‘ब्याडमिन्टनले मलाई चिनायो, मैले देशलाई चिनाउनु छ’
काठमाडौं । खेलाडीको दैनिकी एकनास हुँदैन । प्रतियोगिता हुँदा र नहुँदा धेरै फरक पर्छ । अहिले प्रतियोगिता छैन, नियमित ट्रेनिङ मात्र छ । बिहानदेखि २-३ बजेसम्म ट्रेनिङ गरिरहेको छु । त्यसपछि कहिले घर फर्किने त कहिले घुम्न जाने, अनि बेलुका मात्रै फर्किने । यस्तै चलिरहेको छ ।
अहिले केही प्रतियोगिता भइनरहेकाले फुर्सदमा नै छु । चितवनमा भएको प्रधानमन्त्री कप मैले खेलेको अन्तिम प्रतियोगिता हो । त्यो प्रतियोगिताको फाइनलसम्म पुगेर हारेँ । सोचे जस्तो भएन । हल्का बिग्रियो ।
त्यो प्रतियोगिताको कुरा गर्दा… म फर्ममै थिएँ । ट्रेनिङ पनि राम्रो भएको थियो । एकदमै डेडिकेटेड भएर, जित्छु नै भनेर लागेको थिएँ । तर, प्रधानमन्त्री कपमा फाइनल र सेमिफाइनलबीचको समय पनि थोरै भयो । बिहान सेमिफाइनल र बेलुका फाइनल भयो । त्यसमाथि कहिले गेमको बीचैमा बत्ति गइदिने । त्यसले गेम एउटै रिदममा गएन ।
सेमिफाइनलको एउटा सेट खेलेर अर्को सेट खेल्न पनि घण्टौंसम्म कुर्नुपर्यो । खेल एउटै रिदममा गएन भने गाह्रो हुन्छ । जिउ तातिरहेको हुन्छ । तर, बीचमा रोकिनुपर्दा फेरि सेलाउँछ । त्यसैले गर्दा पनि बिग्रियो ।
सेमिफाइनल र फाइनल एदैदिन हुनु मात्रै हारको कारण होइन । कहिले दिमाग नै चल्दैन । सेमिफाइनल एकदिन र फाइनल अर्कोदिन भयो भने आफ्नो खेलको ‘स्ट्रेटिजी’ बनाउन सकिन्छ । सोच्ने समय पाइन्छ । तर, छोटो समय भयो मानसिक तयारी पूर्ण रूपमा गर्न सकिएन । त्यसैले गाह्रो भयो र हारेँ ।
०००
ब्याडमिन्टन हेर्दा फिजिकल गेम मात्र जस्तो देखिने भए पनि दिमागी दक्षता त्यत्तिकै आवश्यक हुन्छ । राम्रो स्टामिनासहित बलियो त हुनै पर्यो । त्यससँगै प्राविधिक पक्षमा पनि दह्रो हुनुपर्छ ।
विपक्षीलाई हेरेर आफ्नो गेम प्लान बनाउन सक्ने हुनुपर्छ । विपक्षीको विक प्वाइन्ट पत्ता लगाउने, कहाँ खेलाउने, स्म्यास र ड्रपको आंकलन गर्ने जस्ता धेरै कुरामा दिमागी सन्तुलन र तीक्ष्णता पनि उत्तिकै चाहिन्छ ।
यो वर्ष सिन्धुपाल्चोकको चौतारामा भएको प्रतियोगिता जितेँ । लाहानमा भएको पुष्पलालमा पनि च्याम्पियन बनेँ । तर यहीँ भएको प्रधानमन्त्री कपमा हारेँ । खैर केही छैन, अर्कोपाली राम्रो गर्ने हो ।
१७ वर्षको भएँ । वल्र्ड जुनियर वरीयताकाे तेस्रो स्थानमा परेको छु । एक नम्बरसम्म पुग्ने लक्ष्य छ । योजना छ । र अठोट पनि छ ।
०००
दार्चुलाको एउटा गाउँबाट काठमाडौं–थाइल्यान्ड हुँदै विश्व वरियताको तेस्रो स्थानसम्म पुग्ने यात्राको सुरुआत एउटा हातले बुबाको हात र अर्को हातले र्याकेट समातेर सुरु भएको हो ।
बुबा ब्याडमिन्ट खेल्नुहुन्थ्यो । हुनत, ब्याडमिन्टन, एथ्लेटिक्स र भलिबल पनि खेल्नुहुन्थो तर अलि बढि ब्याडमिन्टन । म पनि ब्वासँगै जान्थेँ । हेरेर बस्थेँ । अनि बुबाको खेल सकिएपछि म बुबासँग खेल्थेँ । त्यहिँ सुरु भयो, ब्याडमिन्टन यात्रा ।
