पनि चर्चा कम छैन । आमा मिस नेपाल भएको २९ वर्षपछि उनले ‘मिस नेपाल इन्टरनेसनल’ को ताज लगाएकी हुन् । घोषित रुपमा मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल हुने तीनैजनालाई एउटै श्रेणीमा राख्ने गरिएको छ ।
सन् १९९४ मा पहिलोपटक आयोजना भएको मिस नेपाल प्रतियोगितामा वीरगञ्ज निवासी रुबी पहिलो भएकी थिइन् । उनको घरमा दोस्रोपटक मिस नेपालको क्राउन भित्रियो । मिस नेपालको इतिहासमै आमा र छोरी दुवैले ताज पहिरिएको पहिलो घटना हो । यो पनि मिस नेपालको पानामा अर्को रेकर्डका रुपमा दर्ज हुने भयो ।
१९९४ मा पहिलो मिस नेपाल भएकी रुबी त्यसवखत मिस वर्ल्डमा भने जान पाइनन् । उनले मिस एसिया प्यासिफिकमा नेपाललाई प्रतिनिधित्व गरेकी थिइन् । उक्त समय मिस नेपाल हिडन ट्रेजरले नभई काठमाडाैं जेसिजले आयोजना गर्थ्यो । राणा मिस नेपाल हुँदा नेपालसँग मिस वर्ल्डको फ्रेन्चाइज थिएन । नेपालसँग त्यो समय मिस एसिया प्यासिफिकको मात्र फ्रेन्चाइज थियो । त्यसैले विजेता हुनेहरु मिस वर्ल्डमा नभई मिस प्यासिफिक एसियामा नेपाललाई प्रतिनिधित्व गरेर जान्थे ।
सन् १९९७ देखि नेपालमा मिर्स वर्ल्डको फ्रेन्चाइज भित्रिएको हो । अहिले मिस नेपाल वर्ल्डले मिस वर्ल्डमा नेपाललाई प्रतिनिधित्व गरेर जाने गर्दछन् ।
यसपालि मिस नेपालको प्रतियोगितामा सुरुदेखि उपस्थित थिइन् रुबी । ४० दिनको बसाइपछि आज उनी छोरी लिएर घर पुगेकी छन् । छोरीले क्राउन लगाएको खुशीयालीमा घरमा केक काटेर खुशीयाली मनाइएको छ । छोरीको सफलतामा रुबी गदगद छिन् ।
आफूले मिस नेपालमा भाग लिँदाभन्दा छोरीले भाग लिँदा बढी प्रेसर अनुभव भयो उनलाई ।
उसको उत्तर दिने शैली उत्कृष्ट थियो । उसको हरेक उत्तर बौद्धिक थियो । म त एकदम सन्तुष्ट छु । तीन जना विजेतामध्ये मेरो लागि मेरो छोरी उत्कृष्ट हो । एउटा आमाको लागि आफ्नो छोराछोरी जस्तो आकारको भए पनि राम्रो हुन्छ । तर, मेरो छोरीले हिजो आफूलाई प्रमाणित गरिन् ।
रुबीले सुनाइन्, ‘म आफ्नो पालोमा पनि यति नर्भस भएकी थिइनँ, जति हिजो मेरो छोरी त्यो स्टेजमा उभिदा भएँ । ४० दिनपछि आज म छोरी लिएर घर फर्किएकी छु । उसले मिस नेपालको छोरी भनेर चिनिनेभन्दा पनि आफ्नो छुट्टै पहिचान बनाएकी छ । गर्व महसुस भइरहेको छ ।’
