मछिन्द्रको हारले उपाधि नजिक चर्च ब्वाइज, खुमलटारलाई रेलिगेशन टार्न कठिन
काठमाडौं । साविक विजेता मछिन्द्र फुटबल क्लब जारी सहिद स्मारक ए डिभिजन लिगअन्तर्गतको खेलमा नेपाल पुलिस क्लबसँग २-१ गोलले पराजित भएको छ ।
उपाधि होड बलियो बनाउन जित्नैपर्ने खेलमा मछिन्द्र पराजित भएसँगै नवप्रवेशी चर्च ब्वाइज क्लबलाई उपाधि यात्रा सहज भएको छ । लिग सकिन अब दुई चरणका खेल बाँकी छन् । २५औं चरणको खेलमा चर्च ब्वाइजले थ्रीस्टार क्लबको सामना गर्दैछ । उक्त खेलमा बराबरीको नतिजा ल्याए पनि चर्च ब्वाइजलाई उपाधि जित्न पर्याप्त हुनेछ ।
यदि मछिन्द्रले बाँकी दुई खेल जित्यो र चर्च ब्वाइज कुनै एक खेलमा पराजित भयो भने मछिन्द्र लगातार तेस्रो पटक च्याम्पियन हुनेछ ।
च्यासल रंगशालामा आइतबार सम्पन्न खेलमा मछिन्द्रलाई हराउन मोसेस टुमले दुई गोल गरे । खेलको २५औं मिनेटमा ओलावाले अफिजको गोलमा लिएको अग्रता मछिन्द्रले जोगाउन नसक्दा १५ मिनेटभित्र मोसेसले दुई गोल गर्दै पुलिसलाई जीत दिलाए ।
मछिन्द्रले पहिलो हाफमा १-० गोलको अग्रता बनाएको थियो । मोसेसले ७५औं मिनेटमा गोल गर्दै पुलिसलाई बराबरीमा ल्याएका थिए । खेलको ८३औं मिनेटमा मोसेसले पुलिसका लागि दोस्रो गोल गरे । जुन मछिन्द्रलाई हराउन पर्याप्त बन्यो ।
जीतसँगै पुलिस २४ खेलबाट ३७ अंकसहित तालिकाको चौथो स्थानमा छ । मछिन्द्र समान खेलमा ३९ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ ।
यस्तै एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा संकटा क्लबले एफसी खुमलटारलाई ३-० गोलले पराजित गरेको छ । संकटासँग पराजित खुमलटारलाई अब रेलिगेशन टार्न कठिन भएको छ ।
संकटाको जीतमा आयुष घलान, निशान खड्का र चन्दनकुमार दासले गोल गरे । जीतसँगै २४ खेलबाट ३० अंक जोडेको संकटा तालिकाको ११औं स्थानमा छ । पराजित खुमलटनर २४ खेलबाट २४ अंकसहित तालिकाको पुछारमा छ ।
दशरथ रंगशालामा भएको खेलमा हिमालयन शेर्पा क्लब र न्यूरोड टीम (एनआरटी) ले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीसँगै एनआरटी ३० अंक जोडेर १०औं स्थान र शेर्पा ३१ अंकसहित सातौं स्थानमा छ ।