एकदिन, दुईदिन गर्दै बुबासँगै जाने र खेल्ने बानी भयो । बिस्तारै ब्याडमिन्टतिरै झुकाव बढ्दै गयो । त्यसपछि त म आफैंले बुबालाई उठाएर ब्याडमिन्टन खेल्न जाने भन्न थालेँ । बिस्तारै ब्याडमिन्टनलाई नै निरन्तरता दिन र यसैमा करियर बनाउने सोच आयो । बुबाले पनि यसमा प्रेरित गर्नु भयो । खेल्नुपर्छ, खेलेर केही गर्नुपर्छ भन्ने प्रेरणा बुबाले दिनुभयो । त्यसैका लागि म काठमाडौं आएँ ।
प्रशिक्षण लिन्छु, ब्याडमिन्टनमा अझै राम्रो खेलाडी बन्छु भनेर राजधानी छिरेको थिएँ । काठमाडौं त जाने तर कहाँ जाने, र कहाँ सिक्ने भन्ने द्विविधा थियो । त्यो द्विविधा नेपाल पुलिस स्कूल–साँगामा पुगेर टुङ्गियो । त्यहाँ एकजना दाई पनि हुनुहुन्थ्यो, ब्याडमिन्टन सिकाउने । ब्याडमिन्टन हल पनि रहेछ ।
पुलिस स्कुलमा पढाईलाई धेरै ध्यान दिनुपर्ने थियो । तर, मेरो प्राथमिकता फरक थियो । मलाई पढाईभन्दा ब्याडमिन्टन सिक्नु महत्त्वपूर्ण लाग्थ्यो र लक्ष्य पनि अब ब्याडमिन्टन नै बनिसकेको थियो ।
त्यहीँ बसेर पनि ब्याडमिन्टन सिकेँ । पुलिस स्कूलमा हुँदै मैले जिल्लास्तरीय प्रतियोगिताहरूमा सहभागिता जनाउन थालेँ र केही प्रतियोगिताहरू जितेँ पनि । जिल्लास्तरीय प्रतियोगिताहरू जित्न थालेपछि मेरो गेमको स्तर पनि बढेको थियो ।
जिल्ला स्तरीय प्रतियोगितासँगै जुनियर लेभलका प्रतियोगितामा पनि सहभागिता जनाउन थालेको थिएँ । जुनियरमा पनि केही प्रतियोगिता जितेँ । राष्ट्रियस्तरका जुनियर प्रतियोगिता खेल्नु र जित्नु जस्तो सहज थिएन अन्तर्राष्ट्रिय स्तरमा पुग्न । त्यसका लागि अझै धेरै ट्रेनिङ, अभ्यास र मेहनत पनि आवश्यक थियो । र, आफूलाई ब्याडमिन्टनमा पोख्त बनाउन प्रशिक्षणका लागि भारत गएँ ।
भारतमा ६ महिना बसेर ट्रेनिङ लिएँ । तर, अपेक्षित ट्रेनिङ भएन । र सोचे जस्तो स्तरवृद्धि पनि भएन । त्यसपछि फेरि अर्को तालिमका लागि थाइल्यान्ड गएँ । र, त्यहीँ बसेर एक वर्ष ट्रेनिङ गरेँ । सिल्क ग्रुपले स्पोन्सर गरेको थियो । त्यो मेरालागि एकदमै महत्त्वपूर्ण थियो । थाइल्यान्डमा ट्रेनिङ सकेर नेपाल फर्र्किएपछि मैले प्रतियोगितामा सहभागिता जनाउन थालेँ । प्रिन्स दाहाललाई एक ब्याडमिन्टन खेलाडीको रूपमा स्थापित गर्ने यात्रामा त्यो एक नयाँ अध्यायको सुरुआत भएको थियो ।
राष्ट्रियसँगै अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाउन थालेको थिएँ । त्यसै क्रममा दुबई गएँ । र, ‘दुबई जुनियर ब्याडमिन्टन सिरिज–२०१८’ मा यु–१५ मा स्वर्ण जितेपछि नै मेरो चर्चा हुन थालेको हो । हुन त सन् २०१७ देखि नै मलाई धेरैले चिन्न थालेका थिए । तर, यु–१५ मा स्वर्ण जित्नुले मेरो प्रोर्टफोलियो र चर्चाको ‘बुस्ट–अप’ भयो ।
प्रतियोगितामा जाँदै गर्दा मैले सोचेको थिएँ, यो उपाधि त जितेरै छोड्छु । र, जितेँ पनि । जित्दै गर्दा मलाई थाहा थिएन, त्यो नेपालले कुनै पनि उमेर समूहको विश्व च्याम्पियनसिपमा जितेको पहिलो स्वर्ण हो ।
मैले यु–१५ मा स्वर्ण जित्दा सोही वर्ष यु-१९ मा स्वर्ण भारतीय खेलाडी वरुण कपुरले स्वर्ण जितेँ । एउटै प्रतियोगितामा भएर मलाई उनको नाम याद थियो । र, म अर्को वर्ष अर्को वर्ष म यु-१९ मा खेल्ने तयारीमा थिएँ ।
