तराईमा ह्वातै बढ्यो गर्मी, विद्यालय बन्द गर्न महासंघको आग्रह – Nepal Press

तराईमा ह्वातै बढ्यो गर्मी, विद्यालय बन्द गर्न महासंघको आग्रह

रुपन्देही । केही दिनयता पश्चिम तराईमा गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ ।

लुम्बिनी प्रदेशमा तराईका जिल्ला रहेका रुपन्देही, कपिलवस्तु, बाँके, दाङ, बर्दिया, नवलपरासी जिल्लामा तातोहावा चल्न थालेपछि जनजीवन प्रभावित बनेको हो । त्यसो त मौसम परिवर्तनको असरले गर्दा यो पटक पहाडी जिल्लाहरूमा पनि गर्मी ह्वातै बढेको छ ।

प्रदेशका १२ जिल्लामध्ये ६ वटा तराई, ५ वटा पहाडी र १ हिमाली जिल्ला पर्दछन् । गर्मीका कारणले विद्यालय जान आउन कठिन भएपछि केही विद्यालयहरू बन्द गरिए पनि केहीले चलाएका छन् । धेरै स्थानीय तहहरूले गर्मी बिदा दिएका छन् ।

बुटवल, भैरहवा, नेपालगन्ज, तौलिहवा जस्ता सहरमा दिउँसोमा मानिसहरू जरुरी काम बाहेक बाहिर निस्केका छैनन् । रुपन्देहीमा ४२ डिग्रीसम्म तापमान गरिएको छ ।

लुम्बिनी प्रदेशका तराईका जिल्लाहरूमा उच्च गर्मीका कारण झाडा पखाला, उच्च ज्वरोका बिरामीहरूको संख्या बढेको अस्पतालहरूले जनाएका छन् । गर्मीबाट बालबालिका र वृद्ध वृद्धा बढी प्रभावित भएका छन् ।

तराईमा लू चल्न थालेको भन्दै स्वास्थ्य मन्त्रालयले सचेत रहन पनि आग्रह गरेको छ । सामुदायिक विद्यालयहरू अधिकांश बन्द भएपनि निजी विद्यालयले आफूखुसी चलाएका छन् ।

विद्यालय बन्द गर्न अभिभावक महासंघ लुम्बिनीको आग्रह

नेपाल अभिभावक महासंघ, लुम्बिनी प्रदेश समितिले तराईका जिल्लाहरूमा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित भएको अवस्थामा विद्यालयको पठनपाठनमा प्रत्यक्ष असर गरेको र विद्यार्थीहरूलाई विद्यालय आवतजावत गर्न तथा कक्षा कोठामा बसेर अध्ययन गर्न कठिनाइ भएको हुँदा केहि समय विद्यालय बन्द गर्न आग्रह गरेको छ ।

महासंघका अध्यक्ष हेम थापाले शनिवार विज्ञप्ति जारी गर्दै केही दिनयता तराईका जिल्लाहरूमा ४० डिग्रीभन्दा माथि तापक्रम पुगेको र बढ्ने क्रम रहेको हुँदा उच्च तापक्रममा स–साना बालबालिकाहरूलाई घरबाट विद्यालय जान र विद्यालयबाट घर फर्कन समस्या भइरहेको, विद्यालय गएपनि नियमित शिक्षण सिकाई क्रियाकलापमा सामेल हुन असहज भइरहेकाले विद्यालय बन्द गर्न आग्रह गरेको हो ।

विद्यार्थीहरूको जीवन रक्षाका लागि विद्यालय बन्द गर्नु उपयुक्त देखिएकाले स्थानीय निकाय शिक्षा विकास तथा समन्वय इकाइ, विद्यालय सञ्चालक तथा सरोकारवाला संस्थाहरुको ध्यानाकर्षण महासंघले गराएको छ ।

विज्ञप्तिमा तराई क्षेत्रमा केही दिनदेखि बढ्दै गएको अत्यधिक गर्मीका कारण विद्यालयहरूमा पठनपाठनका क्रियाकलाप सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको र अत्यधिक गर्मीका कारण घाउघटिरा, झाडापाखालाजस्ता मौसमजन्य रोगहरू पनि देखिने जोखिम धेरै रहेकोतर्फ महासंघले सचेत गराएको छ ।

बढ्दो गर्मीका कारण जिल्लाका केही विद्यालयहरू बन्द गरिएको भएपनि धेरै विद्यालयहरूका सञ्चालन गरेकोतर्फ महासंघको गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल केही दिन पठनपाठन बन्द गर्न अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *