नेविसंघले प्रधानमन्त्रीलाई भन्यो- भ्रष्टाचारविरोधी अभियानमा साथ छ
काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ । नेविसंघले सुशासन र भ्रष्टाचारविरुद्ध चालेको कदमको प्रशंसा गर्दै सरकारको भ्रष्टाचारविरोधी अभियानमा साथ रहेको बताएको छ ।
संगठनको तर्फबाट आफ्ना मागहरू प्रस्तुत गर्दै नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले त्रिवि सेवा आयोगको अध्यक्ष नियुक्ति, नास्टको उपकुलपति नियुक्तिका साथै शैक्षिक सुधारको निम्ति राज्यले नीति अवलम्बन गर्नुपर्ने भन्दै विभिन्न माग राखे ।
सो क्रममा प्रधानमन्त्रीले त्रिवि सेवा आयोगको अध्यक्ष छिट्टै नियुक्त हुने बताए । शैक्षिक क्षेत्रको सुधार र विश्वविद्यालयलाई अविष्कार र अनुसन्धानको केन्द्रको रूपमा विकास गर्ने कुरा नीति तथा कार्यक्रममा समावेश गरिएको र आवश्यक बजेट व्यवस्था गर्ने कोसिस भइराखेको बताए ।