०००
अर्को वर्ष म सोही प्रतियोगिताको यु-१९ मा स्वर्ण जित्ने लक्ष्यसहित दुबई पुगेँ । त्यहाँ गत वर्षका स्वर्ण विजेता वरुण पनि प्रतिस्पर्धा गरिरहेका थिए । र, फाइनलमा मेरो भेट तीनै वरुणसँग तय भयो । मैले खेल जितेँ ।
म त्यतिखेर विश्व बरियताको जुनियरतर्फ १ सय ३ औं स्थानमा थिएँ भने वरुण नवौं स्थानमा । तर, मेरो सामु कुन स्तरका खेलाडी छन्, मैले सोचिँन । मलाई जित्नु थियो । मैले जितका लागि खेलेँ । आफूभन्दा ९४ स्थानमाथि भएका वरुणलाई २१-१९, २१-१९ को सोझो सेटमा पराजित गरेर स्वर्ण जित्दाको खुशी विछट्टै थियो । र कोर्टमै खुशीले ढलेको थिएँ ।
अहिले पनि वरुणसँग ठोकिरहन्छु । कोरोना भाइरसको महामारीले धेरै प्रतियोगिताहरू भइरहेका छैनन् । त्यही भएर भेट भएको छैन । अहिले पनि बरियतामा उनी मभन्दा एक स्थान माथि दोस्रो स्थानमा छन् । उनीभन्दा माथि पहिलो स्थानमा डेनमार्कका म्याड्स जुएल मोलेर छन् । मलाई त्यहाँ पुग्नु छ । बरियताको शीर्ष स्थानमा पुग्नु मेरो लक्ष्य हो । ब्याडमिन्टनमार्फत नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने धोको लिएको छु ।
०००
आज जहाँ छु, त्यहाँबाट फर्किएर हेर्दा कसरी आएँ जस्तै लाग्छ । रमाइलो लागेर खेल्न थालेको थिएँ । तर, पछि दिमागमा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पनि खेल्छु भन्ने लागेर प्रतियोगितामा सहभागी हुन थालेको थिएँ ।
जुनियर प्रतियोगिताका खेलहरू जित्दै गएपछि आफ्नो स्तर पनि बढ्दै गयो । र, अझै राम्रो पनि हुन थाल्यो । त्यसपछि अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गरेर खेल्छु भन्ने सोचर ब्याडमिन्टनलाई नै आफ्नो प्रोफेसन बनाउने निधो गरेँ ।
पुलिस स्कुलमा पढ्नै पर्ने रैछ । त्यसो हुँदा ब्याडमिन्टनलाई धेरै समय दिन सकिँन । त्यसैले गर्दा पुलिस स्कुल छाडेँ । विभागलाई खेलाडीको कम्फर्ट जोन भनिन्छ, तर स्कुलमा त्यस्तो नहुने रहेछ । त्यसैले पुलिस स्कुल छाडेर पढाइ पनि होल्ड गरेर लगातार दुई वर्ष ट्रेनिङ गरेँ ।
परिवारको सल्लाहले नै मैले पढाइ छाडेर ट्रेनिङ सुरु गरेँ । किनभने, मेरा बुबा पनि खेलाडी हुनुहुन्थ्यो र उहाँलाई म खेलाडी नै बनुँ भन्ने लागेको थियो । ममीले पढ भन्नु हुन्थ्यो तर बुबाले खेल नै भन्नुहुन्थ्यो ।
बुबाले अन्य खेल खेल्न छोडिसक्नु भएको थियो । तर, बिहान–बिहान ब्याडमिन्टन सधैँ खेल्नु हुन्थ्यो । अरु खेल पनि खेलिरहनु भएको हुनुन्थ्यो भने सायद म अन्य खेलतिर जान्थेँ होला । तर, ब्याडमिन्टन नै फेमिलियर खेल भएकाले यसैमा मन भुलियो ।
०००
नेपालको राष्ट्रिय बरियतामा शीर्षासिन खेलाडीहरूलाई पटक–पटक हराएको छु । आफूभन्दा धेरै सिनियर दाईहरू हुनुन्छ, उहाँहरूलाई पराजित गर्दा आफैँलाई मोटिभेटेड पाउँछु । त्यसले गर्दा पनि मेरो हौसला बढेको छ ।
महेन्द्रनगरमा भएको राष्ट्रिय खेलकुदमा खेलकै दौरान घाइते भएर पदक गुमाउनु परेको थियो । नेपालको शीर्ष बरियताका रत्नजित(तामाङ) दाईसँग परेको थियो ।