आखिर छोराछोरीको सफलतामा नरमाउने बाबुआमा को होला र ? आफू मिस नेपाल हुँदा भन्दा पनि छोरी मिस नेपाल इन्टरनेसनलको उपाधि जित्दा बढी खुशी लागेको बताउँछिन् रुबी । उनकी छोरी प्रसिद्धिलाई अतिरिक्त दबाब पनि थियो । यदि प्रतियोगितामा पछि परेको भए ‘मिस नेपालकी छोरी हारी’ भनेको सुन्नुपर्थ्यो । रुबीलाई पनि त्यही प्रेसरले थिचिरहेको थियो ।
उनी भन्छिन्, ‘म मिस नेपाल भइरहँदा मेरो समग्र परिवारलाई म एक्लैले प्रतिनिधित्व गरिरहेकी थिएँ । हारजीत जे भए पनि स्वीकार्य थियो । तर, मेरो छोरीको हकमा फरक छ । म पहिले नै मिस नेपाल भइसकेको मान्छे । त्यही ठाउँमा छोरी पनि उभिँदा झन् धेरै जिम्मेवारी थपिन्छ । जित्ला/नजित्ला वा मेरो विरासतलाई उसले कायम राख्ला नराख्ला भन्ने डर हुन्छ । अर्कोतिर नेपोटिजमको कुरा पनि आउँछ । उसले कसरी गरिरहेको थियो वा उसले के भोगिरहेको थियो भन्ने उसलाई अनि मलाई थाहा छ । उसको मेहनत मैले देखेकी छु । त्यो मेहनत अनि लिगेसीलाई उसले एउटा नाम दिनसक्छ कि सक्दैन होला भन्ने डरबीच मिस नेपालको क्राउन घरमा भित्र्याउनुले पक्कै पनि मेरो छोरीतर्फ उत्साह बढी छल्किन्छ ।’
– तपाईंलाई दर्शक दिर्घाबाट हेर्दा छोरीको प्रस्तुति कस्तो लाग्यो ?
उसको हरेक उत्तर बौद्धिक थियो, म त एकदम सन्तुष्ट छु । तीनजना विजेतामध्ये मेरो लागि मेरी छोरी उत्कृष्ट हो । एउटा आमाको लागि आफ्नो छोराछोरी जस्तो आकारको भए पनि राम्रो हुन्छ । तर, मेरो छोरीले हिजो आफूलाई प्रमाणित गरिन् ।
– कतिपयले मिस नेपालमा पनि नेपोटिज्म सुरु भयो भन्ने टिप्पणी पनि गर्न थालेका छन् । तपाईं मिस नेपाल भएकाले छोरीलाई कति सहयोग पुग्यो ?
त्यो व्यक्तिको सोचमा भर पर्ने कुरा हो । मिस नेपालको छोरी मिस नेपाल हुन नपाउने, डाक्टरको छोरी डाक्टर हुन नपाउने वा पाइलटको छोरी पाइलट हुनै नपाउने भन्ने कहींकतै लेखेको छैन । मेरो छोरीले मेरो विरासतलाई कायम राखेको छ । म त्यसैमा गर्व गर्छु ।
मेरो छोरीका योगदानहरु भविष्यमा देखिने छ । एक वर्षको कार्यकालमा प्रसिद्धिले आफूलाई प्रमाणित गरेर देखाउनेछिन् । नेपोटिजम भन्नेहरुले प्रसिद्धि को हो र उसले के गर्नसक्छ अथवा उसमा के क्षमता छ भन्ने बिस्तारै देख्नेछन् । ऊ आज एउटा उत्तरले गर्दा क्राउन लिएर घर आएको छ । अझै एक वर्ष बाँकी नै छ । उसको मेहनत हेर्न बाँकी छ । मिस इन्टरनेसनलमा जानै छ । उसको क्षमता कति छ भन्ने त त्यो बेला पनि थाहा भइहाल्छ ।
– तपाईंलाई छोरीले खासमा कुन टाइटल जित्ने आशा बढी थियो त ?
