कैलालीमा जलाइयाे राष्ट्रपति र प्रधानमन्त्री पुत्ला
कैलाली । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले कैलालीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलको पुत्ला दहन गरेको छ ।
राष्ट्रिय युवा संघ नेपाल कैलालीले जिल्लाको घोडाघोडी नगरपालिकामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो । नागरिकता विधेयक प्रमाणीकरण गर्न लगाएको र गरेको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरिएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य शिवराज चन्दले जानकारी दिए ।
कैलाली चाेकबाट नाराबाजी गर्दै राष्ट्रिय युवा संघका नेता कार्यकर्ताहरू मुख्य सडकमा पुगेर पुत्ला दहन गरेका थिए । त्यस अघिको कोणसभामा नेकपा एमालेका जिल्ला उपसचिव ममता प्रसाद चौधरी, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य गणेश महरा र शिवराज चन्द, प्रदेश कमिटी सदस्य प्रकाश खड्का जिल्ला अध्यक्ष लक्ष्मण थापा लगायतले सम्बोधन गरेका थिए ।
उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको राष्ट्रियतामा आँच आउने काम गरेको, भारतले नेपाली भूमि आफ्नो नक्सामा राख्दा पनि विरोध नगरेको लगायतका बिषयमा उनीहरुले विरोध गरेका थिए ।
कोणसभा लगत्तै युवाहरूले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।