लगानीकर्ताले शेयर मार्केट बन्द गराए – Nepal Press

लगानीकर्ताले शेयर मार्केट बन्द गराए

काठमाडौं । पूँजीबजारमा लगाइएको कर नीति खारेज गर्न माग गर्दै लगानीकर्ताहरूले शेयर बजार बन्द गराएका छन् ।

आज बिहानैदेखि लगानीकर्ताहरू ब्रोकर कार्यालयमा गएर तालाबन्दी गरिरहेका छन् ।

ब्रोकर कार्यालयको मूल गेटमा ताला लगाउन, ताला खोलेर कसैलाई पनि भित्र छिर्न नदिन र तोकिएको पर्चा टाँस्ने तथा सोही गेट आसपासमा बसेर दिनभरि निरीक्षण गर्ने स्टक ब्रोकर्स एशोसिएशन नेपालले जनाएको छ ।

लगानीकर्ताहरूको आन्दोलन चर्किँदै जाँदा आज नियमित दिनहरूमा जस्तो सजिलैसँग सेयर कारोबार हुन कठिन हुने देखिएको छ ।

विद्यमान पुँजीगत लाभकर (५% र ७.५%) नै अन्तिम कायम गर्नुपर्ने भन्दै लगानीकर्ताहरू सडकमा उत्रिएका हुन् । सरकारले बजेटमार्फत र त्यसपछि आन्तरिक राजस्व विभागले पनि पुँजीगत लाभकर अन्तिम कर हो वा होइन भन्नेमा दुबिधा उत्पन्न हुने गरी सूचनाहरू जारी गरेपछि लगानीकर्ता रुष्ट भएका छन् ।

आन्दोलनमा उत्रिएका लगानीकर्ता तिलक कोइरालाले भ्याली बाहिरका जिल्लाहरूमा पनि तालाबन्दी गरिने बताए ।

लगानीकर्ता रोहन कार्कीले पनि सबै लगानीकर्तालाई आफ्नो नजिकको ब्रोकर कार्यालयमा गएर तालाबन्दी कार्यक्रम सफल पार्न अनुरोध गरेका छन् । उनले कुनै ब्रोकरलाई नखोल्न अनुरोध समेत गरेका हुन् । यदि ताला खोलिएमा त्यसपछि आउने परिस्थितिको जिम्मेवार स्वयम हुने उनले बताए ।

पुँजीगत लाभकरलाई नै अन्तिम कर नमानेसम्म आफूहरूको आन्दोलन नरोकिने पनि लगानीकर्ताले बताएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *