खिजिदेम्बाका अध्यक्षविरुद्ध रवि लामिछानेकै जस्तो मुद्दा, कांग्रेसका प्रत्याशीको रिटमा यस्तो आदेश
गम्बुको पद खारेज गरी गाउँपालिका अध्यक्षमा आफूलाई बिजयी घोषित गर्न कांग्रेसका प्रत्याशी भूपेन्द्र बस्नेतको माग
काठमाडौं । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पालाई रास्वपाका सभापति रवि लामिछानेको जस्तै अमेरिकी पासपोर्ट र नागरिकताको मुद्दामा अदालतले १५ दिनको आदेश जारी गरेको छ ।
उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगाले कांग्रेसबाट गम्बुसँगै प्रतिस्पर्धा गरी पराजित भएका भूपेन्द्र बस्नेतको रिटमाथि सुनुवाई गर्दै गाउँपालिका अध्यक्ष शेर्पाविरुद्धका राहदानीसम्बन्धी सबै कागजात १५ दिनभित्र पेस आदेश दिएको हो ।
अमेरिकी नागरिकता परित्यागविनै गाउँपालिका अध्यक्ष बनेको भन्दै उनीविरुद्ध अदालतमा रिट निवेदन परेको थियो । अदालतले अमेरिकी नागरिकता परित्याग गरेको निस्सा पनि १५ दिनभित्र पेस गर्न भनेको छ ।
अदालतको आदेशमा भनिएको छ, ‘विपक्षी गम्बु शेर्पाले अमेरिकी पासपोर्ट प्रयोग गरी नेपाल आउने-जाने गरेको र हाल पनि अमेरिकी नागरिकका रूपमा नेपालमा बसोवास गरेकोसम्बन्धी सम्पूर्ण दस्तावेज अध्यागमन विभागमा रहेको भन्ने उल्लेख भएको हुँदा सो कागजातहरू अध्यागमन विभागबाट १५ दिनभित्र झिकाउनू । विपक्षीको नागरिकताको प्रमाणपत्र र सोको प्रतिलिपि र सोसँग सम्बन्धित दस्तावेज एवं अमेरिकी नागरिकता त्याग गरेको भए सोको निस्सा पेस गरेको दस्तावेज १५ दिनभित्र झिकाउनू ।’
बस्नेतको रिट निवेदनमा शेर्पा नेपाली नागरिक नभई अमेरिकी नागरिक रहेको र झुटा विवरण पेश गरेकोले निजको निर्वाचित पद बदर गरी आफूले दोस्रो मत प्राप्त गरेकाले निर्वाचित घोषणा गरी पदस्थापना गरिपाऊँ भनिएको छ । उनले निर्वाचन आयोगलाई समेत विपक्षी बनाएका छन् ।
शेर्पाले (सन् २०१४ जुन १६) अर्थात २०७२ साल असार २ गते ५१८१४४६६० नम्बरको अमेरिकी पासपोर्ट लिएको र अमेरिकी नागरिक भएर बसोबास गरेको दाबी रिट निवेदनमा गरिएको छ । सोही पासपोर्टमा नेपाल आएर २०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ओखलढुंगाको खिजीदेम्बा गाँउपालिकाको अध्यक्षमा निर्वाचित भएको बस्नेतले रिटमा उल्लेख गरेका छन् ।
शेर्पाले नयाँ नागरिकताको प्रतिलिपी २०७९ साल वैशाख ५ गते निकाली निर्वाचनमा भाग लिएको उल्लेख छ । अमेरिकाको नागरिकता त्याग निस्सा जिल्ला प्रशासन कार्यालयमा पेश नगरी नेपाली नागरिकता प्राप्त गर्न नसकिने व्यहोरा समेत रिटमा उल्लेख छ ।
शेर्पा ३० वैशाख ०७९ को स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टीबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
यसैबीच गाउँपालिका अध्यक्ष शेर्पाले आफूमाथि लगाइएका आरोप झूटो र पराजित मानसिकताको उपज रहेको भन्दै सबै प्रक्रियाहरू पूरा गरेको बताएका छन् । नेपाल प्रेससँग कुरा गर्दै शेर्पाले नेपालमा राम्रो मान्छेलाई काम गर्न नदिने गिरोह रहेको भन्दै यस्तै गिरोह आफ्नोविरुद्ध लागेको बताए ।
अमेरिकामा लामो समय बसेर फर्किएका शेर्पा गाउँमा सामाजिक काममा संलग्न रहेका थिए । उनी जसपाको संगठनसमेत नभएको कांग्रेसको गढ मानिने खिजिदेम्बा गाउँपालिकामा व्यक्तिगत लोकप्रियताको बलमा चुनाव जित्न सफल भएका थिए । उनी गाउँको विकासमा राम्रो काम गर्ने अध्यक्षका रूपमा चिनिन्छन् ।