सररर बुटवल-वसन्तपुर केबलकार (फोटो/भिडिओ)
रुपन्देही । बुटवलको बमघाटबाट पाल्पाको वसन्तपुरसम्म लुम्बिनी केबलकार सोमबारदेखि सञ्चालनमा आएको छ । लुम्बिनी प्रदेशकै पहिलो केबलकार आईएमई ग्रुपको मुख्य लगानीमा सञ्चालनमा आएको हो ।
कुल ५ अर्ब रुपैयाँ लागतको आयोजनामध्ये पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ । केबलकारको टप स्टेसनमा साढे ३ अर्ब लागतमा पाँचतारे होटेल, क्यासिनो र ७०० जना क्षमताको सेमिनार हललगायतका संरचना निर्माण भइरहेको छ ।
१९ वर्षअघि बुटवलका लक्ष्मण गौतम, तेजप्रसाद विश्वकर्मा, भैरहवाका नारायणप्रसाद उपाध्यायलगायतको समूहले परिकल्पना गरेर अघि बढाएको आयोजना वनसम्बन्धी कानूनी जटिलता र पूँजी अभावमा झण्डै डेढ दशकसम्म अघि बढ्न सकेको थिएन । जुन आईएमई ग्रुपले लगानी गरेपछि अगाडि बढेको हो । त्यसपछि २०७७ फागुन १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले केबलकारको शिलान्यास गरेका थिए ।
तीन वर्षअघि स्थानीय लगानीकर्ताको आग्रहमा व्यवसायिक घराना आईएमई ग्रुपले नेतृत्व गरेपछि लुम्बिनी केबुलकार निर्माणले गति लिएको सो ग्रुपका अध्यक्ष चन्द्र ढकाल बताउँछन् ।
एक वर्षभित्र सञ्चालनमा ल्याउने भनिएको केबलकार कोरोना महामारीको असरका कारण निर्धारित समयभन्दा केही ढिला सञ्चालनमा आएको छ । सोमबार केबलकारको बटम स्टेशनमा पण्डितहरुबाट धार्मिक विधिअनुसार पूजा आराधना गरेपछि केबलकार सञ्चालनमा ल्याइएको हो ।
बुटवल उपमहानगरपालिका- ३ मा बटम स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका वडा नं ३ वसन्तपुरमा टप स्टेशन रहेको केबलकार २ दशमलब ६ किलोमिटर लामो छ । जुन यात्रा गर्न १२ मिनेट समय लाग्छ ।
एउटा गोण्डालामा आठ जना यात्रा गर्न मिल्ने २५ वटा गोण्डाला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने लुम्बिनी केबलकारका अध्यक्ष ढकालले बताए ।
केबलकारको टप स्टेशन वसन्तपुरमा कामाख्या देवीको आकर्षक मन्दिर बनाइएको छ । केबलकार सञ्चालनसँगै कामाख्या मन्दिर दर्शन गर्नेको चहलपहल बढेको छ । कामाख्यादेवी मन्दिर र वसन्तपुरको चिसो हावापानीले विशेषगरी भारतीय पर्यटक र हिन्दू धर्मावलम्बीलाई आकर्षित गर्ने उनको विश्वास छ ।
टप स्टेशनमा पाँचतारे होटेल र क्यासिनो सञ्चालनमा आएपछि दैनिक ५ हजार भारतीय पर्यटक भित्र्याउने लक्ष्य रहेको अध्यक्ष ढकालले बताए । लुम्बिनी आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी केवलकार सञ्चालनमा ल्याइएको हो । यसले पाल्पाको वसन्तपुर क्षेत्रमात्र नभएर त्यसको आधार स्टेशन रहेको बुटवल र यस आसपासको पर्यटन विकाससँगै आर्थिक गतिविधिलाई चलायमान बनाउने विश्वास गरिएको छ ।
गर्मी याममा बुटवल तथा यस आसपासको तराईको अधिकतम तापक्रम ४०/४२ डिग्री सेल्सियस हुन्छ भने त्यही समयमा पाल्पाको ती स्थानको अधिकतम तापक्रम ३० डिग्री सेल्सियस वरिपरि रहने भएकाले केवलकारले तराईको गर्मी छल्न मद्दत पुग्नेछ । बटम स्टेसन समुद्री सतहबाट २३० मिटर र टप स्टेसन ९४० मिटरको उचाइमा रहेको छ ।
केबलकार सञ्चालनले प्रदेश राजधानी दाङ सर्दा खस्केको रुपन्देहीको व्यापार व्यवसायमा सुधार आउने अपेक्षा रहेको नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनीका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।
तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले केबलकार सञ्चालनले गाउँपालिकाको विकासमा ठूलो योगदान पुग्ने बताए । केबलकारले बुटवल उपमहानरपालिका र तिनाउ गाउँपालिकालाई प्रत्येक टिकट शुल्कको २ प्रतिशत सेवा शुल्कवापत छुट्याएको छ ।
केबलकार सञ्चालनमा आएसँगै स्थानीय लगानीकर्ता तेजप्रसाद सुनारले लामो समयदेखिको आफ्नो सपना पूरा भएको बताए । १९ वर्ष अगाडि सो क्षेत्रमा केबलकारको अध्ययन गरेर काम सुरु गरेका लक्ष्मण गौतमले लामो समयको संघर्षले वसन्तपुरमा केबलकार सञ्चालनमा आएको र आफ्नो सपना पूरा भएको बताए ।
सातवटै प्रदेशमा केबलकार सञ्चालन गर्ने योजनामा रहेको आईएमई ग्रुपको यो तेस्रो केबलकार हो । यसअघि चन्द्रागिरी र मौलाकालिका केबलकार सञ्चालनमा आइसकेका छन् ।