गठबन्धन गरेर चुनाव लडेकै कारण कांग्रेस ठूलो पार्टी बन्यो, एकताबद्ध भएर अघि बढौँ : सभापति देउवा (भिडिओ)
काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता, कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न निर्देशन दिएका छन् ।
सभापति देउवाले पार्टीमा योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिबद्ध रहेको समेत बताए ।
शनिवार नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले प्रजातन्त्रलाई संकटमा आउन नदिन पनि नेपाली काँग्रेसलाई बलियो बनाउन लाग्नुपर्ने जिकिर गरे ।
सभापति देउवाले प्रजातन्त्रमाथि फेरी संकट आउन नदिने गरी काँग्रेसलाई बलियो बनाउन देशभर संगठन निर्माणको अभियान सञ्चालन गर्न पनि सिंगो पार्टी पङ्क्तिलाई आह्वान गरे ।
उनले भने, ‘हाम्रो पार्टी ऐतिहासिक पार्टी छ । २००७ सालदेखि लड्दै आएको पार्टी हो । यो पार्टी ग्रासरुट, गाउँसम्म, वडासम्म, टोलसम्म पुर्याएर यो पार्टी मात्रै प्रजातन्त्रलाई अझ बलियो बनाउने यो पार्टी जति बलियो हुन्छ, जति समक्ष हुन्छ । त्यति नै मात्रामा देशमा प्रजातन्त्र सुदृढ भएर जान्छ । त्यसपछि मात्रै नेपालमा फेरी प्रजातन्त्रमा संकट आउँदैन । प्रजातन्त्र स्थायी भएर जान्छ ।’
सभापति देउवाले गठबन्धन बनाएर चुनाव लडेका कारण नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्न पुगेको स्मरण गराए ।