म त तीनवटामा जुन भए पनि एउटा टाइटल ल्याउँछ भन्नेमा ढुक्क थिएँ । ऊ इन्भाइरोमेन्टल साइन्सको विद्यार्थी हो । बालबालिकासम्बन्धी प्रोजेक्ट गर्दैछ । हुन त ऊ मिस अर्थमा पनि फिट हुन्छ । तर, क्राइटेरियाअनुसार मिस अर्थको लागि ५ फिट ६ इन्च हाइट चाहिन्छ । मिस वर्ल्डको लागि ५ फिट ४ इन्च हाइट चाहिन्छ । सबैको आआफ्नो प्राथमिकता छ । सबै प्राथमिकतालाई मध्यनजर गरेर प्रसिद्धिलाई यो टाइटल दिइएको हो ।
मेरो बच्चा खासमा मिस नेपालमा जाने बच्चा हैन । ऊ अर्कै किसिमको बौद्धिक क्षमता भएको माान्छे हो । आफ्नो होस सम्हालेदेखि गोल्ड मेटलिस्ट हो । जुनै पनि युभिर्सिटीमा ९९.८ प्रतिशत ल्याउने बच्चा हो ।
हाम्रो पालामा मिस नेपालको फर्म्याट अर्कै थियो । त्यतिबेला मिस नेपाल, फस्र्ट रनरअप र सेकेन्ड रनरअप भनेर छुट्याइन्थ्यो । अहिले त्यस्तो छैन । अहिले त तीनैजना मिस नेपाल हुन् । आआफ्नो दक्षता हेरेर मिस वर्ल्ड, मिस अर्थ र मिस इन्टरनेसनलमा पठाइन्छ । मेरो छोरी ‘मिस इन्टेलेक्च्युअल’ समेत भएकाले मिस इन्टरनेसनल टाइटल दिइएको हुनसक्छ ।
– तर, पनि ‘मिस नेपाल वर्ल्ड’ नहुँदा अलिकति खल्लो लाग्यो कि ?
मलाई मनमा त्यस्तो केही लागेन । अन्तिम पाँचमा पुगेर पनि कुनै टाइटल नजितेको भए चाहिँ मलाई एकदमै दुःख लाग्थ्यो । तर, उसले गरेर देखायो । अब मेरो छोरी प्रसिद्धि शाहमात्र होइन । ऊ प्रसिद्धि शाह, मिस नेपाल इन्टरनेसनल २०२३ हो । उसले अब जापानमा हुन गइरहेको मिस इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्दैछ । देशलाई चिनाउन गइरहेको छ । त्योभन्दा ठूलो टाइटल एउटा आमाको लागि केही हुनसक्छ र ?
– एउटा दर्शकको हिसाबले कार्यक्रम हेरिरहँदा हिजो आफ्नो छोरीमा बलियो र कमजोर पक्ष के पाउनुभयो ?
एउटा दर्शकको हिसाबले बसेर हेर्दा मैले उसमा त्यस्तो कमजोरी केही पाइनँ । उसमा भरपुर आत्मविश्वास थियो । कमजोरी उसमा हैन, बरु कमजोरी सञ्चालक टीममा थियो । मलाई त्यसमा भने एकदमै चित्त बुझेन । उसले ५५ सेकेन्डमा आफ्नो उत्तर भनेर सकाउनु पर्ने थियो । तर, उसकै पालोमा भने बजर बजेन । उसलाई न कुनै साइन नै दिइयो । ऊ त बोल्ने मान्छे हो । किताबको कीरा हो । बोल्ने मान्छे भएपछि आफूलाई लागेको कुरा मज्जाले बोलिन्छ । यति समय भनेर दिए तापनि बजर बजाइदिए पो ‘ए सकिने बेला भएछ’ भन्ने हुन्छ । बजर नबजाइदिएपछि कति खेर सकिने भन्ने कसरी थाहा हुन्छ ? त्यही भएर उसले अरुभन्दा अलि धेरै बोलेछ । यो एउटा चाहिँ अर्गनाइजर टीमको कमजोरी हो । उसको तागत भनेको त उसको आत्मविश्वास नै हो ।
– तपाईं आफैं पहिलो मिस नेपाल । प्रसिद्धिका तयारीहरुमा तपाईंले उनलाई कसरी सहयोग गर्नुभयो ?
