राजादेखि विप्लव माओवादी सम्म अट्ने प्रणालीबारे बहस गरौं : कमल थापा (भिडिओ)
'प्रधानमन्त्रीको भारत भ्रमणले राष्ट्रिय हित कमजोर बनायो'
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा पार्टी आबद्ध जनवर्गीय संगठनहरुको संयुक्त विरोध प्रदर्शनमा सहभागी हुँदै सम्बोधन समेत गरेका छन् ।
आक्रोश युक्त भाषण गरेका थापाले गणतन्त्रका सम्बाहक शक्तिमाथि बारम्बार प्रश्न उठाए । उनले गणतन्त्रले देशलाई स्थायी र समृद्धिको दिशामा लैजान नसकेको बताए । अब राजादेखि विप्लव माओवादीसम्म अट्ने राज्य प्रणालीबारे बहस हुनुपर्नेमा थापाको जोड थियो ।
देशमा भएका ठूला भ्रष्टाचारका काण्डहरुको फाईल खोलेर दोषीलाई तत्काल कारबाही प्रक्रिया अघि बढानुपर्नेमा थापाको भनाई थियो । आज पार्टी आबद्ध जनवर्गीय संगठनहरुको संयुक्त विरोध प्रदर्शनको क्रममा नयाँ बानेश्वरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै थापाले वाइडवडी घोटाला, एनसेल करछली, ललिता निवास काण्ड, तेत्तीस किलो सुन काण्ड, सार्वजनिक जग्गा अतिक्रमण जस्ता जघन्य भ्रष्टाचारका काण्डहरुको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने बताए ।
नागरिकता बिधेयकले देशको स्वाधीनताको रक्षा गर्न नसक्ने भन्दै थापाले नागरिकता विधेयक खारेज हुनुपर्ने, संघीयताले मुलुकलाई टाट पल्टाउने भएकोले संघीयता पनि खारेज हुनु पर्ने बताए ।
मुलुकको पहिचानको रुपमा रहेको हिन्दू राष्ट्रलाई अनावश्यक रुपमा हटाइएको भन्दै थापाले मुलुकलाई सर्वधर्म समभाब सहितको सनातन हिन्दू राष्ट्र हुनुपर्ने विचार व्यक्त गरे ।
नक्कली भुटानी शरणार्थी प्रकरणको चुरेसम्म पुग्न र दोषीलाई कारबाही गर्ने हिम्मत गर्न समेत थापाले आग्रह गरे । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले देशको हितभन्दा पनि राष्ट्रिय स्वाधीनतालाई कमजोर बनाएको भन्दै असन्तुष्टि पोखे ।
बेरोजगारी र बढ्दो धर्म परिवर्तन प्रति सरकार उदासिन भएकोमा आपत्ती प्रकट गर्दै थापाले मुलुकको डरलाग्दो वित्तीय सड्ढट समाधानको निमित्त सरकारसँग कुनै नीति ,योजना कार्यक्रम नभएको समेत जिकिर गरे । कार्यक्रममा जनवर्गीय संगठनका अध्यक्षहरुले पनि सम्बोधन गरेका थिए ।