माधवको सपनामा धुन्धुकारीको मोक्ष र पुष्पकमलको यज्ञ
तुङ्गभद्र नदीको तटमा एउटा अनुपम नगर रहेछ । त्यस नगरमा वेद विशेषज्ञ एक आत्मदेव नामका ब्राह्मण रहेछन् । उनी सूर्य समान तेजस्वी रहेछन् । धनी भएर पनि भिक्षाजीवी रहेछन् । उनकी श्रीमती धुन्धुली कुलीन एवम् सुन्दरी रहिछन् । तर पनि केही न केही बकबक गरिरहने, क्रूर प्रवृत्तिकी रहिछन् । घरायसी काममा निपुण तर झगडालु रहिछन् ।
युवावस्थामा उनीहरूको सन्तान भएनछ । दम्पतीले सन्तान प्राप्तिका निम्ति अनेक पुण्यकर्म सुरु गरेछन् । दीन-दुःखीहरुलाई गौदान, सुन र कपडालगायत दान गरेछन् । दान, धर्मलगायतबाट उनीहरुको आधा सम्पत्ति सकिएछ । तैपनि उनीहरूलाई सन्तान प्राप्त भएनछ ।
एकदिन अत्यन्तै दुःखी भएर आत्मदेव जङ्गलतिर लागेछन् । घाम चर्को थियो । दिउँसो असाध्यै तीर्खा लाग्यो । उनी तलाउमा पानी पिउन पुगेछन् । सन्तान सुख प्राप्तिका लागि थकित उनी त्यही तलाउ छेउमा बसे । केहीबेरमा त्यहाँ एक सन्न्यासी महात्मा आइपुगे । ती सन्न्यासीको छेउमा पुगेर ‘नमस्कार’ गर्दै आत्मदेव रोए । सन्तान नभएको पीडा पोखे । उनले पालेको गाई पनि निःसन्तान थिइन् । रोपेको रूखमा फल पनि लाग्दैनथ्यो । सन्न्यासीसमक्ष सो कुरा पनि बताए ।
सन्न्यासीले उनलाई संसारप्रतिको मोह र वासना त्याग्न आग्रह गरे । तर, आत्मदेव सन्तान प्राप्तिको उपायमात्रै खोजिरहे । आत्मदेवको अनुनयविनयपश्चात् अन्त्यमा सन्न्यासीले एक फल दिएर भने, ‘यो फल तिम्री श्रीमतीलाई खान दिनू, यसबाट तिमीलाई एउटा पुत्रलाभ हुन्छ ।’
घरमा आएर ब्राह्मणले उक्त फल श्रीमतीलाई खान दिए, अनि आफ्नो कामतिर लागे । उनकी श्रीमती कुटिल स्वभावकी थिइन् । श्रीमतीले उक्त फल आफूले नखाई गाईलाई खान दिइन् ।
त्यसताका उनकी बहिनीको पेटमा गर्भ थियो । दिदीबहिनीले एउटा सल्लाह गरी ‘दिदीले गर्भवती भएको नाटक गर्ने, बहिनीले ६ महिनामा गर्भपतन भएको नाटक गर्ने, महिना पुगेपछि सुटुक्क बच्चा जन्माएर दिदीलाई दिने, अनि बहिनीका श्रीमानलाई केही सम्पत्ति दिएर यो कुरामा समर्थन गराउने’ योजना बनाएछन् ।
अन्ततः त्यसै गरियो । ब्राह्मण पत्नी धुन्धुलीले छोराको नाम ‘धुन्धुकारी’ राखिन् । केही समयपछि घरमा पालेको गाईले पनि मान्छे जस्तै सन्तान जन्मायो । त्यो देखेर सबैजना छक्क परे । त्यसको नाम ‘गोकर्ण’ राखियो । घरमा पुत्रलाभ भएकोमा सबै प्रशन्न भए ।
पण्डितले व्यासस्थानबाट ठूलो आवाजमा कथा वाचन गरिरहेका थिए । त्यतिवेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल पनि त्यही देखें । उनी पनि कथा बडो उत्सुकताका साथ श्रवण गरिरहेका रहेछन् । कथाको भाव बुझ्नासाथ दाहाल त्यहाँबाट जुरुक्क उठेर पण्डितहरूसामु राय सुझाव लिन हिँडेको भन्ने बुझियो ।