पहिलो सेट जितेको थिएँ । दोस्रो सेट पनि लिड गरिरहेकै थिएँ । काठको कोर्टमा गेम भइरहेको थियो । मैले डाइभ हानेको ठोक्किएर इन्जुरी भयो । खेल्नै सकिँन । सोझै अस्पताल लगियो र त्यसपछि पूर्णरूपमा निको हुन दुई-तीन महिना लाग्यो ।
एउटै खेलाडीसँग विभिन्न प्रतियोगितामा भेट भइरहेको हुन्छ । कहिले एउटा जित्ने कहिले अर्को जित्ने हुँदा खेलाडीहरूबीच राइभलरी पनि हुन्छ । सबै खेलाडीहरू विपक्षीलाई हराएर प्रतियोगिता जित्छु नै भन्ने सोचेर आएको हुन्छ । बाहिर दाजु–भाई र साथीको सम्बन्ध भए पनि कोर्टमा राइभलरी हुन्छ ।
०००
खेलाडीले आफ्नो जिवनमा हासिल गरेका सबै नतिजा महत्त्वपूर्ण हुन्छन् । तर, मैले मेरो खेल जिवनको विषेश जित छान्नुपर्दा यु-१९ मा स्वर्ण दिलाएको जित छान्छु । त्यो प्रतियोगिता मेरा लागि एकदमै सुखद् रहेको थियो । नेपालकै लागि ऐतिहासिक स्वर्ण जित्दाको खुशीसँगै व्यक्तिगत हिसाबमा पनि ठूलो सफलता थियो ।
त्योसँगै यसै वर्ष जितेको पुष्पलाल मेमोरियल ब्याडमिन्टन प्रतियोगिताको फाइनल पनि मेरालागि एकदमै महत्त्वपूर्ण जित हो । म पहिलो पटक नेसनल च्याम्पियन बनेको थिएँ ।
आजसम्म ब्याडमिन्टनलाई रोजेर पश्चाताप भएको छैन । नेपालमा धेरै खेलहरू छन् । तर, सबै चर्चित छैनन् । ब्याडमिन्टनको लोकप्रियता मध्यम देखिन्छ । तर, अन्य देशहरूमा ब्याडमिन्टनको अवस्था एकदमै राम्रो छ । अन्तर्राष्ट्रिय प्रतियोगिताहरू पनि धेरै राम्रा–राम्रा छन् । त्यसैले पनि मलाई खेलहरू मध्ये ब्याडमिन्टन नै मनपर्छ । नेपालीहरू ट्रेनिङ गर्ने बित्तिकै नतिजा खोज्छन् । तर, सुखद् नतिजा त्यति सजिलै आउँदैन । त्यसका लागि एकदमै धेरै मिहिनेत, प्यासन र लगाव चाहिन्छ ।
०००
विदेशमा जस्तो धेरै प्रतियोगिता हुँदैनन् । त्यो स्तरको खेलाडीलाई सुविधा पनि नेपालमा छैन । तर, ओलम्पिक जस्ता मेघा इभेन्टमा वाइल्डकार्डको रूपमा सहभागी बन्न पाइन्छ । सोझै ओलम्पिक खेल्न पाइन्छ, त्यो फाइदा नेपालीलाई छ ।
मेरो अबको लक्ष्य युथ ओलम्पिक हो । र, त्यसपछि ओलम्पिक जितेर नेपालका लागि मेडल ल्याउने मेरो सोचाइ छ । नेपाललाई ऐतिहासिक स्वर्ण दिलाएको खेलाडी भनेर मलाई चिनिँदा एकदमै गौरवान्वित महसुस गर्छु । किनभने, मैले नेपालको नाम राखेको छु ।
नेपालमा पढाइ भएन भने केही हुँदैन भन्ने मान्यता छ । आफूले राम्रो खेल्न सक्यो भने खेलेर पनि राम्रै छ । तर, पछि केही भएन भने पनि पढाई त हुन्छ नै । त्यसैले पढाइलाई पनि सँगसँगै लानुपर्ने चुनौती छ । र अर्को हिसाबले भन्ने हो भने पढाइ ब्याकअप पनि हो ।
ब्याडमिन्टसँगै मलाई बिजनेसमा पनि रुचि छ । र, कुनै समयमा गएर मलाई बिजनेस म्यानको रूपमा पनि चिन्न सकिने सम्भावना छ ।
प्रस्तुति : उमेश दाहाल
Rashtra lai bishwa maa chinauna safal junior badminton player Prince Dahal lai sammanjanak sthan diyera lekh chhapidinu bhayeko maa Umesh Dahal bhai ra Nepal Press lai hardik dhanyawad.