मेरो बच्चा खासमा मिस नेपालमा जाने बच्चा हैन । ऊ अर्कै किसिमको बौद्धिक क्षमता भएको मान्छे हो । आफ्नो होस सम्हालेदेखि गोल्ड मेडलिस्ट हो । जुनै पनि युभिर्सिटीमा ९९.८ प्रतिशत ल्याउने बच्चा हो । आफ्नो एउटा पहिचान बनाउन यो एउटा राम्रो माध्यम हो भन्ने सोचेर मात्र विगत दुई वर्षदेखि उसले आफूलाई मिस नेपालको लागि तयार गरिरहेको छ ।
हाम्रो पालोमा भन्दा अहिले माहोल पनि धेरै परिवर्तन भइसकेको छ । हामी मिस नेपाल हुँदा रुने गर्थ्यौं । हार्नेहरु रुने गर्थे । अहिलेका बच्चाहरुमा त्यो किसिमको बचपना देखिँदैन । अहिलेका नानीहरु एकदमै परिपक्व छन् । हरेक जीत अनि हारलाई हाँसीहाँसी स्वीकार्छन् ।
साँच्चै भन्ने हो भने उसको शरीरले पनि उसलाई साथ दिँदैनथ्यो । ऊ प्रि-मेच्योर बच्चा हो । जाबो ३०-३५ केजीको बच्चाले मिस नेपालमा जानकै लागि भनेर कति संघर्ष गरेको छ, त्यो मलाई थाहा छ । ऊ आफैंले मेहनत गरेको हो र आज उसको मेहनतले रंग ल्याएको छ । ऊ खुशी छ । समग्रमा हामी सबै जना एकदमै खुशी छौं ।
– मिस नेपाल भएपछि छोरीमा कस्तो उत्साह पाउनुभएको छ ?
उनी त धेरै उत्साहित भएकी छन् । मिस इन्टरनेसनल जापानमा हुने भएकाले जापानिज ल्याङवेज सिक्ने सोच पनि बनाइसकेकी छन् । साँच्चै भन्नुपर्दा हाम्रो पालोमा भन्दा अहिले माहोल पनि धेरै परिवर्तन भइसकेको छ । हामी मिस नेपाल हुँदा खुशीले रुने गर्थ्यौं । हार्नेहरु पनि रुने गर्थे । अहिलेका बच्चाहरुमा त्यो किसिमको बच्पना देखिँदैन । अहिलेका नानीहरु एकदमै परिपक्व छन् । हरेक जीत अनि हारलाई हाँसीहाँसी स्वीकार्छन् । हिजो राति पनि २४ जनामा नै एउटा छुट्टै किसिमको परिपक्वता थियो । खुशी लाग्छ यस्तो देख्दा ।
– प्रसिद्धि मिस नेपालमा जानुमा बढी तपाईंको सल्लाह होे वा उनको आफ्नै रहर ?
मैले त म कहिले पनि नेपाल हुन्छु भनेर सोचेकी थिइनँ । न मेरो छोरी मिस नेपालमा जान्छ होला भनेर नै सोचेकी थिएँ । मेरो सोच भएको भए म उसलाई पहिला नै पूरा तयारी गराएर पठाइसक्थें होला । ऊ आफ्नो खुशीले गएको हो । मम्मीको विरासत कायम गर्छु भनेर गएको हो ।
छोरी मिस नेपालमा जान्छिन् भन्नेबारे हामी अनभिज्ञ थियौं । न त हामीले उनलाई कुनै प्रेसर नै दिएका थियौं । एक्कासि आएर ‘मम्मी म मिस नेपालमा जान्छु’ भनेर फर्म ल्याएर देखाइन् । त्यो देखेर हामी सरप्राइज भएका थियौं । हिजो क्राउन जितेर उसले मलाई डबल सरप्राइज दिइन् । भनिन्छ नि, बच्चाले आफूलाई जितोस् भनेर । त्यो क्षण मैले हिजो पाएँ । ‘मिस नेपालको छोरी’ कहलिनुभन्दा प्रसिद्धि आफैं मिस नेपाल इन्टरनेसनलका रुपमा चिनिनुमा एउटा बेग्लै मज्जा अनि गर्व छ । त्यसमा मैलेमात्र होइन, हामी सबैले गर्व गर्नुपर्छ ।