समय बित्दै गयो । दुबै सन्तान जवान भए । गोकर्ण ठूलो पण्डित एवम् ज्ञानी भएर निस्किए । धुन्धुकारी भने फटाहा भएर निस्कियो । उसमा हिंस्रक प्रवृत्ति र व्यहोरा देखिन्थ्यो । उसको खराब आचरणले स्थानीयवासी आजित भएका थिए । अन्ततः ‘वेश्या’को जालमा परेर उसले आफ्नो पिताको सबै सम्पत्ति नष्ट गरिदियो । बाबुआमालाई कुटेर घरबाट नै निकालिदियो । वेश्याकै सङ्गतमा लाग्यो । वेश्यावृत्तिमा संलग्न हुँदाहुँदै उसको मृत्यु भयो । बँचुञ्जेल दुनियाँलाई दुःख दिएको धुन्धुकारी मरेपछि पनि पिशाच बनेर दुनियाँलाई दुःख दिन थाल्यो । उसको मुक्तिका लागि गोकर्णले श्रीमद्भागवत् महापुराण लगाए । सात दिनसम्म सातवटा आँख्ला भएको बाँसमा बसेर श्रीमद्भागवत् कथा श्रवण गरेर धुन्धुकारीले मुक्ति पायो ।
पण्डितले व्यासस्थानबाट ठूलो आवाजमा कथा वाचन गरिरहेका थिए । त्यतिवेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल पनि त्यही देखें । उनी पनि कथा बडो उत्सुकताका साथ श्रवण गरिरहेका रहेछन् । कथाको भाव बुझ्नासाथ दाहाल त्यहाँबाट जुरुक्क उठेर पण्डितहरूसामु राय सुझाव लिन हिँडेको भन्ने बुझियो । केही समयपछि दाहाल पुनः हस्याङफस्याङ गर्दै त्यही आइपुगेछन् । त्यतिबेला त्यस दिनको कथा सम्पन्न भैसकेको रहेछ । कथा सुन्न उपस्थित भक्तजनहरू आआफ्नो घरतर्फ लाग्दै गरेका रहेछन् । त्यतिकैमा अध्यक्ष दाहालले भन्न थाले, ‘गोकर्णले आत्मदेवलाई बताएअनुसार अकालमा मरेका व्यक्ति पिशाच हुन्छ र त्यसले परिवारका अन्य सदस्यलाई समेत पिर्छ । अनेक दुःख दिन्छ । दुःखबाट मुक्तिका लागि श्रीमद्भागवत् कथा पारायण गर्नुपर्ने पण्डितहरूले सुझाएका छन् ।’
उनले अझ थपे, ‘श्रीमतीकै इच्छानुसार भैंसी पूजा गरें । उनी बिरामी छिन् । अहिले पनि मनमा श्रीमतीको खुशीको बुँद राखेर कालेश्वर मन्दिरको पूजा गरें । गेरुवस्त्र धारण गरें । हिन्दू धर्मशास्त्रमा मृत्यु अथवा कालबाट बँच्न र दुःख हटाउन कालेश्वरको दर्शन र पूजा अर्चना गर्ने उल्लेख छ । जसरी धुन्धुकारीको मुक्तिका लागि गोकर्णले श्रीमद्भागवत् पाठपारायण गराएका थिए ।’
बोल्दाबोल्दै भयभीत जस्तो अनुहार पारेर थरथर काँप्दै दाहालले युद्धकालमा अकालमा मारिएका सम्पूर्ण व्यक्तिहरूको मुक्तिका लागि श्रीमद्भागवत् सप्ताह पाठपारायण गराउने इच्छा व्यक्त गरे । तत्क्षणमै पण्डितहरु बोलाइयो । त्यही नजिकै अर्को बडेमानको व्यासस्थान तयार पारियो । ध्वजापताकाले मण्डप सजाइयो । एकजना वाचक र अर्को उपवाचक गरेर दुईजना पण्डित समेत तयार गरिए । नजिकै बाँसको सात आँख्ले गाडियो । जसमा मोक्ष नभएका प्रेतात्माहरूलाई मन्त्रोच्चारणसहित आमन्त्रण गरियो ।
पिशाच बनेकाहरुको मोक्षस्वरुप बाँसका सात आँख्ला दैनिक रुपमा एक एक गर्दै पड्किँदै गए । सात दिनमा सातवटा आँख्ला पड्किए । आँख्ला पड्किएको आवाजले म तर्सिएर सुतेको खाटबाट डंग्रंङ लडेछु । झल्याँस्य ब्युझिएँ । अनि पुनः खाटमा गएँ । अहो कस्तो सपना भन्दै एक गिलास पानी घुटुक्क पिएँ । फेरि निदाएँ ।